ताजा अपडेट »

आर्सनलमाथि सिटीको सहज जित

विहीबार, ०४ असार २०७७

काठमाडौं । कोरोना महामारीका कारण रोकिएको इंग्लिस प्रीमियर लिग पुनः सुरु भएको छ । सञ्चालन भएपछिको पहिलो खेलमा म्यान्चेष्टर सिटीले आर्सनललाई ३–० ले हराएको छ । बुधबार राति भएको खेलमा १० खेलाडीमा सिमित रहेको आर्सनलमाथि सहज जित निकालेको हो । सिटीका लागि रहिम स्टर्लिङ, केभिन डी ब्रुईन र फोडिनले एक एक गोल गरे ।

खेलमा सिटीका लागि मिडफिल्डर ब्रुइनले उत्कृष्ट प्रदर्शन गरे । उनले सिटीको जितमा एक गोल र एक असिस्ट गरेका छन् । पहिलो हाफको इन्जुरी समयमा ब्रुइनको पासमा रहीम स्ट्रलिङले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरुमै आर्सनल १० खेलाडीमा समेटियो । दोस्रो हाफमा पेनाल्टी बक्सभित्र रियाद महरेजमाथि फल गरेपछि सिटीले पेनाल्टी प्राप्त गर्यो । पेनाल्टीको सदुपयोग गर्दै ब्रुइनले सिटीको अग्रता दोब्बर पारे ।

त्यसपछि खेलको इन्जुरी समयमा फिल फोडेनले गोल गर्दै सिटीलाई ३-० को जित दिलाए । जितसँगै सिटीले शिर्ष स्थानको लिभरपुलसँगको अंक दुरि घटाएको छ । सिटी २९ खेल खेल्दै ६० अंक जोडेर दोस्रो स्थानमा रहँदा, समान खेल खेलेको लिभरपुलको ८२ अंक छ । पराजित आर्सनल भने ४० अंकसहित नवौं स्थानमा छ ।