ताजा अपडेट »

कोरोना विरुद्ध स्थानीय तह : सकस ,साहस र सम्झौता

विहीबार, ११ असार २०७७

‘कोरोनाको विरामी टेकु अस्पतालमा भर्ना भयो’भन्ने थाहा पाउदाँ आफूसँग भएका एन ९५ ओरिजिनल मास्क सवै सक्काइयो । आज कहिल्यै नदेखेको केएन ९५ को भरमा पिसिआर र आरडिटि गरिँदैछ र अब समुदायमा कोरोना फैलिनुसँगसँगै मरणोपरान्त कारण खोज्न बाहेक अन्यथा परीक्षण नहुने दिन नजिकिँदैछ जस्तो आभास भइरहेको छ । यस्तो अवस्थामा स्थानीय तहहरुले समुदायमा संक्रमण हुनबाट जोगाउन केहि उपायहरु अपनाउनु जरुरी छ । प्रदेश वा संघीय सरकारको सहयोग, उचित सहकार्य र लागू गर्न सकिने खालको योजना तयार भएमा हामी कोभिड १९ लाइ स्थानीय सरकारको संघारबाटै फर्काउन सक्षम हुनेछौं ।

स्थानीय सरकारहरु उपयुक्त स्थानमा जनस्वास्थ्यको दरवन्दी खाली हुँदा सवैभन्दा ठूलो सकसमा परेका छन् । स्थानीय तहको स्वास्थ्य शाखा सम्हाल्ने प्रायः जनशक्ति अहेव र हेअ मात्र छन् । यो माहामारी निर्देशन बमोजिमका गतिविधि सञ्चालन गर्न अव्यस्त कर्मचारीले फरक सोँच र योजना बनाउन पाइदैनकि भन्ने डर नै स्थानीय तहका स्वास्थ्य शाखाको कमजोरी हो । माहामारी व्यवस्थापनमा मध्यम स्तरको जनशक्तिले तयारी गरिएका योजना अन्र्तगतका कार्यक्रम गर्नसक्ने क्षमता राख्दछ । तर, व्यवस्थापकीय योजना बनाउन र समुदाय परिचालन गर्न अलिक अप्ठ्यारो पर्दछ । फलस्वरुप जनस्वास्थ्यले गर्नुपर्ने विशेष निर्णयहरु स्थानिय तहका प्रशासन तथा जनप्रतिनिधि मण्डलले गर्नुपर्ने वाध्यता हुन्छ । एक त माहामारी त्यसमाथि हचुवाका भरमा गरिने निर्णय अर्को माहामारी । फरक क्षेत्रबाट गरिने अपरिपक्क निर्णयले माहामारी व्यवस्थापनमा चुक्नुपर्ने र ठूलो धनजनको क्षतिहुने प्रायः निश्चित छ । सिंगो समुदायलाइ संक्रमणबाट जोगाउन व्यावस्थित क्वारेन्टाइन बनाउनेदेखि पोजेटिभ र संकास्पद केसहरुको गतिलो व्यवस्थापनमा स्थानीय तहहरुको एकरुपता नहुँदा कुनै स्थानीय तह कठोर भइरहेका छन् भने कुनै स्थानीय तहहरु क्वारेन्टाइन भित्रकै अन्र्तरसंक्रमणको शिकार भएको पाइएको छ ।

