हाम्रो गाउँमा एकजना दाजु हुनुहुन्थ्यो । वहाँका श्रीमतीहरु वहाँलाई छाडेर अर्कैसँग विवाह गर्नुहुन्थ्यो । लगातार चारवटी श्रीमती वहाँलाई छाडेर अर्कैसगँ विवाह गरेर जानुभयो । यसो हुनाको कारण वहाँ रुपमा नराम्रो भएर पनि होइन । सम्पत्ति थोरै भएर पनि होइन । तर, पनि भाउजुहरु वहाँसगँ बस्नुभएन । कारण यो थियो कि, वहाँले भाउजुहरुलाई सार्है अपहेलना गर्नुहुन्थ्यो । अत्यन्तै छुचो र रिसाहा पनि हुनुहुन्थ्यो,भाउजुहरुलाई अत्यन्तै शंका गर्ने र पिट्ने पनि गर्नु हुन्थ्यो । तर, वहाँले ‘मेरै कारणले श्रीमतीले मलाई छाडेर गएका हुन्’ भन्ने समीक्षा कहिलै गर्नु भएन । भाउजुहरु छाडेर जादाँ प्रत्येक पटक हामी कचहरीमा बस्नु पर्दथ्यो ।
वहाँले कहिले कस्लाई कहिले कस्लाई श्रीमती भगाइदिएको आरोप लगाउनुहुन्थ्यो । गाउँघरमा प्रायः यस्ता घटनाहरु घटी रहेका हुन्छन् । श्रीमानले श्रीमतीलाई र श्रीमतीले श्रीमानलाई , देउरानीले जेठानीलाई र जेठानीले देउरानीलाई मनगढन्ते आरोप लगाएको देख्न सकिन्छ । यस्ता खाले काल्पनिक आरोप प्रत्यारोपका कारण कैयौं घर बिग्रिएका छन् । कैयौंको सम्बन्ध विच्छेदसम्म हुने गरेका कैयौं उदाहरणहरु छन् । राजनीतिमा पनि हामिले देख्दछौं कि, एकले अर्कोलाई सिध्याउन पर्यो या बदनाम गर्नु पर्यो भने सिआइडी, सुराकी वा दलाल भनेर आरोपित गरिदिने र बदनाम गर्ने गराउने गरिन्छ । ०३७/३८ सालतिर हामी नेकपा(चौम) मा क्रियाशिल रहँदा नेकपा (माले) पार्टीको (वर्ग शंघर्ष) मालेको मुखपत्र हाम्रो झोलामा फेला पर्यो भने कारवाहीको भागिदार बन्नु पर्दथ्यो । निर्मल लामाजीलाई समेत सिआइडीको आरोप लगाइएको थियो । ०४१ सालको पाँचौ अधिवेशनले मोहन विक्रमजीलाई कारवाही गरेपछि वहाँले ‘पार्टीभित्र सिआइडी र दलालहरुको घुसपेठ’ भनेर लेखनै लेख्नु भएको थियो ।
युद्धकालमा यो क्रम झन बढेर गयो । सिआइडी र सुराकिको आरोपमा कैयौंले युद्दकालमा ज्यान गुमाउनु परेको थियो । सिआइडी, सुराकी र दलाल भनेर आरोपित गरेपछी त्यस्को कुनै प्रमाण पेश गरिरहन नपर्ने र विरोधिलाई सिध्ध्याउन र कमजोर पार्न सजिलो हुने तरिका शाषकहरुले र बेमान नेतृत्वले अपनाउने गर्दछन। तर्क, वहस र तथ्यले पराजित गर्न सकिएन भने अथवा आफू धेरै बदनाम भैसकेर सबैतिरबाट आक्रमण भयो भने आफूूबाट ध्यान अन्यत्रै मोड्नको लागि यो तरिका अपनाउने गरिन्छ । यो कमजोर मानसिकताको उपज वा बेइमान र धुर्त फटाहाहरुले प्रयोग गर्ने हतियार हो । हामी दुइजना केटाकेटिको झगडा हेरौं ( बलियोले हिर्काउँछ, पछार्छ भने कमजोरले टाकेटुहुरा तँ तुरुन्तै मरिहालेस , तेरो सर्वनाश होस् आदि आदि गाली गर्ने गर्दछ । राजनीतिमा प्रायः साशक वर्गले आफ्ना कमजोरी लुकाउन र ध्यान अन्यत्र मोड्नको लागि यो तरिका अपनाउने गर्दछन् ।
