बुटवल । रुपन्देहीमा अब दुई ठाउँबाट पिसिआर परीक्षण हुने भएको छ । भैरहवामा स्थापना भएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालापछि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा पनि पिसिआर मेशिनबाट स्वाव परीक्षण हुने भएको हो । करिब २ करोड २५ लाख लागतमा ल्याइएको पिसिआर टेष्ट उपकरणबाट हप्ता दशदिन भित्रै आधिकारिक मान्यतासहित परिक्षण सुरु गरिने अस्पताल विकास समितिका अध्यक्ष सुर्यबहादुर भट्टराईले जानकारी दिए ।
दैनिक ३ सय स्वाव परीक्षण गर्न सकिने उपकरण सञ्चालनका लागि अस्पतालकै जनशक्ति प्रयोग गरिने तथा आवश्यक परेको अवस्थामा केही विज्ञलाई पनि ल्याइने अध्यक्ष भट्टराईले बताए । ‘अस्पतालमा गरिने पिसिआर परीक्षणको आधिकारिक मान्यताका लागि यहाँ शंकलन गरिएका केही स्वावको परीक्षण रिपोर्टलाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पनि परीक्षण गरेर हेरिने छ ।’-अध्यक्ष भट्टराईले भने ‘त्यहाँको र यहाँको रिपोर्ट मिल्यो भने पिसिआर टेष्टले आधिकारिक रुपमा मान्यता पाउने छ ।’ यी सबै प्रक्रियाहरु पुरा गर्नुपर्ने भएकाले आधिकारिक रुपमा पिसिआर परीक्षण सुरु गर्न कम्तिमा एक हप्ता वा १० दिनसम्म लाग्ने भएको हो । अहिले अस्पतालमा मेसिन जडानको काम भैरहेको छ ।
यसअघि रुपन्देहीको भैरहवामा स्थापना गरिएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाबाट स्वाव संकलन गरी पिसिआर परीक्षण हुँदै आएको छ । प्रयोगशालामा दैनिक ३ सय स्वाव परीक्षण गर्ने क्षमता भए पनि दैनिक १ सय ७५ देखि २ सयसम्म परिक्षण हुँदै आएको छ । प्रयोगशाका डा. राजेन्द्र गिरीका अनुसार शनिबार साझसम्म ५ हजार ८ सय २७ वटा स्वाव शंकलन भएकोमा ४ हजार ७ सय ३८ वटा स्वावको परीक्षण रिपोर्ट आइसकेको छ । दैनिक स्वाव परिक्षणको दरलाई छिट्टै बढाइने उनले बताए । डा. गिरीका अनुसार परीक्षण गरिएका स्वाव मध्ये हालसम्म ४ हजार २ सय ४० वटा नेगेटिभ रिपोर्ट आएको छ भने ४ सय ८८ वटा पोजेटिभ रिपोर्ट आएको छ । भैरहवाबाट सुरुमा प्रदेश ५ का १२ वटै जिल्लाका स्वाव संकलन गरि परीक्षण गरिएपनि हाल पश्चिमको बाँकेमा रहेको भेरि अस्पताल तथा दाङमा रहेको राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पिसिआर टेष्ट हुँदै आएको छ ।
सामाजिक विकास मन्त्रालयले पिसिआर टेष्टको संख्यालाई बढाउनका लागि प्रदेशमा ४ वटा नयाँ पिसिआर मेसिन खरिदका लागि प्रक्रिया अगाडी बढाएको थियो । लुम्बिनी प्रादेशिक अस्पतालमा पिसिआर मेसिन स्थापनासँगै भैरहवामा रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोशाला, दाङको स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा बाँकेको भेरी अस्पतालमा थप नयाँ मेशिन जडानका लागि प्रक्रियामा रहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख उमाशंकरप्रसाद चौधरीले बताए ।
महाशाखाको तत्थ्याङ्क अनुसार प्रदेश ५ मा शनिबारसम्म २७ हजार ७ सय ४१ स्वाव संकलन भएकामा २० हजार ५ सय ५८ स्वाव परीक्षण भैसकेका छन् । परीक्षण भएका स्वाव मध्ये १९ हजार ४४ स्वावको रिपोर्ट नेगेटिभ आएको छ भने १ हजार ५ सय १४ वटा रिपोर्ट पोजेटिभ आएको छ । प्रदेशमा ५, मा हाल सञ्चालनमा रहेका ३ वटा पिसिआर मेशिनबाट दैनिक ३ सय बढी स्वाव परिक्षण हुँदै आएकोमा ४ वटा थप भएपछि परिक्षणको गतीमा थप वृद्धि हुने प्रमुख चौधरीले बताए ।
प्रतिक्रिया