माहामारी आफैमा एक अदभूत सिकाई रहेछ, हरेक व्यक्तिले आँफैले गल्ति गरेर सिक्नुपर्ने स्थिति नभएको वर्तमान परिवेशमा हामीहरु अन्य स्थानमा भएका कमजोरीहरु आफ्नो स्थानीय तहमा दोहोरिन नदिने गरि अगाडि बढेमा कमभन्दा कम मानवीय क्षतिसहित कोरोना भाइरसको संक्रमणबाट पार पाउनेछौं अन्यथा संक्रमण फैलिएमा हुने हानी हामीले आँकलन गरेभन्दा खराव हुनेछ । सामान्य अवस्थामा सिङ्गो वडाभरीमा एक जनामात्रा मानिसको देहान्तमा हुने शोकको अवस्था र माहामारी फैलिएर टोल टोलमा एकैपटक लासहरु विशेष शतर्कताका साथ व्यवस्थापन गर्नुपर्ने चूनौतीको परिकल्पना स्थानीय सरकारका अङ्गहरु (जनप्रतिनिधिहरु), स्वास्थ्यकर्मी तथा अन्य कर्मचारी , शिक्षक तथा समाजसेवीहरुले महसुस गरेनन् भने कसैगरीपनि समुदाय संक्रमणबाट बच्न सकिने छैन ।

कहिल्यै नसुनेको नाम आइसोलेशन र क्वारेन्टाइन अहिले सामान्य मानिसले समेत सजिलै वुझ्न थालेका छन् । प्रमुख जिल्ला अधिकारी अध्यक्ष हुने र सम्पूर्ण सूरक्षा जिम्मा सेनालाइ दिने भनिएका क्वारेन्टाइनहरु आज स्थानीय वडाका वडा अध्यक्ष तथा निर्वाचित वडा सदस्यहरुले सहर्ष हाँकिरहेका छन । संकास्पद बिरामी हेर्न स्थानीय स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरु कत्तिपनि हिच–किचाएका छैनन् । एउटै बिरामी हेर्दा ठन–ठनी काँपेका कोरोना विशेष अस्पतालको तुलना दशौं कोरोना पोजेटिभ केहरु महिनौ फेस गर्ने क्वारेन्टाइन व्यावस्थापन टिम (स्वास्थ्यकर्मी, जनप्रतिनिधि , स्वयम्सेवक र सूरक्षाकर्मी) स्थानीय तहको साहास देख्दा गर्व लागेको छ । विदेशबाट कोरोना भाइरस बोकेर आएका व्याक्तिलाई क्वारेन्टाइनबाटै व्यवस्थापन गर्न सकेमा अमूल्य मानवजीवन बचाउन नगर र पालिकाहरु सफल हुनेछन्। आवश्यकता अनुसार हो या खै के को लागि हो छिन–छिनमै परिवर्तन हुने संघीय र प्रादेशिक निर्देशन भन्दापनि स्थानीय तहको बलियो निर्देशिका बनाएर एकरुपताका साथ व्यावस्थापकिय कार्यमा खटिने हो भने आफ्नो स्थानीय तहलाई कोभिड विरुद्ध सूरक्षित गर्न सकिनेछ । जसका लागि जनसहभागितामा आधारित कार्यक्रमहरु अगाडि सारिनुपर्ने छ ।

समुदायको सहभागिता बिना संक्रमणबाट जोगिन असम्भव नै छ । व्यावस्थापकीय सम्झौता अरुसँग होइन स्थानीय समुदायसँग कर्मचारीहरुसँग र विशेषत यतिबेला विदेशवाट आउनुहुने व्याक्तिहरुसँग गर्नु जरुरी छ त्यो पनि आफ्नै घर समाज स्थानीय तह हुँदै समग्र राष्ट्रलाई कोरोना भाइरसको संक्रमणबाट बचाउनका लागि । स्थानीय सरकारले आफ्ना केही रणनीतिहरु बनाओस् जस्ले कोरोना संक्रमणको कुन चरणमा कसरी अगाडि बढ्ने भन्ने विषयमा स्पष्ट मार्गनिर्देश गरोस् ।जनस्वास्थ्य समस्याका रुपमा संसार आक्रान्त पार्दै हाल नेपाललाई समेत गाँजिसकेको कोरोना भाइरसले लाग्ने कोभिड–१९ रोगको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा म एउटा स्थानीय तहको अनुभव, समीक्षा तथा योजनाहरु यहाँ प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