अहिले हामी देखीरहेका छौं कि भौतिकवादमा विश्वास गर्ने, लामो अनुभव आर्जन गरेका व्यक्तिहरु समेत यो निम्न स्तरको पंचायती कार्यशैलि अपनाएको देख्दा आश्चर्य लाग्नु स्वभाविकै हो । वस्तुको विकास वा विनासमा मुख्य भुमिका आन्तरिक हो र बाह्य सहायक, राजनीति पार्टि गठन वा बिघटन , सरकार गठन वा विघटन, मानिसको जीवन वा मृत्यु सबै कुरामा यो कुरा लागू हुन्छ किनकि यो विज्ञान हो । तपाईं बिग्रनु वा सप्रनुमा भित्री कारण नै प्रधान हुन्छ भने बाध्य सहायक । यो कुरा जानेका बुझेका मानिसहरु किन आज अज्ञानि जस्ता बनेका देखिन्छन् । वर्तमान सरकारले इतिहासमा अकल्पनीय परिणाम सहित समाजवादको एजेण्डा बोकेर ‘सुखी नेपाली समृद्ध नेपाल’ को नारा सहित सत्ता सम्हालेको थियो । तीनवर्ष पुग्दै गर्दा यसले जनताका कुनै पनि एजेण्डामा प्रवेश गरेन । समाजवादी यात्रा गर्नुको साटो विपरित दिशाको यात्रा प्रारम्भ गर्यो । गलत क्रियाकलाप र भ्रष्टाचारका अनेकौं कीर्तिमाने कायम गर्यो ।
सरकारका जनविरोधी कार्य र भ्रष्टाचारको विरोधमा विपक्षी मात्रै होइन स्वयम् सत्ता पक्षकै बिसौ नेताहरुले आवाजहरु उठाउँदै आउनुभएको छ । पुर्ब प्रधानमन्त्री बाबुराम भट्टराईले यो भ्रष्टाचारको अन्त्यको निम्ति हामी पुर्व प्रधानमन्त्रीहरुबाटै भ्रष्टाचार छानबिनको सुरुवात गरौं ,हामी अर्काको जडौरी मागेर लगाउनेहरुका काठमाण्डौमा आलिसान महल कसरी हुन पुगे । यहीँ बिन्दुबाट सुरुवात गर्यौ भने भ्रष्टाचार निर्मुल गर्न सकिन्छ भनेर सदनमै बोल्नुभएको थियो तर सरकारले यी कुनै पनि आवाजहरुको सुनुवाइ गरेन, बरु पछिल्ला दिनहरुमा भ्रष्टाचार अझै सस्थागत हुँदै गयो ।
यी सबै गतिविधिको बिचमा उनिहरुकै पार्टीले सरकारको राजिनामा नै माग गर्यो तर त्यो कुरा पनि सरकारले कार्यान्वयन गरेन । बहुमत स्थायी कमिटी सदस्यहरुले बैठकको माग गरे , तर अहँ सरकार सुन्दैन टेर्दैन र कसैलाई गन्दैन ।
कोरोना महामारी आइसकेपछी पनि सरकारले भ्रष्टाचार गर्न छाडेन । संसदबाट १०अरब रुपैयाँ कोरोना नियन्त्रणमा खर्च भएको अभिव्यक्ती दिएपछी युवाहरु बढी आक्रोशित हुन पुगे । सरकारका गलत चिन्तन, व्यवहार र प्रवृतिका विरुद्ध जब युवाहरु स्वतस्फूर्त रुपमा सडकमा उत्रन्छन, अनि कतिपय मान्छेहरु कोकोहोलो गर्छन्, चिच्याउँछ , हाहाकार मच्चाउँछन र भन्दछन् कि लौ बर्बाद भयो , त्यहाँ उनिहरु भारतीय