कोरोना महामारीका कारण देशमा निषेधाज्ञा जारी भएको पनि आज थुप्रै दिन भयो । लौ जीवन सुन्दर बनाउने सपना बोकेर हिँडेको ठाउँ छोडेको पनि धेरै दिन भएछ । उता सपना पूूरा नहुने हुन् कि भनेर धेरैलाई भोलिको दिन कै पिरलो, कत्तिलाई त भोलि सरकारी सेवामा प्रवेश गर्न नपाइने त होइन भन्ने पिरलो छ । अझ भनौं लोकसेवा, लाहुरे जस्ता आयोग अनि सेवा प्रणालिमा त उमेरनै बढी होला भन्ने पिरलो। हुन पनि त एकै पटकमा उत्तीर्ण हुन्छ भन्ने ढुक्क पनि त कसलाई पो छ र हैन ?
त्यस्तै कैंयौं उज्यालोका सपना बोक्दै प्रदेश हिडेका मदनहरु पनि मन भकार्दै आफ्नी मुना सम्झँदै होलान् । यता घर आमा पनि त्यहि मदन कै पिरमा पिरोलिँदै हुनुहुन्छ । सम्झना त हरबखत आउँछ । न दिन बित्ला भन्छ यो सम्झने मनले न त रात नै सजिलोसँग निदाएर कटाउन दिएको छ । सम्झन्न भन्यो अझ धेरै सम्झना आउने, कस्तो पापी मन । हो यस्तै पीडा अनि वेदना माथि त अलपत्र परि गुज्रिरहेका हामी आशावादका मात्र स्वावलम्वी , अझैपनि भोलिको सुनौलो आशा गरिरहेका छौं । जुन भविष्य आफ्नो तर भाग्य, आशा, भरोसा अनि होलाकी भन्ने सहानुभूति र कर्म भने अरुको । त्यसैले त म सम्झन्छु आफ्नै भविष्य अनि पर्छु बास्तविकता ले गुज्रिरहेको मेरो जीवनको विवश्तामा ।
त्यसै बखत सम्झन्छु, भैरव अर्यालका ती हरफहरु,
“बिना कोसेली रित्तै हात आउँछ मेरो दिन,
बिना समाचार निस्तै मुख फर्कन्छ मेरो दिनु।’
दिनहरु गुजारा मै बित्दै थिए । लकडाउन अझ थपिदै थियो कहिलेसम्म थपिन्छ अत्तो–पत्तो थिएन । तपाई र हामी जस्ता समाजले केहि गर्छन् भनेका युवावर्गहरु को त आश ओइलाउँदै थियो भने निमुखा मजदुर र आशाका त्यान्द्रा अरु माथि भएकाहरुको त के कुरा र कुरै छोडौं । बजारमा कोठा भाडा लिएर बस्ने भाडावालहरु कोठा नै छोड्न थालिसकेका थिए । नछाडुन् र पनि कसरी ती बिचराहरुको कोठामा भएको सामान भन्दा महङ्गो कोठा भाडा घरबेटीलाई बुझाउनु परेपछि । ‘सरकारबाट महामारी नियन्त्रणको लागि यति बजेट छुट्याइयो अब मजदुर निमुखा वर्गहरुलाई राहत दिने सरकारको सल्लाह र निर्णय भयो’ भनेर थुुप्रै खबर आए । गाउँमा पनि यस्तै भएको रहेछ राहत पनि आएको रे बाँड्न पनि नगरपालिका, गाउँपालिका, अरु पालिकाहरु के–के छन् सबै अनि आइएनजिओ र एन्जियोहरु सबै मिलेर राहत बाँडेका रे, म त छिमेकीबाट थाहा पाएको, ‘सरकारबाट महामारी नियन्त्रणका लागि यति बजेट छुट्याइयो अब मजदुर, निमुखा वर्गहरुलाई राहत दिने सरकारको सल्लाह निर्णय भयो ।’ भन्ने समाचार सुनेर मन खुशी हुन्थ्यो ।
एकै छिन त हो फेरि म त सुनेपनि नसुने झंै गरी बस्थे र मेरो घरपरिवार पनि । किनकि आश गरोस् र पनि कसरी राहत नपाउने कुरा पक्का थियो । उता पल्लो गाउँमा पनि यस्तै भएको रहेछ राहत पनि आएको रे बाँड्न पनि नगरपालिका, गाउँपालिका, जिल्लासभा आइएनजिओ र एन्जियो संस्थाले राहत बाँडेका रे खै को–को परे राहत पाउनेमा गरिबहरुको पत्तै छैन रे । समाचार आएको उता रेडियोले ‘आज यो नगरपालिकामा राहत वितरण सम्पन्न भयो।’ भनेर समाचार पनि भनि सकें रे । तर, ती हजुरबुवा र अरु राहतको आशमा दिन कटाउनु त पिर छँदै थियो । त्यसैमाथि राहत बाँड्न आएका कर्मचारीको फिफ्टी–फिफ्टी (५०–५० पनि दिमागमा याद गरेर बसेका रहेछन्, विचरा ती बुढा बा मेरो पनि काम त त्यति सार्हो थिएन उनको घरमा जाने ।