बडिगाडको अनुभव
जम्मा ४९३ जना भारतबाट आएका नागरिकहरुको व्यवस्थापनबाट यो स्थानीय तहले धेरै सिक्यो । ३५८ जनाको पिसिआर चेकजाँचमा २२ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ । ५८ जनाको स्याम्पल पोखरा पुगेको छ भने ३५ जनाको स्याम्पल कलेक्सन गर्ने कार्य जारी छ । निर्देशन अनुसार केहिलाइ पिसिआर पछि आरडिटि समेत गरी घर पठाइएको छ भने ९७ जनामात्र क्वारेन्टाइनहरुमा सुरक्षित रुपमा हुनुहुन्छ । आवश्यकता अनुसार ७ ओटा पुगेको क्वारेन्टाइनहरु हाल २ ओटामा खुम्चिएका छन् । ४० जना स्व्यम्सेवकहरुको संख्या घटाएर १२ जनामा पु¥याइएको छ । २२ जना पोजेटिभ मध्य १२ जना निको भइसके बाँकी ५ जना बुर्तिबाङ प्रास्वाकेको प्रि–आइसोलेशनमा छन् भने ४ जना धौलागिरी अंचल अस्पतालमा १ जना ७२ वर्षिय वृद्ध आमालाई घरैमा आइसोलेशन गरिएको छ । स्थानीय तहका १० ओटा वटा छन् । सबै जनप्रतिनिधिहरु सकरात्मकताका साथ प्रत्यक्ष फिल्डमा हुनुहुन्छ । तर, सबै वडामा क्वारेन्टाइन छैनन् । मानिसहरु घर नजिकको क्वारेन्टाइनमा भन्दा अर्को वडाको क्वारेन्टाइनमा राख्दा धेरै सुरक्षित गर्न सकिँदो रहेछ भन्ने हाम्रो सिकाइ हो ।

चैत्रको १५ गते बसेको कार्यपालिका बैठकमा सबैभन्दा विषम परिस्थिति के हो र त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा स्वास्थ्य शाखालाई आफ्नो प्रस्तुतिकरण तयार पार्न भनियो र सो प्रस्तुतिमा कार्यपालिकामा सुनुवाई भयो । विश्व स्वास्थ्य संगठनको प्रक्षेपण अनुसारको बिरामी हुने संख्या, हता–हात हुने र सम्भावित मृत्युसम्मको आँकडाको प्रस्तुतिले सबैलाई झस्कायो । धेरै मान्छे एकैपटक बिरामी हुदाँसम्म व्यवस्थापन गर्नसक्ने क्षमता विस्तार गर्नुपर्ने खराव परिस्थितिको सामना गर्न गाँउपालिका तयार हुनुपर्ने विषयमा मानसिक तयारी गनुपर्ने व्यहोरा उक्त प्रस्तुतिकरणमा समावेश गरिएको थियो ।

लकडाउनलाई प्रभावकारी बनाउन केहि भोलन्टिएर सहितको टोली परिचालन गरियो वैशाख महिनाभर खासै अन्य कदमहरु चालिएन। केहि महत्वपूर्ण मेडिकल औजारहरु जस्तै : अक्सिजन सिलिन्डरहरु, कन्सन्ट्रेटर मेसिनहरु, सरसफाई सम्बन्धि सामग्रीहरु खरिद गरीयो । त्योभन्दा पहिला चैत्रको १७ गते ५० थान रियूजेवल पिपिई १७५० का दरमा किनियो जुन आजसम्म ४० सौं पटक धुँदै हुनुहुन्छ स्वास्थ्यकर्मीहरु । कोभिड–१९ कै विषयवस्तुमा ७/८ पटक कार्यापालिकाको बैठक बस्यो, हरेक बैठकहरुमा परिस्थिति अनुसारका निर्णयहरु गरियो । जस्ले गर्दा कार्यपालिका सदस्यहरुलाई समुदाय परिचालन तथा स्वयम्सेवी भूमिकामा परिचालन हुन मानसिक तयारी भयो। स्वास्थ्यकर्मीहरुलाई उचित प्रोत्साहन भत्ता उपलव्ध गराउने समेत निर्णय भैसकेपछि कार्यालय सहयोगी सहितको ५० जनाको स्वास्थ्य क्षेत्रको टिम आफ्नो पूर्वतयारीमा लाग्यो ।

