ताजा अपडेट »

धर्म र राजनीति

बुधबार, १० असार २०७७

धर्म र राजनीति एउटै कुरा होइनन्, फरक फरक कुराहरु हुन । धर्मलाई हामीले झट्ट फेर्न वा बदल्न सक्दैनौं । हिन्दु धर्म मान्नेहरु मुस्लिम बनिहाल्न सक्दैनन्, त्यस्तै मुस्लिम धर्म मान्नेहरु हिन्दु बनिहाल्न सक्दैनन् । अहिले बढी चलनचल्तीमा रहेका धर्महरु हिन्दु, मुस्लिम, बौद्ध, इसाई, सिख र जैन धर्म छन् । यी सबै धर्मका रितिरिवाज, परम्परा, संस्कृती, चाडपर्वहरु सबै मुलभुतरुपमा फरक छन् । अन्य जाति जनजातिका धर्महरु पनि छन्, ती सबै परम्परादेखि सनातन रुपमा चली आएका छन् । त्यसैले हामीहरु जहिलेदेखि धर्म परम्पराको सुरुवात भयो त्यतिबेलादेखि अपवाद बाहेक एउटै सनातन धर्ममा जोडिएका छौं ।

तर राजनीति भने फरक कुरा हो, राजनीतिमा धर्ममा जस्तै कुनै संगठनमा सदैव बाँधिएर बसिरहन पर्दछ भन्ने आवश्यकता छैन । आफ्नो इच्छा र चाहना अनुसार समाजको आवश्यकतालाई हेरेर नयाँ संगठन बनाउन पनि सकिन्छ, पुरानै बनी बनाउ संगठनमा जोडिन पनि सकिन्छ, वस्तुगत आवश्यकताले माग गर्यो भने संगठनलाई फुटाउन वा फुट्न पनि सकिन्छ, आवश्यकताले जुट्न वा जुटाउन पनि सकिन्छ । धर्ममा जस्तै सन्तान दरसन्तान एउटै संगठनमामा, एउटै झण्डा र लोगोमा आवद्ध भइरहनु पर्दछ भन्ने जरुरी छैन । बुबाले जुन संगठनमा काम गरेका थिए, छोराले पनि सोही संगठनमा जीवन बिताउनु पर्द्छ भन्ने हुँदैन । सुरुमा जुन संगठनको टिकट काटिएको थियो मर्ने बेलासम्म पनि सोही संगठनमा बसिरहनु पर्छ भन्ने कुनै नीति सिद्धान्त बनेको छैन ।

कुनै संगठनमा रहने वा नरहने, बस्ने वा नबस्ने भन्ने कुराको फैसला तपाईको हैसियत वा वरियताका आधारमा निर्णय गर्ने होइन, तपाईं जुन संगठनमा हुनुहुन्छ, के त्यस्को नेतृत्व इमानदार छ ! अग्रगामी सोच राख्दछ ! के त्यो नेतृत्वले अन्तर बिरोधहरुको समाधान दिन सक्ने हैसियत राख्दछ ! के त्यो नेतृत्वले इतिहासका चुनौतीहरुको सामना गरेर अगाडि बढ्न सक्दछ ! यदि सक्दछ भने तपाई दायाँबायाँ तलमाथि गर्न जरुरी छैन । यदि त्यो नेतृत्वले यो कुराको हैसियत राख्दैन भने हामिले विकल्पहरु खोज्न सक्नु पर्दछ । कुन ब्यक्ति कुन संगठनमा कति वर्ष बस्यो भन्ने कुराले सम्बन्धित ब्यक्तिको मुल्यांकन इतिहासमा हुने गर्दैन । उस्ले लिने नीति, विचार, निरन्तरता र इमानदारिताका आधारमा मुल्यांकन हुने गर्दछ ।

