ताजा अपडेट »

कृषकलाई बाँदर धपाउने आधुनिक उपकरण

शनिबार, १३ असार २०७७

रामपुर । पाल्पाको रामपुर नगरपालिकाले बाँदर भगाउने उपकरण कृषकलाई उपलब्ध गराएको छ । बाँदर आतङ्क बढी देखिएका १, ३, ४, ५ र ७ वडाका ५० कृषकलाई सो उपकरण प्रदान गरिएको हो ।नगरपालिकाले पहिलो चरणमा ५० वटा उपकरण वितरण गरिसकेको र पुनः ५० वटा खरिद गरेर आवश्यक ठाउँमा वितरण गरिने नगरप्रमुख रमणबहादुर थापाले बताउनुभयो ।

सो उपकरण रामपुरका स्थानीय युवा जायश्वर पाण्डेय र तीर्थराज पाण्डेयले तयार पार्नुभएको हो । पिभिसी पाइप जोडेर तयार गरिएको उपकरण परीक्षण गर्दा सफल भएपछि कृषकलाई उपलब्ध गराइएको हो । सो उपकरणमा केरा तथा विभिन्न फलफुल पकाउन प्रयोग गरिने ‘क्याल्सियम कार्बाेहाईड’ र पानीको मिश्रण राखेर पछाडिबाट ग्यास लाइटरको सहायताले आगो लगाएपछि ठूलो आवाजमा पड्किदा बाँदर भाग्ने निर्माणकर्ता जायश्वर पाण्डेय बताउनुहुन्छ ।

बाँदर भगाउने उपकरणसँगै केही ‘क्याल्सियम कार्बाेहाईड’ र ग्यास लाइटर पनि प्रदान गरिएको छ । सो यन्त्रको मुल्य तीन हजार ५०० रहेको छ । जिल्लाका रम्भा, निस्दी, माथागढी, बगनासकाली, पूर्वखोला गाउँपालिका क्षेत्रमा पनि बाँदर आतङ्क बढ्दो छ ।