खेल देख्दछन्, काङ्ग्रेस पसेको, जसपा वा साझा पार्टी पसेको वा यो अरुकै उक्साहाटमा गरिएको भनेर बर्बराउन थाल्दछन् । कसरी भन्ने प्रश्नको जवाफमा महङ्गा क्यामरा, राम्रा अक्षरमा लेखिएका प्लेकार्ड ,सुकिला मुकिलाका छोराछोरी केहि उत्यौला नाराहरु आदि इत्यादी । एक्काइसौं शताब्दीका महानुभावहरु हो ! आफूूतिर फर्कने गरौ , आफ्ना कमजोरीहरु खोतल्ने गरौं, कमजोरी भएको भए जनतासगँ क्षमायाचना गर्ने गरौं, सडकमा युवाहरु आउनुको कारण सरकारका गलत क्रियाकलाप कै कारण हो भन्ने चेतना किन नआएको होला । जहाँसम्म कोरोना महामारीको बेलामा नै किन आए भन्न प्रश्न हो ।
माया पिरती र आन्दोलन दिन हेरेर, जात हेरेर, उमेर हेरेर, योग्यता हेरेर हुने गर्दैन। हिन्दीमा एउटा भनाई छ ‘प्यार किया नहि जाता हे हो जाता है ।’ ठीक त्यस्तै बिमती, विद्रोह वा संघर्षहरु पनि कुनै मापदण्ड भित्र हुने गर्दैनन् । संसारभरिका आन्दोलन, बिद्रोहहरु सिमारेखाको परिधिभित्र भएका थिएनन् ।यो वस्तुगत परिस्थितिले हुने कुरा हो । मानौं कि ती युवाहरु अन्य कसैको योजनामा आएका थिए भन्ने हो भने पनि तिनिहरुले उठाएका विषयवस्तुहरु वस्तुसंगत छन्, यथार्थ परक छन् । ती आफ्ना कमजोरीहरु सच्याउ, जनतालाई उन्नत स्तरको डेलिभरी देउ, राम्रा काम गरेर देखाउ, इमानदार बन अनि अरु कसैले तिम्रा विरुद्ध परिचालन गर्ने मौका नै पाउने छैन । पुरानो उखान छ ‘आफ्नो थैलाको मुख बलियो बाध्नु, साथीलाई दोष नदिनु“ यसरी सोँच्ने कि नसोँच्ने । बिमार भएको श्रीमतीलाई अस्पताल पुर्याएर उपचार गर्ने कि छिमेकमा कोको बोक्सिनी (कथित) छन् भनेर खोज्दै हिड्ने ।
एक्काइसौं शताब्दीका महानुभावहरु! हेक्का रहोस् कि जनता एकपटक झुक्किन सक्दछन् । एकपटक नक्कली कारोबार गर्न सकिन्छ । तर, पटक–पटक सकिदैन । जनतालाई बेवकुफ र मूर्ख सम्झने कोसिस नगरौं । ध्यान रहोस् कि, तीन वर्षको सरकारको कर्म र व्यवहारले जनताका आँखा खुल्दै जान थालेका छन् ।’ एकाइसौं शताब्दीका सचेत युवाहरुलाई ( नयाँ जेनेरेसन ) खेलवाड ठान्ने गल्ती नगरौं । विवेकहीन प्राणि भनेर नसोँचौं। विषयलाई सबैभन्दा छिटो बुझ्ने र ग्रहण गर्ने भनेकै नयाँ पुस्ता हो । यसर्थ ढाँट ,छलकपट र बेइमानी, आरोप–प्रत्यारोपले अब काम चल्दैन । अतः सडकमा पोखिएका हजारौं हजार यी युवाहरुका भावना र विचारहरुको सम्मान गरौं । हामी सबैले विगतको आत्मा समीक्षा गरौं । विगतका गल्ती कमजोरीबाट पाठ सिक्दै अगाडि बढौं । यसैमा हामी सबैको भलो छ । मैले यसरी सोँचें । यहाँहरुले कसरी सोँच्नु हुन्छ कुन्नी ।
प्रतिक्रिया