ताजा अपडेट »

नेयमार र एमबाप्पे पीएसजीमै रहने

सोमबार, ०१ असार २०७७

काठमाडौं । ब्राजिलियन स्ट्राइकर नेयमार र फ्रेन्च युवा स्ट्राइकर केलियन एमबाप्पे परिस सेन्ट जर्मन (पीएसजी) मै रहने बताइएको छ ।  फ्रेन्च क्लब पीएसजीका स्पोर्टिङका प्रबन्धक लियोनार्दोले नेमार र एमबाप्पेलाई अर्को ट्रान्सफर विन्डोजमा पीएसजीबाट प्रस्थान गर्ने कुनै कारण नभएको बताए । 

पीएसजीले कीर्तिमानी गोलकर्ता एडिन्सन काभानी र कप्तान थियगो सिल्भालाई रिलिज गरेको छ । तर नेयमार र एमबाप्पे विश्व फुटबलकै उच्च मूल्यवान् खेलाडी हुन् । “उनीहरूको सम्झौतामा अझै दुई वर्ष छ । हामी मुख्य रूपमा उनीहरूसँग पछि के हुन्छ भनेर सोच्दै छौं । हामी अगाडि बढ्न चाहन्छौं,” लियोनार्दोले भने ।  फ्रान्सेली विश्वकप विजेता एमबाप्पे स्पेनिस क्लब रियल मड्रिड र प्रिमियर लिग क्लब लिभरपुललगायतसँग जोडिएका छन् । तर उनी अन्य क्लबमा अनुबन्ध हुनु नाटकीय परिवर्तनबाहेक अरू कुनै सम्भावना नरहेको उनको भनाइ छ । 

“उनी पीएसजीको भविष्य हुन र सबैजना उनी पेरिसमै रहेको चाहन्छन्,” लियोनार्दोले भने, “नेयमार र एमबाप्पे दुवैको सम्झौता २०२१–२२ सिजनको अन्त्यमा समाप्त हुनेछ ।” उनले नेयमार र एमबाप्पेलाई पीएसजीमै राख्दा धेरै फाइदा हुने भन्दै अर्को सिजनका लागि प्रमुख कोचा पनि थोमस टुचेल नै रहने बताए ।