कोरोना भाइरस विरुद्धको अभियानमा बडिगाड गाँउपालिकाले सबैभन्दा महत्वपूर्ण कदम भनेको छुट्टा–छुट्टै जिम्मेवारी सहित जनप्रतिनिधिहरु २४ घण्टा जिम्मेवार तरिकाले व्यवस्थापनमा खटिनु हो।

जेष्ठ महिनाको ४/५ गतेबाट भारतबाट मान्छेहरु आउन थालेकोले विद्यालयहरुलाई परिपत्र गरी क्वारेन्टाइनको काम अगाडि बढाइयो। स्वास्थ्यकर्मी, जनप्रतिनिधि, सूरक्षाकर्मी र स्वयमसेवक लगाएतको टोलि गठन र परिचालन गरियो। त्रिभुवन मावि खर्वाङबाट सुरु भएको क्वारेन्टाइन ७औ नम्वरमा वेलफेयर बोर्डिङ स्कूलसम्म पुग्यो, जम्मा ४९३ जना मानिससम्म गाँउपालिकाले प्रत्यक्ष रोहवरमा खानपिन र आरामको व्यवस्थापन गरियो। आजसम्म ३८७ जना आवश्यक चेकजाँचपछि आ–आफ्नो घरमा सेल्फ क्वारेन्टाइनमा वस्ने लिखित प्रतिबद्धता साथ प्रवेश गर्नुभएको छ । ९ जना आइसोलेशन र १ जना होम आइसोलेसनमा हुनुहुन्छ। भारतबाट आउनेहरु गाँउपालिकालाई जानकारी गराएर मात्र आउनुभएको छ। संक्रमण नफैलियोस् भनेर सकेसम्म सुनौलीबाट बडिगाडसम्म छुट्टै गाडीको व्यवस्था गरिएको छ ।

क्वारेन्टाइन चलाउनुका चूनौतीहरु आफैमा छँदैछन्, त्यसैमाथि पोजेटिभ केस म्यानेजमेन्ट⁄बुझिहालिन्छ नि कति जटिल छ । २२ जना पोजेटिभ देखिँदासम्म अस्पताल पु¥याउन एम्बुलेन्सहरु चुकेका छैनन् । बरु पश्चिमका अन्य पालिकाहरुमा भेटिएका केसहरुमा पनि सहजिकरण गरिरहेका छन्। एम्बुलेन्स चालकहरु स्वास्थ्यकर्मीसँगै हेस्थपोष्टको क्वारेन्टाइनमा बस्दछन् । हालसम्म छिमेकी ३ ओटा स्थानीय तहका संक्रमितहरु समेत बिना हिचकिचावट अस्पताल पुर्याउने र फिर्ता ल्याउनेसम्मका कामहरु गरिरहेका छन् ।

