ताजा अपडेट »

पिसिआर रिपोर्ट नभएको भन्दै डायलाइसिस रोकियो, मिर्गौला बिरामीको मृत्यु

शुक्रबार, १२ असार २०७७

काठमाण्डौं । कोरोनाले भन्दा पनि सरकारको उपेक्षाले धेरैको ज्यान जान थालेको छ । झाडापखाला लागेका धनुषाका राजु सदाको मृत्यु भएको अर्को दिन बैतडीका मिर्गौला बिरामीको मृत्यु भएको छ । उनलाई कोरोना थिएन, तर कोरोनाको रिपोर्ट नभएकोले तीन दिनसम्म डायलाइसिस नभएकोले मृत्यु भएको हो ।

हातखुट्टा सुन्निने, खान मन नलाग्ने र बान्ता आउने समस्या भएपछि बैतडीको मेलौलीका ४७ वर्षीय रामी धानुकलाई ७ असारमा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियोे । रगत परीक्षणपछि चिकित्सकले मिर्गौलामा जटिल समस्या देखिएकाले तत्काल डायलाइसिस गर्न सल्लाह दिए । तर, अस्पतालमै रहेको बिरङ हेल्थ केयरले सञ्चालन गरिरहेको डायलाइसिस सेन्टरले कोरोना परीक्षणको पिसिआर रिपोर्ट नल्याएसम्म डायलाइसिस गर्न मानेन । धानुकका कुरुवा रहेका भतिजा धनवीरले नमुना संकलन गरिदिन पटकपटक आग्रह गरे । तर, उनको सुनुवाइ भएन । 

डायलाइसिस गर्नुपर्ने गम्भीर बिरामी बेडमा छटपटाइरहे । भर्ना भएको तेस्रो दिन मात्रै अर्थात् ९ असारमा अस्पतालले धानुकको स्वाब संकलन गर्‍यो । कोरोना परीक्षणको रिपोर्ट नभएका कारण उनले त्यतिन्जेल डाइलाइसिस सेवा पाएनन्, अन्ततः स्वाब संकलन गरिएकै राति रिपोर्ट कुर्दाकुर्दै धानुकको मृत्यु भयो । जब कि १० असारमा पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आयो । यसरी कोरोना संक्रमित नभएका बिरामीलाई कोरोनाको बहानामा मृत्युवरण गर्न बाध्य बनाइयो । 

विपन्नको पीडामाथि भएको सरकारी झमेलाले अनाहकमा ज्यान गएको पीडित परिवारको गुनासो छ । ‘समयमै डायलाइसिस गराउन पाएको भए ज्यान बच्थ्यो,’ मृतकका भतिजा धनवीर धानुकले भने, ‘पिसिआर रिपोर्ट नभएसम्म डायलाइसिस नगर्ने भनियो, पिसिआर रिपोर्ट कुर्दा ज्यान गयो ।’

डायलाइसिस सेन्टरका व्यवस्थापक दीपक भट्टले अन्य बिरामी जोखिममा नपरुन् भनेर कोरोना परीक्षण गर्न भनिएको बताए । ‘बिरामीका आफन्त डायलाइसिसका लागि आउनुभएको थियो, तर बिरामी भारतबाट फर्केकाहरूसँगको सम्पर्कमा रहेको बुझिएकाले कोरोना परीक्षणको रिपोर्ट ल्याउन भनेका हौँ, जाँच गर्न भनेका हौँ,’ उनले भने । तर, सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले भने डायलाइसिस सेन्टरले आरडिटी जाँच गरेर उपचार गर्न नमानेको बताए । -नयाँ पत्रिका