ताजा अपडेट »

भारत-चीन तनाव बढ्दै : मोदीले भने, उक्साहटको जवाफ दिन तयार छौं

बुधबार, ०३ असार २०७७

बुटवल । भारत–चीन सीमा नाका लद्दाखमा एक कर्नेलसहित २० जना भातीय सैनिकको ज्यान जानेगरी भएको घटनाका बारेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो पटक बोल्दै भारत कुनै पनि उक्साहटको जवाफ दिनका लागि तयार रहेको उल्लेख गरेका छन् ।

आफ्नो ४ मिनेट १२ सेकेण्डको भिडियोमा बोल्दै मोदीले भनेका छन्-‘भारतीय सैनिकको बलिदान व्यर्थ जाने छैन । देशको संप्रभुता नै सर्वोच्च हो । देशको रक्षा गर्नका लागि हामीलाई कसैले रोक्न सक्दैन । यस बारेमा कसैलाई पनि थोरै पनि भ्रम वा संदेह हुनुहुँदैन ।’ भारतको चर्चित भारतीय पत्रिका दैनिक भाष्करले प्रधानमन्त्री मोदीलाई उद्धृत गर्दै लेखेको छ-‘भारतले शान्ति चाहान्छ । तर भारतलाई उक्साइयो भने त्यसको जवाफ दिनका लागि सक्षम छ ।’ प्रधानमन्त्री मोदीले सबै राज्यका मूख्यमन्त्रीहरुलाई कुनै पनि बैठक अघि घटनामा ज्यान गुमाएका सैनिकहरुको सम्झनामा २ मिनेट मौनधारण गरी श्रद्धाञ्जली व्यक्त गर्नका लागि आग्रह गरेका छन् । मोदीले सिमा क्षेत्रमा भएको घटनामा भारतीय पक्ष जिम्मेवार नभएको उल्लेख गरे ।

यसैगरी एजेन्सीहरुका अनुसार चीनले पनि सीमा क्षेत्र गलवान घाटीमा भएको घटनाका आफुहरु जिम्मवार नभएको बताएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भने, ‘गलवान भ्यालीमा भएको तनावमा सही र गलत स्पष्ट देखिन्छ । यो घटना एलएसीको चीनको क्षेत्रभित्र भएको छ ।

यसका लागि चीनलाई जिम्मेवार ठहर गर्न मिल्दैन ।’ ‘गलवान घाटीको सम्प्रभुता सधैं चीनमा नै निहित छ’ उनले भने ‘भारतीय सैनिकले बोर्डर प्रोटोकल र हाम्रो कमान्डर स्तरको कुराकानीमा भएको सहमतिको गम्भीर उल्लंघन गरे ।’ उनले सीमा क्षेत्रमा भारतसँग थप संघर्ष नचाहेकोसमेत बताएका छन् ।