ताजा अपडेट »

लकडाउनमा ३२ हजार बालबालिका बिसिजी खोपबाट वञ्चित

मंगलबार, ०९ असार २०७७

काठमाण्डौं । बिसिजी खोप लगाएका देशमा कोरोना भाइरसको संक्रमणबाट हुने मृत्युदर कम भएको विभिन्न अनुसन्धानले देखाइरहेका वेला नेपालमा भने ठूलो संख्यामा बालबालिका बिसिजी खोपबाट वञ्चित भएका छन् । सरकारी तथ्यांकअनुसार कोरोना संक्रमण सुरु भएयता ३२ हजारभन्दा बढी बालबालिकाले बिसिजी खोप लगाउन पाएका छैनन् । 

लकडाउन सुरु भएसँगै बिसिजी खोपमा ठूलो असर परेको छ । परिवार कल्याण महाशाखाका अनुसार चैत महिनामा १२ हजार बालबालिकाले मात्रै बिसिजी खोप पाएको तथ्यांक छ । शिशु जन्मनासाथ बिसिजी खोप लगाउने गरिन्छ । यसले क्षयरोग (टिबी)का साथै भाइरल ज्वरो, श्वासप्रश्वासलगायत अन्य थुप्रै संक्रमणसँग जुध्ने र शरीरको प्रतिरोधी क्षमतालाई मजबुत बनाउने काम गर्छ । 

बेलायत र अमेरिकी अनुसन्धानकर्ताले गत चैतमा बिसिजी (बासिल क्याल्मेट गुएरिन) खोप नलगाउने देशमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको दर धेरै रहेको तथ्य पत्ता लगाएका थिए । ‘यद्यपि बिसिजी खोपले कोरोना भाइरसको संक्रमणबाट हुने मृत्युलाई रोक्ने र संक्रमणलाई कम गर्छ भन्ने यकिन भइसकेको छैन,’ परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले भने । -नयाँ पत्रिका