ताजा अपडेट »

एका विहानै क्वारेन्टिनमा नाच्न पुग्छन् वडा अध्यक्ष

मंगलबार, ०९ असार २०७७

तिनाउ । तिनाउ नदिसँग मिसिन आउने दोभान खोलाको आडैमा दोभान माध्यमिक विद्यालयलाई क्वारेन्टिनका रुपमा प्रयोग गरिएको छ । विश्वव्यापी कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकाले विद्यालयलाई क्वारेन्टिनका रुपमा प्रयोग गर्दै आएको हो । हरेक दिन विहान हात मुख धुने वित्तिकै क्वारेन्टिनमा पुगेर करिव १ घण्टा योगाभ्यासमा भुल्ने राजेश श्रेष्ठको दैनिकी बनेको छ । श्रेष्ठ पाल्पाको तिनाउ गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का अध्यक्ष हुन् । वैदेशिक रोजगारीबाट घर फर्किएकाहरुलाई राख्न दोभान माविमा गाउँपालिकाले स्थापना गरेको क्वारिन्टिनमा हाल २७ जना बस्दै आएका छन् ।

वडा अध्यक्षनै विहानै क्वारेन्टिन नाच्न पुग्दा उनिहरु पनि खुशी हुन्छन् । क्वारेन्टिनमा घन्किने सालैजो र दोहोरीको सँगीतमय वातावरणले क्वारेन्टिनमा रहेकाहरुलाई मात्र होइन त्यस वरिपरी रहेका गाउँलेहरुलाई पनि नयाँ उर्जा मिल्ने गर्दछ । क्वारेन्टिनमा रहेका सबैको समस्या तथा हालखबर बुझ्न विहानै पुग्ने श्रेष्ठले सबैसँग हाइहल्लोपछि सामाजिक तथा भौतीक दुरी कायम राख्दै खुला चौरमा नाचगान सुरु हुन्छ । औठी बेरुवाको.., ढल्के बर..., फूल डालीमा.. यस्ता थुप्रै गीतका बोलहरु श्रेष्ठलाई मात्र होइन क्वारेन्टिनमा बस्नेहरुलाई पनि कण्ठै भएको छ । विहानको झिसमिसमै करिब १५ मिनेट उफ्रि-उफ्रि नाचेपछि सबैको शरिरमा खलखली पसिना बग्न थाल्छ । एका विहानै तातेको शरिर, सँगीतले फुरुङ्ग भएको मन चर्को चर्को स्वरमा सबैलाई धन्यवाद ज्ञापन गर्दै श्रेष्ठले योगाभ्यासको नियमित कर्मलाई अगाडी बढाउछन् ।

योगाभ्यासमा मनलाई स्थीर राख्ने, शरिरका विभिन्न अङ्गहरु तन्काउने, स्वास-प्रस्वास लगायतका विभिन्न आसनमा अभ्यास गराउने गरेको प्रवक्ता श्रेष्ठले बताए । क्वारिन्टिनमा बसेकाले मात्र होइन सबैले दैनिक योगाभ्यास गर्न आवश्यक रहेको उनले सल्लाह दिन्छन् । विविध आसन, अभ्यास, साधना, ध्यान आदिका माध्यमबाट मन र शरीरलाई जोड्ने प्रक्रिया नै योग हो । पुर्विय दर्शन र शास्त्रहरूमा आदिमकालदेखि नै योग शव्दको प्रयोग हुदै आएको छ । हिन्दू धर्मशास्त्रमा आत्मदर्शन र समाधीदेखि लिएर कर्म क्षेत्रसम्म योगको ब्यापक प्रयोग भएको छ । क्वारेन्टिनमा रहेकाहरुलाई हौसला प्रदानसँगै उनिहरुको स्वास्थ्यका लागि पनि योगाभ्यास गराउने गरेका उनले बताए । ‘हाम्रो मनमा अनेक प्रकारका राम्रा नराम्रा वृत्ति उतपत्ति र लय भइरहेको हुन्छ । योगले मानिसमा आफूभित्र रहेको रोगलाई निरोध गर्न सक्छ ।’-श्रेष्ठले भने ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रणसँग लड्नका लागि नियमित योगाभ्यास र स्वास्थ जीवनशैली महत्वपूर्ण रहेको उनले बताउछन् । गाउँपालिका कार्यालय भवनबाट करिव ५ सय मिटर पारी दोभान खोला तरेर जानु पर्ने तिनाउ-२ मा स्थापना गरिएको क्वारेन्टिनमा बस्नेहरुलाई एकाविहानै मिल्ने उर्जाले दिन काट्न केही सहज हुने गरेको छ । तिनाउ गाउँपालिकाले रोकोना रोकथाम तथा नियन्त्रणका लागि प्रत्येक वडामा क्वारेन्टिन निर्माण गरी सञ्चालन गरिरहेको छ । तिनाउका विभिन्न वडामा गरी ८० जना बढी अहिले पनि क्वारेन्टिनमा छन् । क्वारेन्टिनमा बस्नेहरुको आरडिटी तथा पिसिआर परिक्षणपछि घर पठाउने गरीएको गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तिमगरले बताए । यसका साथै क्वारेन्टिनमा बस्नेहरुको नियमित स्वास्थ्य परिक्षण भैरहेको जानकारी दिए ।

गाउँपालिकाले रोकथाम तथा नियन्त्रणका लागि तानसेन नगरपालिका, माथागढी र वग्नासकाली गाउँपालिकासँग मिलेर संयुक्त आइसोलेशन अस्पताल पनि सञ्चालन गरिरहेको छ । यसका लागि गाउँपालिकाको तर्फबाट ६ लाख ९० हजार उपलब्ध गराइएको अध्यक्ष घर्तिले बताए । यसैगरी कोरोना संक्रमण सम्भावित व्यक्तिहरुको परीक्षणका लागि पिसिआर किट्स खरिद गर्न गाउँपालिकाले २ रुपैया विनियोजन गरेको उनले बताए । गाउँपालिकाले बन्दाबन्दीको अवधिमा विभिन्न संघ–संस्थाहरुको सहकार्यमा ३२ लाख बढीको राहत सामाग्री वितरण गरेको थियो । गाउँपालिकाबाट रोजगारका लागि भारत लगायत अन्य देशमा गएका नागरिकहरुको तथ्याङ्क संकलन गरि उनिहरु घर फर्केको अवस्थामा कम्तिमा २ हप्ता क्वारेन्टिनमा राख्ने व्यवस्था गरिएको उनले बताए ।

अध्यक्ष घर्तिका अनुसार गाउँपालिकाबाट रोजगारका लागि १ हजार ४५८ जना विदेशिएका थिए । जसमध्य १३०० जना अझै पनि विदेशमा रहेका छन् । उनिहरु पनि आउने क्रम जारी रहेको हुँदा नेपाल भारत सिमा नाकाबाट उनिहरुलाई ल्याइसकेपछि व्यवस्थापन गर्न तानसेनमा होल्डिङ क्वारेन्टिन स्थापना गरिएको छ । विभिन्न पालिकाहरुसँग संयुक्त रुपमा निर्माण गरिएको होल्डिङ क्वारेन्टिन निर्माण गर्न तिनाउले १ लाख रकम उपलब्ध गराएको अध्यक्ष घर्तिले बताए ।