ताजा अपडेट »

८० मिटर लामो अकला गुफा संरक्षणकोे पर्खाइमा

शुक्रबार, ०५ असार २०७७

नवलपुर। नवलपुरको पहाडी क्षेत्र अन्तरगत पर्ने बौदिकाली गाउँपालिका-२ डेढगाउँको अकला गुफाको संरक्षण र प्रर्वद्धन नगरिदा ओझेलमा परेको छ । पर्यटनको सम्भावना रहेको यो गुफा करिब ८० मिटर लम्बाइको छ । गुफाको एक भागबाट अर्कोभागमा निस्किदा  धेरै जसो स्थानमा उठेरै  पार गर्न सकिन्छ । मुख्य प्रवेशद्धार र भित्री भागमा सरसफाई नहुँदा पर्यटक भित्र प्रवेश गर्न खोज्दैनन् ।

बर्षामा भलपानीसहित प्लाष्टिकजन्य फोहर र माथिल्लो भागबाट फोहर सहितको पानी पस्दा यस क्षेत्रलाई दुर्गन्धित बनाउने गरेको छ । यसको व्यवस्थापन र सरसफाईमा भने कसैको ध्यान जान सकेको छैन् । चमेराको बथानसहित भित्री भित्तामा देखिनेकलात्मक आकृतिले गुफाको आकर्षण बढाएको छ । गुफाको संरक्षणको लागि अकलादेवी मन्दिर तथा अकला  गुफा संरक्षण समिति बनाइएको छ । पर्यटकीय संभावनाको क्षेत्र बन्न सक्ने भएकाले यसको संरक्षण र प्रर्वद्धनका लागि समिति निर्माण बनाएर काम थालिएको समितिका अध्यक्ष हरि सारुमगरले बताउनुभयो । अकलादेवी मन्दिरसँगै  गुफा छ । मन्दिर आउने आन्तरिक तथा बाह्य पर्यटकलाई गुफासम्म पु¥याउन सके गुफाको महत्व बढने समितिका अध्यक्ष सारु मगरले  बताउनुभयो । निर्माणाधिन कालिगण्डकी करिडोरसँगै गुफा रहेको छ ।

यसको व्यवस्थापन, भित्र अध्यारोमा बत्तिको व्यवस्था गर्न सके डेढगाउँसम्म आउनेहरुका लागि  यो अवलोकनको प्रमुख स्थान बन्नसक्ने उहाँले बताउनुभयो । गुफासहित अकलादेवी मन्दिर संरक्षण तथा व्यवस्थापनका लागि डिपिआर तयार गरी केन्द्रीय योजनामा समावेश गराउने पहल गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिपचन्द्र सुवेदीले बताउनुभयो । यसको विकासको लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशबाट रु. ४० लाख बजेट विनियोजन भएको अधिकृत  सुवेदीले बताउनुभयो ।