गाउँ–गाउँ डुलेर भोलि आउने मानिसहरुको घर पुगेर लत्ता–कपडा तथा विभिन्न खानेकुरा र तरकारीहरु जम्मा गर्ने जनप्रतिनिधि ज्यूहरुको टोली देख्न ज्यान रहेसम्म सेवामा होमिन मन छ। स्थानीयबासीको सहभागिताको यो एउटा उदाहरण बन्नेछ कि , उहाँहरु गाँउमा उत्पादन भएका खाद्यान्नहरु गाँउमै पुगेर किनेर ल्याउनुहुन्छ र आवश्यकताअनुसार क्वोन्टाइनहरुमा वितरण गर्नुहुन्छ । प्रायः क्वारेन्टाइनकै खाना खानुहुन्छ र व्यवस्थापकीय कठिनाई नहोस् भनेर स्वयम्सेवक र स्वास्थ्यकर्मीहरुसँगै क्वारेन्टाइन नजिकै सुत्नुहुन्छ। स्वास्थ्यकर्मीहरुलाई दिइएको यो ढाडस अन्यत्र पनि लागू होस् भनेर मैले यहाँ उल्लेख गरेको छु । क्वारेन्टाइनमा पोजेटिभ देखिनुलाई सफलताको रुपमा ल्याइएको छ र समुदायमा संक्रमण जान नदिन भिष्म प्रतिज्ञा गरिएको छ । तर,पनि समुदाय संक्रमित भएमा के गर्ने भन्ने योजना पालिकाले तयार पारिसकेको छ। छिमेकी पालिका तथा जिल्लाहरुमा स्थानीय संक्रमण देखिएमा कसरी अगाडि बढ्ने भन्ने पूर्वतयारीमा लागिरहेको छ यबिवेला गाँउपालिका ।

पालिका भित्रका समस्याहरु
गाँउपालिकामा मेडिकल अफिसरको दरबन्दी नहुँदा एसिम्टोम्याटिक केस पनि रिफर गर्नुपर्ने बाध्यता छ। पोजेटिभ केसहरु ठूलो चुनौती भएका छन् । उहाँहरुलाइ कता लाने भन्ने विषयमा घरि–घरी द्धिविधा उत्पन्न हुन्छ। गाँउभर सिरियस बिरामीहरु हुँदा के गर्ने होला? घर–घरबाट बिरामी निस्कदा कस्ले बोकेर अस्पताल ल्याउला? भन्ने चिन्ता छ। तत्काल प्रि– आइसोलेशन बनाउनका लागि उचित स्थान र उपयुक्त जनशक्ति नहुनु मुख्य समस्या हो, यो समस्याले अञ्चल अस्पताल तथा आइसोलेशन केन्द्रहरुलाई थप समस्यामा पार्नेछ , सामान्यभन्दा सामान्य बिरामी पनि रिफर गर्नैपर्ने बाध्यता छ ।

अन्तरपालिका समस्याहरु
कुनै एउटा पालिकाले राम्रो गर्दैमा संक्रमणबाट जोगिन नसकिने तितो यथार्थ बीच यो पालिकाको बिरामी र त्यो पालिकाको बिरामी भनि माथिल्ला निकायहरु पन्छिने र क्वारेन्टाइनको व्यवस्थापन गर्ने विषयमा गाइडेन्स नहुदाँ तयार गरिएका संख्यात्मक क्वारेन्टाइनहरुले संक्रमण फैलन सजिलो पार्ने हुन कि भन्ने त्रास छ । जतिधेरै क्वारेन्टाइन संख्या हुन्छन् त्यति नै संक्रमण गाँउछिर्ने जोखिम पनि बढ्दै जानेछ । सिआइसि टिटि भन्ने समूूहको निर्देशिका बमोजिको गठन नहुँदा पालिकाहरुले जोखिम आँकलन नगरेको महसुुस भएको छ। पोजेटिभ केस देखिएको गाडीमासँंगै यात्रा गरेर आएका फरक पालिकाका व्यक्तिहरुको समयमै चेक–जाँच नहुँदा जाना–जान संक्रमण फैलाएको जस्तो हुनेछ, त्यसका लागी यो केश अनुसन्धानका टिमहरु अविलम्ब तयार गर्नुपर्ने छ ।

