ताजा अपडेट »

एसईई नहुने भएपछि अब के गर्ने ?

सोमबार, ०१ असार २०७७

शिक्षा जीवनको आलोक हो । प्रतिष्पर्धात्मक २१ औँ शताब्दीमा शिक्षाबिना जीवन अपुरो र अधुरो हुन्छ । शिक्षाबाट ज्ञान र ज्ञानको तहबाट चेतना बढ्छ । चेतनाले मानव समाजलाई परिवर्तन, प्रगति र सभ्यताको पाठ सिकाउँछ । शिक्षा जीवनमा सङ्घर्षको अनुभवबाट पनि पाइन्छ । हुलमुलमा ज्यान जोगाउनु अनिकालमा बिउ जोगाउनु भने झैँ परिस्थितिलाई बुझेर जीवनमा पाइला चाल्नुमा नै बुद्धिमानी हुन्छ । कोरोना भाइरसको महामारीद्वारा सिर्जित परिस्थितिका कारण स्थगित भएको–२०७६ सालको एसईई परीक्षा नहुने भन्ने सरकारको निर्णयको तरङ्ग देशैभर छाएको छ ।

अहिले नेपाल सरकारले कोरोना भाइरसको महामारीका कारण निर्धारित समयको करिब तीन महिना पछाडि आएर यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नगर्ने निर्णय गरेको छ । यसले परीक्षाको अन्योलमा रहेका विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालयहरूको एउटा चिन्ताको निदान त गरेको छ तर अब विद्यार्थीले कस्तो तरिकाले ग्रेडसिट प्राप्त गर्ने ? कसरी प्राप्त गर्ने ? विषयगत ग्रेड कुन आधारमा कति पाउने ? भन्ने विषयको शैक्षिक बहस र जिज्ञासाहरू उद्धेलित भइरहेका छन् । परीक्षा नहुँदा आफूले पछिल्लो अवस्थामा तयारी गरेअनुसार ग्रेड प्राप्त नहुने पो हो कि ? छोराछोरीले कति जिपिए पाउलान् ? राम्रो जिपिए ल्याउन लभिङ पो गर्ने हो कि ? विद्यालयले विद्यार्थीलाई राम्रो जिपिए राखेर पठाउँदा के पो हुन्छ ? यी र यस्तै अनगिन्ति प्रश्न अहिले विद्यार्थी र अभिभावकको मन मस्तिष्कमा उब्जिरहेको छ । के सफलता भनेको विद्यार्थीले प्राप्त गर्ने जिपिए मात्रै हो त ?

विद्यार्थीले प्राप्त गर्ने ग्रेडसिटले विद्यार्थीको शैक्षिक मापन र मूल्याङ्कन गर्दछ । अवश्य पनि शैक्षिक सफलता जीवनसँग अभिन्न रूपले जोडिएको हुन्छ । तर, शैक्षिक सफलता मात्रै जीवनको पूर्णता भने होइन । जीवनमा सफलता प्राप्तिका लागि शैक्षिक उत्कृष्टतासँगै धैर्य, साहस, लगनशीलता, इमानदारिता, त्याग, समर्पण र निरन्तरको लगाव चाहिन्छ । तर,शिक्षा ऐनको आठौँ संशोधनले विद्यालय शिक्षाको संरचनालाई परिवर्तन गरेको ४ वर्ष बितिसक्दा पनि नेपाली समाजमा एसएलसीको धङधङी हटेको छैन । अझै पनि कक्षा १० को एसईई परीक्षालाई लिएर विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालयहरूले लाएको बानी छोडेर कहाँ जानी भने जस्तै पुरानो शैक्षिक संरचनाको संस्कार र छापलाई त्याग्न सकेको देखिँदैन भने शिक्षा मन्त्रालयले समेत संशोधित शिक्षा ऐनअनुसार कक्षा १० को परीक्षालाई नयाँ ढङ्गले व्यवस्थित गर्न सकेको छैन ।

