ताजा अपडेट »

पूर्वप्रधानमन्त्री र गृहमन्त्रीमाथि बलात्कारको आरोप

शुक्रबार, ३० जेठ २०७७

काठमाडौ । केही समयदेखि शिथिल देखिएको ‘मि टु’ अभियानले विश्वव्यापीरुपमा फेरि हलचल मच्चाउन शुरु गरेको छ । विश्वको ध्यान नै कोरोना संकटतर्फ केन्द्रित भैरहेको बेला एक जना अमेरिकी ब्लगरले पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा पूर्व गृहमन्त्रीलाई बलत्कार र यौन उत्पिडन गरेको आरोप लगाउदैं आउंदो सातादेखि ‘कानुनी लडाई लड्ने’ उद्घोष गरेपछि त्यसले पाकिस्तानमा मात्र होइन, विश्वव्यापीरुपमै हलचल मच्चाइरहेको छ ।

‘आउंदो सातादेखि कानुनी लडाई लड्नको लागि म तयार छु । जांचकर्ताहरुसंग छलफलको लागि मानसिकरुपमा तयारी गर्दैछु । त्यसैले अहिलेलाई मेरो व्यक्तिगत जीवनको कदर गर्दै मलाई एकान्तमै रहन दिनको लागि सबैसंग अनुरोध गर्दछु’ अमेरिकी ब्लगर सिन्धिया डि रिचीले सामाजिक संजालमा लेखेकी छन् ।उनले पाकिस्तानका पूर्व प्रधानमन्त्री युसुफ राजा गिलानी तथा पूर्व स्वास्थ्य मन्त्री शाहवुद्धिनले आफूलाई पटक पटक यौन दुव्र्यवहार गरेको र पूर्व गृहमन्त्री रहमान मलिकले कैयौं पटक बलत्कार गरेको दावि गरेकी छन् । उनीहरु तिनै जना पाकिस्तान पिपुल् पार्टीका प्रभावशाली नेताहरु हुन् । उनले रहमानले आफूलाई उनकै निवासमा बलत्कार गरेको दावि गरेकी छन् ।

‘यो सन् २०११ को कुरा हो, अमेरिकी कमाण्डोले पाकिस्तानको एबोटावादमा ओसमा विन लादेनलाई मारेको बेलाको घटना । त्यतिबेला म मेरो भिषाको बारेमा छलफल गर्न पाकिस्तानका तत्कालिन गृहमन्त्री रहमान मलिकको निवासमा गएकी थिएं । मलाई यस्तो पेय पदार्थ दिइयो, शायद त्यसमा नसिला पदार्थ मिसाइएको थियो ।’आफू माथि तत्कालिन गृहमन्त्री रहमान मलिकले बलत्कार गर्दाको प्रसंग उल्लेख गर्दै उनले दावि गरेकी छन् । त्यतिबेला आफूले पाकिस्तानमा रहेको अमेरिकी दूतावासका एक उच्च अधिकारीको साथ स्वंय पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष विलावल भुट्टोलाई समेत जानकारी गराएको तर कुनै सुनुवाई नभएको उनको दावि छ ।

उनले पूर्व प्रधानमन्त्री युसुफ राजा गिलानी र पूर्व स्वास्थ्य मन्त्री शाहवुद्धिनले पनि पटक पटक यौन दुव्र्यवहार गरेको आरोप लगाएकी छन् । सिन्थियाको आरोप पछि पाकिस्तान भित्र निकै ठूलो हलचल मच्चिएको छ । गिलानीले उनको आरोपको बारेमा टिप्पणी गर्न नै अस्विकार गरेका छन् भने पूर्व गृहमन्त्री मलिकले आरोप प्रति आक्रोस व्यक्त गर्दै त्यसमा कुनै सत्यता नभएको दावि गरेका छन् ।

पाकिस्तानका मूलधारका संचार माध्यम र राजनीतिक विश्लेषकहरुले भने अमेरिकी सरकारले पाकिस्तानमाथि गरिरहेको षडयन्त्रको रुपमा यसलाई लिएका छन् । जे भए पनि यो घटनाले विश्वभरमै महिला उत्पिडन विरुद्धको ‘मि टु’ अभियान फेरि चर्कने विश्वांस गरिएको छ ।