ताजा अपडेट »

भर्चूअल रुपमा प्रतियोगिता गर्ने क्रम बढ्दो

सोमबार, ०१ असार २०७७


अमेरिकामा अनलाइन भिडियो च्याम्पियनसिपको आयोजना

टेक्सस । अमेरिकाको ओरेगन राज्यको पोर्टल्याण्डमा बस्दै आएका तेक्वान्दो खेलका प्रशिक्षक दिवाकर महर्जन अहिले भच्र्यूअल रुपमा पुम्से प्रतियोगिता आयोजनाको निम्ति जुटिरहेका छन् । महर्जन निर्देशक रहनुभएको इन्टरनेशनल ओपन फ्रेन्डसिप तेक्वान्दो तेक्वान्दो च्याम्पियनसिपले लकडाउन कोभिड–१९ पुम्से अनलाइन भिडियो च्याम्पियनसिप २०२० आयोजना गर्दैछ । संस्थाले भौतिक सहभागिता सहीतको १३ औं अन्तराष्ट्रिय खुल्ला प्रतियोगिता गत मे १ र २ मा अमेरिकाकै मिचिगन राज्यमा आयोजना गर्ने गरी तयारी गरेको थियो । तर, कोभिड–१९ कारण त्यस प्रतियोगिता हुन सकेन । र अवस्था कहिले पूर्ण रुपमा सुध्रने हो अनि जनजीवन समान्य बन्ने हो भन्ने निश्चित नभइरहेको अवस्थामा संस्थाले अनलाइन भिडियो च्याम्पियनसिपको योजना अगाडि सारेको हो ।

‘खेलाडीहरुको प्रतिभालाई प्रस्फुटन हुने मौका दिनुपर्दछ, जे जस्तो परिप्रेक्ष्यमा पनि खेलाडीहरुलाई खेल प्रति लगाव बढाइरहन जरुरी हुन्छ ।’ पोर्टल्याण्डमा तेक्वान्दो स्कूल समेत सञ्चालन गर्दै आएका तेक्वान्दोका प्रशिक्षक महर्जनले भने–‘खेलाडीहरुले आफ्नो कला देखाउन पाउन भनेर अनलाइन भिडियो च्याम्पियनसिप गर्न लागिएको हो । यसले खेलाडीहरुलाई हौसला प्रदान गर्नेछ ।’प्रतियोगिता २ चरणमा गरिनेछ । पहिलो चरणमा कलर बेल्टका बीचमा भिडियो अनलाइन प्रतिष्पर्धा हुनेछ भने दोस्रो चरणमा ब्लाक बेल्टका बीचमा प्रतिष्पर्धा हुनेछ ।

पहिलो चरणमा सहभागि हुने खेलाडीहरुले जुन २० भित्र आफ्नो भिडियो प्रतिष्पर्धाका लागि पठाउनुपर्नेछ भने दोस्रो चरणमा सहभागि हुने खेलाडीहरुले जुन २१ पछि जुलाई ११ भित्र भिडियो पठाइसक्नुपर्ने छ । उमेर समुह अनुसार महिला तथा पुरुषका विभिन्न डिभिजन गराएर प्रतिष्पर्धा हुने जानकारी दिँदै महर्जनले तेक्वान्दोका अन्तराष्ट्रिय रेफ्रीहरु समावेश निर्णायक समुह बनाइएको बताए । बढीमा दुई मिनेटको भिडियो पठाउनुपर्ने बताउँदै उनले भिडियो पठाउने समय सकिएको दिनपछि बढीमा एक हप्ता भित्रमा निर्णय दिइने जानकारी दिए ।

पछिल्लो समय भच्र्यूअल रुपमा प्रतियोगिता आयोजना हुने क्रम बढेको छ । केही समय अघि मात्र युएस वल्र्ड क्लास तेक्वान्दो एशोसिएन एण्ड गुडविल कर्पोरेशन सर्भिसको आयोजनामा भच्र्यूअल इन्टरनेशनल तेक्वान्दो च्याम्पियन सिप, अमेरिकामा , फ्रस्ट–२०२० अनलाइन वल्र्ड पुम्से च्याम्पियनसिप, फ्रान्समा र फ्रष्ट–२०२० अनलाइन डेडो ओपन युरोपियन पुम्से च्याम्पियनसिप, जर्मनीमा सम्पन्न भएको थियो । जसमा नेपालबाट समेत धेरै खेलाडीको सहभागिता रहेको थियो ।यस्ता अनलाइन प्रतियोगिताहरुले खेलाडीलाई आफ्नो कला देखाउने अवस्थाको निर्माण गरिदिएको युनिभर्सल युनाइटेड नेपलिज तेक्वान्दो फेडेरेशनका महासचिव लभ गोर्खाली बताउँछन् ।

अहिलेको विषम् परिस्थितिमा जसरी अनलाइन प्रतियोगिताको आयोजना भैरहेको छ, यसले खेलाडीहरुलाई हौसला प्रदान गर्दछ । मिचिगनमा तेक्वान्दो स्कूल सञ्चालन गर्दै आएका तेक्वान्दोका प्रशिक्षक गोर्खालीले भने–प्रतियोगिता नहुँदा खेलाडीमा अलि उत्साह पनि कम हुने गरेको देखिन्छ, अहिले भौतिक रुपमा प्रतियोगिता गर्ने अवस्था छैन, यो बेला अनलाइन च्याम्पियनसिपको अवधारणा आउनु निकै सुखद पक्ष हो ।’

त्यसो त अनलाइन माध्यमवाट प्रतियोगिता आयोजना भएर खेलाडीहरुले आफ्नो खेल कौशल देखाउने मौका पाइरहेको लक्ष्मण बहादुर एैर क्षेत्री बताउँछन् । नेपाल पुलिस क्लबका तेक्वान्दो प्रशिक्षक तथा खेलाडी उनले अनलाइन च्याम्पियन सिपमा सहभागि भई स्वर्ण पदक समेत जितिसकेका छन् । नेपालबाट खेलाडीहरुको अनलाइन च्याम्पियनसिपमा सहभागि गराउने श्रेय समेत प्रशिक्षक एैरलाई जान्छ ।

‘खेलाडीहरुले अभ्यास गर्न छाड्नुभएन, अभ्यासले नैं खेलाडीलाई सक्षम बनाउँदै लग्छ ।’ एैरले भने –‘अभ्यास र सिकेको सिपलाई देखाउने प्लाटफर्म नैं प्रतियोगिताहरु हु्न् । तर, अहिले भौतिक रुपमा प्रतियोगिता गर्ने अवस्था नहुँदा अनलाइन च्याम्पियन सिप एउटा राम्रो प्लाट फार्म बनिरहेको छ।