तर, गाउँ नजिकै थियो बाटो एउटै पर्दथ्यो । मलाई हिड्दैगर्दा बाटोमा हजुरबाले मलाई आँगनको ढिस्कोबाट बोलाई हाले ए ‘कान्छा ! ए कान्छा !! यहाँ आइज त बाबू, म पनि मनमा अनेक कुरा खेलाउँदै हिडेको मान्छे फुत्त उनको घरमा निस्किए हजुरबा भित्र जानु भएको रहेछ । घरको आँगनमा गएर मैले पुनः बोलाए ‘ए हजुरबा कहाँ जानुभयो खै किन बोलाउनुभयो मलाई ? भनेर भन्न नपाउँदै बुढा हातमा एउटा रातो कागज लिएर बाहिर निस्किएँ..अनि मलाई सोधे ‘बाबू हेर्त यो मलाई हाम्रो सरकारबाट आएका सरहरुले राहत पाउनेको नाम संकलन भन्दै दिनुभएको हो । हेर त हेर कहिले दिने रहेछ । कस–कस्लाई दिने रहेछ ? म त कुर्दाकुर्दै थाकि सकेँ!!’ मैले पनि यसो पढेर तुरुन्तै जवाफ दिए ‘हजुरबुवा यो त राहत वितरण बिल पो हो त, हजुरबुवा फेरी भन्नु भयो ‘हेर त बाबु यहाँ तल हेर’ भन्दै हुनुहुन्थ्यो ‘सरहरु मैले त कुरै बुझ्दिन यहाँ अऔंठा छाप लगाउन भन्नुभयो मैले त लगाइदिएँ ।’ कुरा हुँदै गयो, म आश्चर्यमा परेँ त्यो राहत लिनेको हस्ताक्षर भएको बिल रहेछ ।
मन खिन्न भयो । मैले सबै कुरा गरेँ । धेरै बेर उहासँगै, बसे । बुवालाई मख्खै पार्दै राहत बिलमा हस्ताक्षर गराउने बेलामा राहत बाँडुवाहरुले ‘वि टेक फिप्टी, आई टेक फिप्टी ’भनी हाँसी हाँसी अङ्ग्रेजी मा कुरा गरेका रहेछन् । बुवालाई यति मात्रै याद भएछ । अरु अङ्ग्रेजीमा के–के गरे पत्तै भएनछ । कुरो यसरी मिलाइको रहेछ । कुरा बुझियो । मेरा सबै कुरा सुनेर, बुवाको आँखाबाट आँसुु आए । मनै त हो, म पनि कहाँ सम्हालिन सक्थँे र ! मेरो पनि आँसु बर्सियो । घर फर्किएँ धेरै साँेच्न बाध्य बनायो । राहत बाड्ने काम यस्तो पो भएको रहेछ । अब त म ठोकुवाका साथ भन्न सक्छु राहत हुनेनै यस्तै गर्दछ । ती हजुरबुवाको मात्रै कथा होइन सबैको अवस्था यस्तै भएको छ ।जनजीवन कष्टकर भइरहेको बेला महामारी र भोकमरीले मुख जोड्नलाई वञ्चित भई आएको अवस्थामा पनि पापीहरुले निमुखाको गाँस लुटेर खाए ।
पाप त्यस्तालाई लागोस्, जसले त्यस्तो गरे र जसले त्यस्तो कार्य गर्न स्ललाह दिए । ‘पाप धुरीबाट कराउँछ’ भन्छन् । जेहोस् एक समय त कराउला । हामी यसको प्रतिक्षामा छौ । निमुखा जनता माथि सरकारको वा सरोकारवालाको लापरवाहीपूर्ण कार्य र व्यवहारदेखि र माफिया एजेन्टहरुको ‘फिफ्टी फिफ्टी’ कार्यक्रमदेखि बच्न चाहन्छौ । अब त सरकार सुनियोजित र सहजता कार्यक्रम होइन फिफ्टि–फिप्टी नै ल्याउ त्यो भन्दा हामीलाई अरु आशको विष के नै भयो र । यो कस्तो धन्दा यो त अत्ति भएन र? सरकार र बन्दको कस–कसले हामीजस्ता अस्त–ब्यस्त बन्दै गएको जनता र ती बिचरा निमुखाहरुको जनजीवन न त बोलिदिने कोहि छ न त लडेर, खोसेर नै लिनसक्ने जुझारु नै कोही छ । ‘आकाशको फल आँखातरी मर’भनेजस्तै भएको छ ।
सहज जनजीवन र निमुखा हरूको पाहुचमा सहज बनाउन सरकारबाट प्रदान गर्दै आइरहेको सहजता राहत कार्यक्रमको खै सुनियोजित वितरण ? निमुखा, गरिबहरु, मजदूरवर्गको पेटमा दाना नगएको पनि धेरै भैसक्यो खै सुनुवाइ भएको ? डाँडामाथिको घाम बनिसकेका जेष्ठ नागरिकको अस्तित्व महत्व र आशाका घडीहरुलाई मेटाउन सकेको नातावाद, कृपावाद र आलुवाद गर्नेहरूको मनपरी अझै कायमै रह्यो दुःखी र गरिब जनताको घरमा विहान बेलुका छाक टार्नै मुस्किल भएको बेला सूचना सम्प्रेषण गरिन्छ । त्यो पनि ठूलै प्रसङ्गताका साथमा राहत आउने बेलामा भने सबै हात्ती छिर्छ अनि रोकिन्छ पुच्छर ।
अनि बिचरा हामी जस्ता निमुखा जस्ताको–तस्तै रहिरहेको पत्तै र कुनै कुराको सुनुवाई नै हुँदैन । कुनै समय भएन फुस्सा प्रवृत्ति रोकिने हिजो भूकम्प जाँदाको बखत भनौ, सशक्त जनयुद्ध आन्दोलनको बेला भनौं, वा विद्रोह हुँदाको बखत भनौं, जता–ततैको कुरा गर्दा आज पनि यो प्रवृत्ति रोकिएन । आज पनि हामी भोगिरहेका छौं । अझै कति भोगिने हो यो फुस्सा प्रवृत्ति र फिफ्टी–फिफ्टी थाहा छैन । –(लेखक मध्यपश्चिम विश्वविद्यालयमा कानून अध्ययनरत विद्यार्थी हुन् ।)
प्रतिक्रिया