काठमाण्डौं । साधन र स्रोतको अभावले कोरोना परीक्षण सुस्त भइरहेको वेला सेनाले खरिद गरेका २८ हजार किट प्रयोगमा समस्या भएको छ । नेपालका प्रयोगशालामा कुन किट प्रयोग हुन्छ भन्ने अध्ययनसमेत नगरी ढुकुटीको ६ करोड अपव्यय भएको छ ।
कोरोना परीक्षणका लागि नमुना संकलन गर्दा ‘वान एमएल’ र ‘थ्री एमएल’का भिटिएम पद्धति हुन्छ । हाल नेपालमा ‘थ्री एमएल’का भिटिएममार्फत स्वाब संकलन हुँदै आएको छ । थ्री एमएलभन्दा वान एमएल आफैँमा कम गुणस्तरको हो । सेनाले ल्याएको किट ‘वान एमएल’ भिटिएममा मात्र प्रयोग हुन्छ । ‘गुणस्तर मात्र होइन, सेनाले ल्याएको यो किट प्रयोग गर्ने पद्धति हामीसँग मिल्दैन,’ जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झा भन्छिन् ।
दुई महिनाअघि चीनको तिब्बत सरकारले ३० हजार किट अनुदानमा दिएको थियो । तर, ती किट ‘वान एमएल’ पद्धतिको भएकाले प्रयोग नगरी गोदाममा राखिएको छ । ‘चीन सरकारले सहयोग गरेको ३० हजार किट पनि यही कम्पनीको हो । त्यसवेला हामीले पिसिआर किट प्रयोग गर्यौ, तर एक्स्ट्र्याक्सन किट प्रयोग गरेनौँ । किनकि त्यो एक्स्ट्र्याक्सन किट हामीले प्रयोग गरिरहेको भिटिएमका लागि उपयुक्त भएन,’ डा. झा भन्छिन्, ‘ एक्स्ट्र्याक्सन किट र भिटिएम फरकफरक कम्पनीको हुँदा परीक्षणको नतिजा गलत आउने समस्या भयो । त्यसैले चीन सरकारले दिएको किटबाट पनि हामीले परीक्षण रोकेका हौँ । तर, सेनाले फेरि त्यही किट ल्यायो, त्यसैले समस्या भयो ।’
स्वास्थ्य मन्त्रालयका अनुसार सेनाले ल्याएको किट सानस्योर बायोटेक कम्पनीको हो । उक्त किटका लागि सोही कम्पनीको मात्र भाइरल ट्रान्सपोर्ट मिडिया (भिटिएम) प्रयोग हुन्छ । ‘सेनाले ल्याएको किटले सोही कम्पनीको भिटिएममा मात्र सपोर्ट गर्छ, अरू भिटिएममा प्रयोग गर्दा गलत रिपोर्ट दिन्छ,’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अधिकारी भन्छन्, ‘देशमा हाल थरिथरिका भिटिएम प्रयोग भएका छन् । तर, सेनाले ल्याएको किट अरू कुनै पनि भिटिएममा प्रयोग गर्न मिल्दैन ।’
नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले भने सेनाले खरिद गरेको किट प्रयोगमा आएन भन्ने सुन्दा दुःख लागेको प्रतिक्रिया दिएका छन् । ‘हामीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको अनुरोधमा किट खरिद गरेका हौँ । तर, अहिले प्रयोगमा आएन भन्ने जवाफले सबैलाई दुःखी बनाएको छ,’ उनले भने, ‘स्पेसिफिकेसनमा मागेको भन्दा फरक किट आएको भए सुरुमा स्वास्थ्यले हामीलाई भन्नुपथ्र्यो । त्यस्तो अवस्थामा हामीले त्यसलाई तत्काल फिर्ता गरेर सबैमा मिल्ने मगाउने थियौँ ।’ -नयाँ पत्रिका
प्रतिक्रिया