कोरोना महामारीको प्रतिकूल अवस्थामा शिक्षाविद् र सरोकारवालाहरूको सुझाव अनुसार जेठ २८ गते बुधबारको मन्त्रीपरिषद्को वैठकले एसईई नगर्नेे निर्णय गरेको छ । अड्को–पड्को तेलको धूप भने झैँ कोरोना महामारीका कारण परीक्षा लिने उपयुक्त वातावरण नहुँदा विद्यालयले लिएको आन्तरिक परीक्षाको मूल्याङ्कनलाई आधार मानी विद्यार्थीहरूलाई मर्का नपर्ने गरी ग्रेडसिट उपलब्ध गराउने कुरा शिक्षा मन्त्रालयले गरिरहेको छ । यस सम्बन्धमा विद्यालयले एसईई हुनुभन्दा पूर्व विद्यालयले लिएको परीक्षाको मूल्याङ्कनलाई स्थानीय तहमा कक्षा ८ को परीक्षा सञ्चालन गर्न बनेको संयन्त्रबाट सिफारिस गर्ने, उक्त कामको अनुगमन प्रदेश सरकारले गर्ने र राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गरी विद्यार्थीहरूलाई ग्रेडसिड उपलब्ध गराउने प्रस्तावबारे मन्त्रालयले छलफल चलिरहेको कुरा समाचारमा आइरहेका छन् ।

अहिले विद्यार्थीहरूलाई कसरी र के आधारमा ग्रेडसिट प्रदान गर्ने भन्ने बारे मन्त्रालयले स्पष्ट निर्देशिका भने जारी गरिसकेको छैन । यद्यपि विद्यार्थीहरूको मूल्याङ्कन र ग्रेड निर्धारण गर्ने सम्बन्धमा छिटै निर्देशिका जारी गर्ने कुरा मन्त्रालयले बताएको छ । एसईई परीक्षा नहुने सुनिश्चित भएपछि अब के गर्ने भन्ने चिन्ता, चासो र यसबारे बहस सुरु भएको छ । परीक्षा नहुने पक्का हुँदा विद्यार्थीहरू ढुक्क भएर बस्नु हुँदैन । परीक्षा यो वर्ष नभए पनि अर्को वर्ष अर्को कक्षाको परीक्षा त अवश्य हुन्छ । शैक्षिक परीक्षामा राम्रो ग्रेड प्राप्त पनि गरिएला तर, निरन्तर अध्ययनमा लाग्नु विद्यार्थीको कर्म हो । उत्कृष्ट जिपिए ल्याउने गरी एसईई दिने चाहनामा पूरा हुन नसके पनि आगामी शैक्षिक यात्रालाई अब्बल साबित गर्न निरन्तर अध्ययन गर्नै पर्छ ।

यतिबेला विद्यार्थीहरूले आफूले कक्षा ११ मा पढ्ने विषयहरूको बारेमा चासो राख्ने, सन्दर्भ सामग्रीहरू बटुल्ने, इन्टरनेटबाट आफूलाई आवश्यक पर्ने विषयसँग सम्बन्धित भिडियो, डकुमेन्ट्री लगायत सामग्रीहरू अवलोकन र अध्ययन गर्ने, घरायसी काममा आमाबुबालाई सघाउने, सकारात्मक र रचनात्मक काममा ध्यान लगाउने, परिस्थितिलाई बुुझेर समयको सही सदुपयोग गर्ने, परिवारका सदस्यहरूसँग बसेर समय सान्दर्भिक छलफल र बहस गर्ने, सङ्घर्ष र साहसका कथा, जीवनी र इतिहास पढ्ने, नेपाली माटो, भूगोल र राष्ट्रियताका सम्बन्धमा जानकारी राख्ने, समाजमा रहेका कुप्रथा र कुरीतिहरूबाट बच्ने उपायहरू सिक्दै तथा बुभ्mदै जाने आदि गरेर समय व्यतित गर्नुपर्दछ ।