त्यसैले सदा सर्वदा एकता मात्र ठिक र सदा सर्वदा विभाजन मात्र ठिक भन्ने चिन्तनले द्वन्द्वात्मक भौतिकवादको प्रतिनिधित्व गर्दैन, त्यो सोचाइ भनेको एकात्मक जडतावादी चिन्तन हो । पदार्थ परिवर्तनशिल छ, गतिशील छ, वस्तुहरु बदलिरहन्छन, समाज बदलिरहन्छ । विश्व ब्रह्माण्डमा हरेक पल परिवर्तन आइरहेको हुन्छ । पुराना चिजहरु भत्कने र नयाँ चिजहरु जन्मने क्रम चलिरहेको हुन्छ । एउटा सन्दर्भमा राखिएको विचार अर्को सन्दर्भमा बेठिक भएको हुन्छ किनकी चिजहरु गतिमा छन्, प्रवाहमा छन् । पचास वर्ष पहिले मेरो नेताले यो कुरा बोलेको थियो त्यसैले यो विचार अहिले पनि समय सान्दर्भिक छ भनेर बुझ्नु अधिभुतवादी गल्ती हुन जान्छ ।

उदाहरणको लागि भनौं कि हामी मद्राशशिटी पुग्ने हाम्रो राजनैतिक लक्ष्य हो भने यो लक्ष्यमा त्यहाँ नपुग्दा सम्म तल माथि दायाँबायाँ हुन भएन तर हामी त्यहाँ सम्म पुग्नको लागि हाम्रो सुविधा अनुसार जुनसुकै साधन पनि लिन सक्दछौं । जस्तो कि भारतिय रेल, हवाइजहाज, पानीजहाज, रोडवेजका यातयातहरु, एउटै रेलबाट पुग्न सकिएन भने २,४ वा ६ साधनहरु हामिले बदल्न सक्दछौं । अतः मुख्य कुरा लक्ष्य हो भने साधन सहायक । संगठनको बारेमा पनि यहि कुरा लागू हुन्छ, हामिले संगठनलाई लक्ष्यको रुपमा बुझ्ने गल्ती गर्नु हुँदैन । हाम्रो लक्ष्य समुन्नत समाजवाद हो भने अथवा अझ अगाडिको लक्ष्यको परिकल्पना हामिले गरेका छौं भने हाम्रो लक्ष्यमा विचलन आउन भएन । संगठन भनेको साधन हो, त्यो १,२,४ वा ६ आवश्यकता अनुसार बनाउन अथवा पुनःनिर्माण गर्न सकिन्छ ।

लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्नको लागि हामिले थुप्रै साधनहरु फेरेका छौं । अहिले नेकपामा रहेका साथिहरु पुर्व एमालेको लागि यो नयाँ पार्टी चौथो साधन हो भने पुर्व माओवादिका लागि छैटौं साधन हो । यसभन्दा अगाडि बढ्नको लागि यो साधन बाधक बनेको खण्डमा इतिहासले हामिलाई साधन बदल्ने छुट दिएको छ । हामी निर्धारित लक्ष्यमा पुग्नको निम्ति दुरदर्शि, गतिशिल, साहसि, इमानदार र समाजका सबै अन्तर बिरोधहरुको समाधान दिन सक्ने नेतृत्वको आवश्यकता पर्दछ । लक्ष्य किटान गरेर मात्रै हामी लक्ष्यमा पुगिदैन, जब कुशल कमाण्डरले हाम्रो यात्राको नेतृत्व गर्दैन । लक्ष्य किटान नगर्दा सम्म गन्तव्य प्रधान हुन्छ भने लक्ष्य किटान भइसकेपछि नेतृत्व प्रधान हुन्छ । अथवा भनौं कि विचार दिनसक्ने विचारक हो ।

विचारक बिनाको संगठन अथवा कमाण्डर बिनाको गाडी बिना नै साधनले मात्र लक्ष्यमा पुग्न सकिन्छ भनेर सोच्नु कोरा कल्पना मात्र हो । हामीलाई इतिहासले सिकाएको पाठ यहि हो । तर हामिकहाँ अलि पुरानो जडशुत्रिय चिन्तन विद्दमान छ, राजनीति र धर्मलाई समानरुपमा बुझ्ने र ग्रहण गर्ने, नेतृत्व गतिशिल छ वा छैन, इमानदार छ वा छैन, वर्तमानमा देखा परेका अन्तर विरोधको समाधान दिन सक्छ वा सक्दैन भनेर ग्रहण नगर्ने, अठारौं शताब्दीका बाहुनका छोरीहरु जस्तै विवाह गरेर दिइसकेपछी लोग्ने जस्तो सुकै परोस, घर जस्तो सुकै परोस १५ वर्षमै विधवा बस्न परोस तर समाजले पुर्नविवाह गर्ने छुट दिदैनथ्यो । यहि पुरातनपन्थी चिन्तनधारा हामीकहाँ देखा पर्दछ । बुबा, ठुलाबुबा, ठुल्दाजि कांग्रेशमा हुनुहुन्थ्यो त्यसकारण म कांग्रेस सदासर्वदा कांग्रेस ।