एनजिओ /आइएनजिओ
एनजिओ/आइएनजिओ को काम भन्दा पनि माहामारी नियन्त्रण नहुदाँसम्म स्थानीय तहलाई टेकनिकल सपोर्ट गर्नुपर्नेमा उल्टै बिदा नै पाएको भन्ने छ । यदि यस्तो परिस्थितिमा कर्मचारि बिदा दिने हो भने स्वास्थ्यसँग सम्बन्धित एनजिओ/आइएनजिओहरुलाई परिस्थिति सामान्य भएपश्चात् पनि पालिकामा ल्याउनुर्छ जस्तो लाग्दैन। आफूमात्र बाँच्न त सर्वसाधारणहरुलाई सिकाउनु छ, यहाँ त विषयगत क्षेत्रकै कर्मचारीहरु फिल्डमै नआई ज्यान जोगाउन हिँडे भन्ने सुनिन्छ। यदि माहामारीमा खटाइएको ठाँउमा जाँदैन भने न त आईएनजिओ न त सरकारी कुनैपनि कर्मचारीको जिम्मेवारी पूरा भएन। आवश्यकता अनुसार योग्यता भएका एनजिओ ÷आइएनजिओका कर्मचारीहरुलाई जिम्मेवारी दिनुपर्ने छ । यसले समुदायको संक्रमण रोक्ने क्षेत्रमा राम्रो भूमिका खेल्ने छ ।

स्वास्थ्य कार्यालयले अविलम्व गर्नुपर्ने सहजिकरण
स्थानीय तहमा रहेका क्वारेन्टाइनहरुको व्यवस्थापनमा एकरुपता ल्याउन निर्देशन गनुपर्ने मुख्य काममा कार्यालय चुकेको छ, ४० जना मात्र मानिसलाइ २० ओटा क्वारेन्टाइन राख्नु स्थानीय तहको कमजोरी मात्र होइनकी समयमा निर्देशन नहुनु समेत जिम्मेवार हो। जति धेरै क्वारेन्टाइनको संख्या भन्न थालिन्छ त्यतिनै धेरै संक्रमण व्यवस्थापनमा चुनौती हुनेछ । हाल आएर भारत बाहेक अन्य देशहरुवाट जिल्ला प्रवेश गर्नेहरुलाइ गाँउपालिकाको जिम्मा लगाउने भन्दा एकै ठाँउमा क्वारेन्टाइन गर्ने निर्णय गरेमा संक्रमण नियन्त्रणमा सहजीकरण हुनेछ

जिल्ला कमाण्ड पोष्ट
स्वास्थ्य कार्यालय वा जनस्वास्थ्य विज्ञका सूझावलाई मध्येनजर गर्नुपर्नेमा प्रशासन कार्यालयहरुनै हाबी हुनु सवैभन्दा भयावह छ। प्रशासन कार्यालयहरु यतिबेला जनस्वास्थ्यको सुझावलाई मध्ये नजर गरी सोहिअनुसार चलेमा मात्र कोभिडको वैज्ञानिक नियन्त्रण सम्भव छ न की प्रशासनका कर्मचारीको धारमा लागेर समाधान आउला। कमाण्ड पोष्टले विदेशबाट आएका र उतै पिसिआर गरेको रिपोर्ट भएकाहरुलाई सोहि रिपोर्टको आधारमा घरमै बस्न भनेछ, यदि त्यसो हो भने उ त्यहाँबाट घर आउँदासम्म बाटोमा संक्रमण भएमा त्यसको जिम्मेवारी कस्ले लिने? यदि यो निर्णय सच्चाइएन भने माहामारी नियतबस् सुरु हुनेछ र त्यसको जिम्मेवारी सम्वन्धितले नै लिनुपर्ने छ ।

