फागुन २९,
लमजुङ । यसअघि चितवन बसोबास गर्दै आएका गोवर्द्धन गौलीले ‘चितवन चिया उद्योग’ दर्ता गरेका थिए । झापाबाट चियापत्ति चितवन लगेर प्याकिङ गरी उनी आफैँ चियापत्ति बेच्थे । ‘विगतमा चितवनमा साईकलमा चियापत्ति, मसाला र दालमोठ राखेर बेच्थेँ,’ उनी विगत सम्झन्छन् ।
लगत्तै, उनले चितवनमै घरजग्गा कारोबार पनि सुरु गरे । यस व्यवसायबाट उनले केही पैसा आर्जन गरे । प्रगतिशील विचारधाराका गौलीलाई केही साथीभाइले उत्पादनशील क्षेत्रमा लाग्न सुझाव दिए । आफ्नै रहर र साथीभाइको हौसलाले उनलाई कृषिमा लाग्न प्रेरणा मिल्यो ।
कृषि कर्मका लागि उनले आफ्नै पुख्र्यौली थलो, लमजुङको कुन्छालाई रोजे । सुन्दरबजार नगरपालिका–१, कुन्छामा अहिले उनले ‘हिर्कुश एग्रो फर्म प्रालि’ सञ्चालन गरेका छन् ।
५ करोड लगानी, कागती खेतीमा जोड
आफ्नै नाममा रहेको २ सय रोपनी र भाडाको गरी झण्डै ४ सय रोपनी पाखो जग्गामा उनले व्यवसायिक कृषि कर्म अघि बढाएका छन् । उनले मुख्यतया व्यवसायिक कागती खेतीलाई जोड दिएका छन् । उनले ४ हजार ५ सय बोट कागती लगाएका छन् । ५ सय सुन्तलाको बोट लगाएका छन् । उनले सुन कागती–१, सुन कागती–२, तेह्रथुम लोकल जातको कागती लगाएका छन् । उनको फर्ममा ‘हाइटेक नर्सरी’ समेत छ ।
‘हामीसँग हाइटेक नर्सरी छ । १३ वटा ‘सिड्सका मदरप्लान्ट’ छन् । यसबाट साइन निकाल्छौँ । तीनपाते सुन्तलामा जोडेर ‘ग्राफ्टिङ’ गरी बिरुवा बेच्छौँ,’ उनले भने । यस्तै, उनले पाइनएपल, वासिङ्टन जातको जुनार र खुखु, उन्सु, मर्कट, किन्नु र ओतो जातको सुन्तला पनि लगाएका छन् । अहिले उनको नर्सरीमा कागती र सुन्तलाको गरी डेढ लाख बिरुवा छन् ।
‘गएको वर्ष १२ लाखको बिरुवा बेच्यौँ । प्रति बिरुवा ४० रुपैयाँका दरले बेचेका हौँ,’ उनले भन्े, ‘यसवर्ष हामीसँग डेढ लाख बिरुवा छन् । यसवर्ष ४० लाख रुपैयाँ बराबरको बिरुवा बेच्ने हाम्रो लक्ष्य छ ।’ कृषि व्यवसायमा ५ करोड लगानी भईसकेको उनी बताउँछन् । ‘कुल लगानीको ९५ प्रतिशत जति लगानी कागती खेतीमै छ।” उनले भने ।
‘ग्रिनिङ रोग’ले किसान मारमा
गौलीका अनुसार सिँचाईका लागि २ किलोमिटर तल ताप्ले खोलाबाट ‘लिफ्टिङ’ गरी फर्मसम्म पानी ल्याईएको छ । यसका लागि सुन्तला जात बाली विकास परियोजना कीर्तिपुरबाट २० लाख रुपैयाँ बराबरको अनुदान प्राप्त भएको हो ।
उनले आधुनिक प्रविधिको उपयोग गरी व्यवसायिक कृषि कर्म अघि बढाएका छन् । सुन्तला खेतीमा ‘ग्रिनिङ रोग’ले सताउँदा किसान मारमा पर्ने गरेको उनी बताउँछन् । यस रोग नियन्त्रणका लागि राज्यले नै पहलकदमी चाल्नुपर्ने उनको भनाइ छ ।
कागती, सुन्तला र जुनार खेती मात्र होइन, उनले मेवा खेती पनि गरेका छन् । उनी भैँसीपालन र बाख्रापालन व्यवसायलाई पनि विस्तार गर्ने योजनामा छन् ।
‘अहिले हामीसँग ५ वटा भैँसी छ । २० वटासम्म भैँसी पाल्ने र बाख्राको संख्या एक सय पुर्याउने लक्ष्य छ । १२ वटा स्थानीय जातकै बाख्रा छन्।’ उनी भन्छन् ।
समृद्धिको आधार कृषि र पर्यटन
फर्ममा गोवर्द्धनसँगै उनकी श्रीमती तारा भट्टराई गौली, छोरा संवर्द्धन गौली र छोरी पुञ्ज गौली कोइरालाको संयुक्त लगानी रहेको छ । कृषि र पर्यटनको विकासबिना देशको आर्थिक समृद्धि सम्भव नहुने उनको भनाइ छ । पर्यटनका लागि पनि कृषिको विकास हुनु जरुरी छ ।
‘त्यसैले आफ्नै देशमै बसेर कृषिमै केही गर्नुपर्छ भन्ने सोच राखेर कृषि कर्म अँगालेको हुँ,’ उनले भने । उनको फर्मबाट १५ जनाले रोजगारी पाएका छन् ।
थालनी भएको ५ वर्षमै उहाँको कृषि कर्म फस्टाउँदै गएको छ । कृषि कर्ममा सघाउन अष्ट्रेलियाबाट छोरी पुञ्ज र ज्वाइँ विजेश कोइराला नेपाल फर्कन लागेको गोवर्द्धनकी श्रीमती ताराले जानकारी दिइन् ।
‘छोरीज्वाइँ अष्ट्रेलियाको मेलवर्नमा हुनुहुन्छ । उहाँहरुले ‘पीआर’ प्राप्त गरिसक्नुभएको छ । उहाँहरु कृषि कर्ममा सघाउन त्यहाँको ‘पीआर’ त्यागेर नेपाल आउँदै हुनुहुन्छ।, उनले भने । कृषि कर्ममा गर्न सके पैसाकै लागि विदेशिनु नपर्ने गौली दम्पत्तीको सुझाव छ । -श्यामशितल परियार
प्रतिक्रिया