बुबा, दाजुहरु कम्युनिष्ट हुनुहुन्थ्यो त्यसकारण म कम्युनिष्ट , सदाबाहार कम्युनिष्ट । कतिपय दाजुहरुले भन्ने गर्नु हुन्छ “ भाइ मलाई अरु केही चाहिएको छैन, बस ! मर्ने बेलामा झण्डा ओढ्न पाएदेखि हुन्थ्यो ।“ वहाँहरुको सोचाइ पवित्र हो तर गतिशिल विज्ञान होइन । पार्टीको समर्थन वा विरोध स छुट्टिने वा जोडिने कुरा उसको गुणदोषको आधारमा हुनु पर्दछ । राजनीती वंशाणुगत जाने कुरा होइन । यो जीवन र गतिका आधारमा निर्णय गर्ने कुरा हो । वस्तुगत आवश्यकका कारण पार्टीहरु विभाजित भएका हुन वा आफ्नो व्यक्तिगत स्वार्थका कारण, समयको आवश्यकताले पार्टीहरु जोडिएका हुन वा आफ्नै स्वार्थ र व्यवस्थापनको लागि यसको आधारमा नै हामी ठिक वा बेठिक भन्न सक्दछौं ।

कतिपय साथिहरु आत्मियताका साथ भन्नुहुन्छ कि “आउनुस साथी मुलधारमा जोडिनुस !“ उहाँहरुको इमानदारितालाई म सम्मान गर्दछु तर यो मुलधारको परिभाषा के हो ! के को आधारमा मुलधारको टुङ्गो लगाइन्छ । ठूलो पार्टी, धेरै संगठन वा पुरानो इतिहास भएकै कारण मुलधार भन्ने हो भने यो कुरा विज्ञानले मान्दैन । इतिहासलाई अगाडि बढाउनको निम्ति विचार सहितको नेतृत्व नै पहिलो सर्त हो । नेतृत्व योग्य, दुरदर्शी र इमानदार छ भने मात्रै हामी सकारात्मक दिशामा अगाडि बढ्न सक्दछौं । मैले यतिबेला इमानदार, सादर्गी, गतिशिल, साहसी र अग्रगामी विचार सहितको व्यक्ति ठानेर बाबुराम भट्टराईको विचारमा आस्था राखेको छु ।

यदि वहाँभन्दा अझ दुरदर्शी, इमानदार, गतिशिल, साहसी र अग्रगामी चेतना सहितको अर्को कुनै नेतृत्व यहाँहरुको दृष्टिमा छ भने उनको विचारमा आस्था प्रकट गर्न मलाई कुनै संकोच हुने छैन किनकी म कुनै वधुवा मजदुर होइन, म एक्काइसौं शताब्दीको मानव हुँ, यो स्वतन्त्रता मलाई छ । समृद्ध नेपाल र सुखी नेपाली देख्न म आतुर छु, त्यो प्राप्त गर्नको लागि तलमाथि, दायाँबायाँ जता फर्कन पनि मेरा चेतनाले मलाई स्वीकृति दिन्छ । मैले अघिल्लो हप्ता ग्लोबल आवाज डटकममा प्रचण्ड जीलाई सम्झेर एउटा लेख लेखेको थिएँ । तपाईहरु २०५२ सालमा जे प्रतिबद्धताका साथ अगाडि बढ्नु भएको थियो ती सबै नेतृत्वहरु पुनः एकीकृत हुनुपर्दछ भन्ने मेरो लेखको आशय थियो ।