कोभिड विषेश अस्पताललाई केहि सुझावहरु
पूर्वतयारीको यत्रो मौका थियो । अस्पतालहरु व्यवस्थापनका केहि गतिला व्यवस्थापन गर्न चुकेका छन् । ‘आफ्नो कार्यक्षेत्रमा रहेका क्वारेन्टाइनमा भएका मानिसको संख्याका आधारमा आइसोलेट गर्नुपर्ने प्रतिशत आँकलन गरी सोहीअनुसार कहाँ–कहाँ राख्ने?’ भन्ने तयारी गर्नुपर्दथ्यो र आजपनि त्यो काम भै सकेको छैन । गाँउपालिकाले पठाएको बिरामी सदरमुकामको नगरपालिकालाई जिम्मा लगाउनु भन्दा अस्पतालहरु आफैले त्यो व्यवस्थापनको नेतृत्व गर्नु नितान्त आवश्यक छ । अस्पताललाई समस्या छ भने हामी स्थानीय तहहरु प्रि–आइसोलेशन चलाउन तयार छौं। यसका लागि आवश्यक मेडिकल अफिसर मात्र भएपनि प्रदेश सरकारले व्यवस्था गरोस्।

कोरोना फैलिनेनै भएपनि विस्तारै फैलिएमा धेरैलाई बचाउन सकिन्छ त्यसैले हिम्मत नहारौं आजको मितिसम्ममा क्वारेन्टाइनसम्म मात्र कोरोना आएको छ । समुदायमा प्रवेश गर्न नदिन हामी प्रयासरत रहने प्रतिवद्धता व्यक्त गर्दर्छौै ।

यतिबेला एक स्थानीय तहमा दुई जना मेडिकल अफिसर पठाउन सक्ने हो भने ठूला अस्पतालहरुले लक्षण देखिएका बिरामी मात्र हेर्ने गरी व्यवस्थापन समेत गर्न सकिन्छ अन्यथा लक्षण नभएको बिरामीले बेड पाउने छ। तर, आवश्यकता भएका बिरामी बाहिरै मर्ने निश्चित छ। घण्टै पिच्छेको फरक निर्देशनले हामीलाई माहामारी नियन्त्रणमा धेरै असहजता भएको छ । यस्तो परिस्थितिमा अञ्चल अस्पतालको टेक्निकल टिमले स्थानीय तहहरुलाई निर्देशन गरोस् हामी पछि लाग्नेछौ न की यो पालिकाको बिरामी हो र भातको पैसा पालिकाबाटै आउँछ भन्ने जस्ता तुच्छ निर्णयहरु शोभनिय छैनन् ।

स्थानीय तहहरु क्वारेन्टाइन व्यवस्थापनमा नचुक्ने केस पत्ता लगाउने अस्पताल पठाउने वा अस्पतालको निर्देशनमा चल्ने। स्थानीय तहहरुले मानिस क्वारेन्टाइन गरेको परिवेशमा प्रदेश सरकारका अस्पतालले त्यहाँवाट आएका सवै केसहरु अस्पतालको माताहतमा आइसोलेट र प्रि आइसोलेशनको व्यावस्थापन गर्ने। मानिसहरुलाई भौतिक दूरी कायम गरेमा कोरोना नसर्ने विश्वास दिलाउने खालका कार्यक्रम सञ्चालन गर्नुपर्दछ। समुदायमा संक्रमण फैलिएमा (छाउ–गोठको अवधारणा) कोभिड केभ तयार गर्ने र विदेशवाट आएको आफ्नो घरको सदस्यलाई आफैले तयार गरेको केभमा सुरक्षित तरिकाले खानपिन गराएर १ महिना त्यहि राख्ने जस्ता उपायहरुले हामिलाई कोरोनासँगको लडाइमा विजेता वनाउने छ सबैले आफ्नो भूमिका निर्वाह गरौैं । -लेखक हेल्थ असिस्टेन्ट तथा सिसाखानी स्वास्थ्य चौकी, बडिगाड–३ सिसाखानी
हाल बडिगाड गाँउपालिका स्वास्थ्य शाखा सि.आइ.सि.टि.टि. संयोजक हुन् ।