घोराही । दाङमा थप दुईवटा मेशिनबाट कोरोना परिक्षण सुरु भएको छ । कोरोना परीक्षण गरिरहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुईवटा मेशिन थप भएपछि परिक्षणको दायरा बढेको छ । प्रतिष्ठानमा दुईवटा मेशिन थपभएपछि अब एकैदिनमा १ हजार बढीको कोरोना परीक्षण गर्न सकिने प्रतिष्ठानका उपकुलपति डा. संगीता भण्डारीले जानकारी दिइन् । प्रतिष्ठानले बुधबारमात्रै ७ सय बढीको कोरोना परिक्षण गरेको उनले बताइन् ।
यसअघि एउटामात्रै मेशिन हुँदा दैनिक २ सयदेखि २५० जनाको मात्रै स्वाब परीक्षण हुने गरेको थियो । दाङमा बैशाखको १२ गतेदेखि प्रतिष्ठानमा कोरोना परीक्षण सुरु भएको हो । जिल्लामा कोरोना परीक्षण सुस्त गतीमा भइरहेको गुनासो आइरहेको समयमा प्रतिष्ठानले एकै पटक ठूलो संख्यामा परीक्षणको दायरा बढाएको छ । प्रतिष्ठानमा अहिले पनि दाङको मात्रै झण्डै ४ हजार स्वाब परीक्षणको पर्खाइमा छ । प्रतिष्ठानमा दाङसहित सल्यान, रोल्पा, प्युठान, बाँके, कपिलवस्तु, नवलपरासी पश्चिमलगायतका जिल्लाको स्वाव परीक्षण हुने गरेको छ ।
प्रतिष्ठानमा ५ हजार बढी स्वावले परीक्षणको पालो पर्खिरहेको छ । सीमित स्रोत र साधनका बावजुत पनि कोरोना जस्तो महामारीमा खटेर परीक्षणको दायरा बढाएको भन्दै प्रतिष्ठानले ल्याबमा खट्ने स्वास्थयकर्मी र चिकित्सकलाई धन्यवाद ज्ञापन गरेको हो । देशभरिमै कोरोना परीक्षण गर्नेमा दाङ अग्रपङ्त्तिमै रहेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । अहिले काठमाडौं र जुम्लापछि दाङको प्रतिष्ठानमा धेरै सङ्ख्यामा कोरोना परीक्षण हुनेमा चौथो स्थानमा छ ।
प्रतिक्रिया