यो अहिलेको वस्तुगत आवश्यकता, इतिहासको अपरिहार्यता हो भन्ने मलाई लाग्दछ किनकी मजस्तो सामान्य व्यक्तिले लेखेको विचार जसलाई सत्ताइस सय महानुभावहरुले सेयर गरेर एकबद्दता जनाउनु भएको थियो । ध्यान रहोस कि इतिहासमा एकपल्ट मात्र परिक्षामा पास भएर पुग्दो रहेनछ, एक पटकको मात्र परीक्षाले हुने भए पुर्वी भारतका लालडेगा, आसामका प्रफुल्लकुमार महन्त आजसम्म पनि नेता भैरहन्थे । त्यसैले राजनितीमा अन्तिमसम्म परिक्षा दिइ रहनुपर्दो रहेछ । त्यस्तै पद वा कुर्चिले मात्रै पनि नेतृत्व दिन सक्दैन, त्यसो भएको भए भारतमा डा.मनमोहन सिंह प्रधानमन्त्री हुने अवसर प्राप्त गरेका थिए तर उनी हुनु वा नहुनुमा भारतको परिवर्तनमा कुनै अर्थ राख्दैन।

अतः लक्ष्यलाई अथार्त हाम्रो विचारलाई अग्रस्थानमा राखौं, हिजोका साथिहरु वैद्दजी जो समुन्नत समाजवाद हुँदै अगाडि जाने वहाँको विचार हो, बिप्लवजीको पनि यहीँ विचार हो । प्रचण्डजीको पनि यहीँ विचार हो र बाबुरामजीको पनि यहीँ विचार हो भने विभाजित किन ? विकेन्द्रीत किन ? व्यक्तिगत वरियताको लागि ! जहाँसम्म कसरी पुग्ने भन्ने कुरा छ त्यो रिजिडमा हुँदैन, साधन पटकौ पटक बदल्न सकिन्छ भन्ने कुरालाई आधार मानेर हामी एकाकार हुने हिम्मत गरौं । उपेन्द्र यादवजी, राजेन्द्र महतोजी जोडौं, रविन्द्र मिश्र र उज्ज्वलजीहरुलाई जोडौं, शुशिला वा रविजीहरुलाई जोडौं । गगन थापा र प्रदिप गिरिजीहरुलाई जोड्न सकिन्छ अथवा भनौं अग्रगामी सोच भएका वा समुन्नत समाजवादमा जाने हिम्मत भएका सबैलाई जोड्न सकिन्छ, जोडिन सकिन्छ तर त्यसको लागि वरियता मुर्दावाद भन्न सक्नु पर्दछ ।

म नै परिपुर्ण र पुर्णता छु भन्ने घमण्डलाई त्याग्नु पर्दछ, हामी सबै कोहि पनि पुर्ण छैनौं, सिक्दै अगाडि बढ्ने कुरा हो । हेक्का रहोस कि हामीकहाँ दुई ठुला संरचना विद्दमान जो छन्, यीनले इतिहासमा आफ्नो भुमिका खेलेकै थिए, तिनिहरुकै कारणले हामिहरु आज यहाँ सम्म आइपुग्न सफल भएका छौं । अब अगाडि तिनिहरुबाट नै भविष्यको पनि अर्थात नयाँ युगको पनि नेतृत्व हुनेछ भनेर बुझ्नु गल्ती हुन जान्छ, इतिहासका हरेक कालखण्डमा फिल्मी जगतका नायक नायिका हुन वा राजनीतिक जगतका नायक नायिका हुन फरक फरक हुने गर्दछन् । इतिहासले पुष्टि गर्दछ कि पुरानै संरचनाको गर्भबाट नयाँ वस्तुको जन्म हुन्छ र हुनुपर्दछ । नयाँको जन्म पश्चात् पुरानोको अवशान हुनु इतिहासको नियम हो ।

आजसम्मको विगत इतिहासले यहीँ कुराको पुष्टि गर्दछ । अतः संरचनाका आधारमा विचार बनाउने होइन कि विचारका आधारमा संरचना बनाउने कुरा नै वैज्ञानिक र वस्तुसंगत हुने गर्दछ । मेरो विचारमा यस्तो लाग्दछ, यहाँहरुलाई कस्तो लाग्दछ कुन्नी ! सबैको जय होस ।