यसो गर्दा आगामी शैक्षिक यात्रा मात्र नभएर जीवनशैली पनि सरल र सहज बन्दछ । अर्कोतर्फ अभिभावकले पनि आफ्ना छोराछोरीको नतिजाको भन्दा वर्तमान र भविष्यको बारेमा विचारविमर्श गर्ने, उच्चतम ग्रेडका लागि नछट्पटिने, उचित संस्कारमा जोड दिने, छोराछोरीलाई घरायसी छलफलमा सहभागी बनाउने, घरायसी व्यावहारिक ज्ञान र सीप सिकाउने, छोराछोरीको चञ्चले स्वभावलाई सिकाइमा बदल्ने प्रयास गर्ने आदि कुरा गर्नुपर्दछ । विद्यार्थी र अभिभावकसँगै विद्यालय र शिक्षकहरूलाई पनि एसईईको नतिजाका सम्बन्धमा चिन्ता र चासो झन् बढी छ । वर्षभरि पढाएका विद्यार्थीले अन्त्यमा आएर क्षमता प्रदर्शन गर्न नपाउँदा अवश्य पनि खसखस त लागिहाल्छ नै ।

तर, विद्यार्थीहरूको आन्तरिक मूल्याङ्कन अनुसार प्रारम्भिक नतिजा तयार गर्ने जिम्मा शिक्षककै काँधमा आउने सम्भावना देखिन्छ । यसरी विद्यार्थीमा देखिएको अन्योल, अभिभावकको चिन्ता र विद्यार्थीको नतिजाका निम्ति विद्यालयहरूमा देखिएको असमन्जस हटाउने मुख्य आधार भनेको नै मन्त्रालयले जारी गर्ने मूल्याङ्कन निर्देशिका हो । अहिले परिस्थितिमा शिक्षा मन्त्रालयले एसईईका विद्यार्थीहरूलाई के कस्तो आधारबाट ग्रेडसिट के कसरी उपलब्ध गराउने भन्ने बारे गृहकार्य र मूल्याङ्कन निर्देशिका जारी गर्ने तयारी गरिरहेको छ । मन्त्रालयले जारी गर्ने निर्देशिकाले वर्तमानमा देखिएको एसईई मूल्याङ्कनको आधार तय गर्नेछ । उक्त निर्देशिकाले विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा विद्यार्थीहरूको नतिजा विवरण पठाउने जिम्मा सम्बन्धित विद्यालयलाई दिने सम्भावना प्रबल छ । यस्तो अवस्थामा विद्यालय र शिक्षकले शिक्षण पेशाको मर्यादा, इमानदारिता र विश्वसनीयता जोगाउन जरुरी छ ।

एसईई नभए पनि यसरी विद्यार्थीहरूलाई प्रदान गरिने ग्रेडसिट भरपर्दो र विश्वासिलो हुनुपर्दछ । विद्यालयको गरिमा, अभिभावकको दबाब, शिक्षकको भावनात्मक उदारता र उच्चतम जिपिए प्रदान गर्ने अनावश्यक होडबाजीमा नतिजा तयार भयो भने यसले विद्यार्थीहरूमा दीर्घकालीन असर गर्दछ । तसर्थ विद्यार्थीको वास्तविक क्षमतालाई हृदयङ्गम गरी एसईईको नतिजा विद्यालयहरूले तयार गरेमा यसको प्रतिफल राम्रै हुन्छ । तर मौकामा चौका हानौँ न त भन्ने प्रवृत्ति हावी भए यस वर्षको एसईईको नतिजा इतिहासकै उत्कृष्ट हुने त छ तर आगामी वर्ष कक्षा ११ को नतिजा उल्टो गतिमा फर्किने पक्का छ । तसर्थ यो वर्षको एसईईको नतिजाले विद्यालय र शिक्षकहरूको अग्निपरीक्षा सफल होओस्, शुभकामना ।