फागुन ३०,
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मुखतोड प्रतिरोध गर्न तयार रहेको जनाएको छ ।
नागरिक र राष्ट्रको भविष्यका लागि लडिरहेको उल्लेख गर्दै नेकपाले चन्दा उठाउनु नैसर्गिक अधिकार भएको समेत दाबी गरेको छ । अपराधी समूह जस्तो व्यवहार गर्ने सरकारी निर्णय हास्यास्पद रहेको भन्दै यस्ता निर्णयले आफूहरु नझुक्ने पनि उसको भनाई छ ।
प्रतिबन्ध आफ्नो पार्टीलाई नभई राष्ट्र बेचेर खाने, विदेशीको दलाली गर्ने, भ्रष्ट, कमिसनखोर र तस्करहरुसँग मिलेर नागरिकका विरुद्ध अपराध गर्ने राज्यका मन्त्री र उनीहरुका मतियारलाई आफूहरुले प्रतिबन्ध लगाउने पनि विज्ञप्तिमार्फत उसले चेतावनी दिएको छ ।
पार्टीका महासचिव ‘विप्लव’ले हस्ताक्षर गरेको विज्ञप्तिमा आफूहरुले अहिलेसम्म विदेशी केन्द्रबाट पैसा नलिएको र दलाली गरेर कमिशन पनि नखाएको भन्दै चन्दा उठाउनु नैसर्गिक अधिकार भएको उल्लेख छ ।
महासचिव विप्लवले वक्तव्यमा भनेका छन्, ‘यही फागुन २८ गते साँझ केपीको मन्त्रिपरिषद्को बैठकबाट हाम्रो गौरवशाली पार्टीमाथि प्रतिबन्ध लगाउने, राजनीतिक मान्यता नदिएर अपराधी समूह मान्नेजस्तो आपराधिक, षड्यन्त्रकारी तर हास्यास्पद निर्णय गरेको प्रचार सञ्चारमाध्यममा आएको छ । केपी बादल कम्पनीको यस कुकर्मप्रति जनताको चासो हुनु स्वभाविक छ ।’
दलाल पुँजीवादीलाई अस्वीकार गर्दै महान् जनयुद्धको आदर्शमा हिँड्दै क्रान्तिलाई नयाँ उचाइमा उठाउने बताउंदै बिज्ञप्तिमा भनिएको छ, ‘२०७२ सालमा प्रतिगामी संविधान अस्वीकार गरेदेखि नै हाम्रो पार्टीमाथि अघोषित प्रतिबन्ध लगाउँदै आएको थियो । कथित संसदीय चुनावहरूको बहिष्कार गरेपछि त गोली हान्ने र हत्या गर्नेसम्ममा राज्य उत्रियो ।’
आफ्नो पार्टीले एनसेल, अरुण ३ माथी गरेको कारबाहीको कारण स्पष्ट पार्दै उनले भनेका छन्, ‘जहाँसम्म अरुण ३, एनसेल, मेनपावर सप्लाई कम्पनीमाथिको कारबाही हुन्, ती हामीले गरेको हो र त्यसलाई राज्यले अपराधी भन्छ भने जनताले यो बुझ्नुपर्दछ– अरुण ३ जस्तो राष्ट्रघाती सम्झौता गरेर अर्बौं कमिसन खाने अपराधी केपी बादल कम्पनी रहेछ, हाम्रा हजारौँ दिदीबहिनीहरूलाई विदेशी बजारमा आलु बेचेजसरी बेचेर हुर्मत लिने अपराधी यिनीहरू नै रहेछन्, खुलेआम अर्बौं रुपैयाँ ठगी गर्ने गिरोहमा यिनीहरू नै रहेछन् । यसो हो भने अबको कारबाही एनसेल, मेनपावर र अरुण ३ माथि होइन, यी अपराधीमाथि हुनुपर्छ ।’
प्रतिक्रिया