बुटवल । दुवै किड्नी फेल भएका गुल्मी चन्द्रकोट गाउपालिका–७ रुपाकोटका २८ वर्षिय लालवहादुर विकले आफ्नो जिवन बचाई दिन अपिल गरेका छन् । रोजगारीको सिलसिलामा भारतमा रहँदा उनले शरिरको दुखाई कम गर्ने औषधी सेवन गरेका थिए । दुखाई कम गर्ने औषधीकै कारण उनको मृगौला काम नगर्ने गरी फेल भएको चिकित्सकहरुले बताएको विककी श्रीमती सुनिता विकले सुनाईन ।
विकको हप्तामा ३ पटक डायलोसिस गर्नुपर्छ । २ वर्ष अघिदेखि नियमीत रुपमा डायलोसिस गरिएको छ । ‘पैसाको अभावमा किड्नी फेर्न सकिएन ।’ उनले गुनासो सुनाईन –‘किड्नी फेर्न सपनै भयो, घरमा खानेकुरा किन्न समेत पैसा छैन ।’ श्रीमानको औषधीको लागि अहिले सम्म २५ लाख बढि खर्च भएको उनले बताईन । मृगौलाको उपचार गर्दा घरखेत नै जाने अवस्थामा पुगेको विक परिवारले बताएका छन । विक दम्पत्ति उपचारकै लागि बुटवल ११ देविनगरमा कोठा भाडामा लिएर बसेका छन् । ६ वर्षकी छोरीसमेत रहेका ति दपत्तिले घरमा खानेकुरा नभएको गुनासो गरेपछि बुटवलका युवा समाजसेवी हरि क्षेत्रीले एक महिनाको लागि पुग्ने खाद्यान्न घर पु¥याइदिएका छन् । उनले औषधीको लागि ४ हजार ५ सय रुपैया नगद समेत सहयोग गरेका छन् ।
यस अघि दुई पटकसम्म खाद्यान्न सहयोग गरेको विककी श्रीमती सुनिताले बताईन । ‘उहांले खानेकुरा सहयोग गर्नुभयो, त्यसैले छाक टारेका छौ ।’ उनले भनिन– मृगौला फेर्न पैसा जोहो गर्न पाए जिवन बँच्न सक्थ्यो ।’ क्षेत्रीले कोरोना भाईरस नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनको कारण घरमा चुलो बाल्न नसकेका १२ सय भन्दा बढि घर–परिवारलाई खाद्यान्न सहयोग गरिसकेका छन् । राहत वितरणकै क्रममा मृगौला पिडितलाई भेटेको उनले बताए ।
मृगौला पिडित लालबहादुरले औषधीको लागि समेत पैसा नहुँदा पिडा सहेर वस्नु परेको बाध्यता सुनाए । गुनासो सुनेपछि बुटवल ट्राफिकचोक अष्टाङग मेडिकल सन्सर्नका संचालक थानेश्वर अर्यालले १ महिनालाई पुग्ने औषधी दिने बताए । रोट्याक्ट अफ बुटवल डाउन टाउनका पूर्व अध्यक्ष कमल थापा क्षेत्रीले विकको उपचारमा केही सहयोग गर्न सकिन्छ की भनेर छलफल भईरहेको बताए । ‘उहांको उपचारको लागि डिल गरिरहेका छौ ।’ उनले भने– ‘घरको अवस्था देख्दा पिडा भयो ।’
प्रतिक्रिया