ताजा अपडेट »

विषम परिस्थिति,अनलाइन कक्षा र विकल्प

विहीबार, २९ जेठ २०७७

अहिले पूरा विश्व नै कोरोना भाइरस (कोभिड–१९) महामारीबाट आक्रान्त छ । वर्तमान परिपेक्षलाई हेर्ने हो भने नेपालमा बल्ल कोरोना संक्रमितको दर दिनानुदिन बढ्दै गएको हुनाले यसले यहाँ ठूलो संकट निम्त्याउने देखिन्छ । अहिले कोरोनाको कारण हरेक क्षेत्र अस्तव्यस्त छ । कहिलेसम्म यस्तो स्थिति कायम हुन्छ भन्ने बिषयमा कतैबाट ठोस भनाई आएको छैन । जताततै अन्योलै अन्योल छ । यस्तो अवस्थामा हामी सकारात्मक हुनुको विकल्प छैन । विश्व स्वास्थ्य संगठन लगाएत खासगरी विभिन्न विकसित देशहरु कोरोना भाइरस बिरुद्दको खोप तथा औषधी बनाउन लागिपरेका छन् । आशा छ ती सफल हुनेछन् र विश्व सामान्य अवस्थामा फर्किने छ । यो विषम परिस्थितिबाट छुटकारा पाउन केही समय पक्कै लाग्नेछ । सबै क्षेत्र एकै समयमा सामान्य अवस्थामा फर्किने छैनन । वास्तवमा नेपालमा सामाजिक दूरी कायमगरी पठनपाठन क्रियाकलाप अगाडि बढाउने कार्य असम्भव प्रायस देखिन्छ । त्यसैले सबै क्षेत्रहरु सूचारु भएपछि अन्तिममा मात्र शैक्षिक संस्थाहरुको पालो आउने निश्चित छ ।

मानिसको जीवनमा महत्वपूर्ण भूमिका खेल्ने शिक्षाबाट कोहि पनि बञ्चित हुनुहुँदैन र गराउनु पनि हुँदैन । यो सरकारको दायित्व हो । हो मानिसको जीवनमा स्वास्थ्य सबैभन्दा ठूलो कुरा हो । मानिस स्वस्थ भएन भने केहि गर्न सक्दैन त्यसैले सबैभन्दा पहिला स्वस्थ हुनुपर्दछ । स्वस्थ शरीरले सबै काम गर्न सक्दछ । यहाँनिर स्वस्थ शरीरको लागि शिक्षाको अपरिहार्यतालाई बिर्सनु भने हुँदैन । जब मानिस शिक्षित हुन्छ, समाज शिक्षित हुन्छ, देश शिक्षित देश कहलिन्छ तबमात्र नागरिकहरु स्वस्थ हुन्छन्। यसरी मानव स्वास्थ्यमै महत्वपूर्ण भूमिका निभाउने शिक्षा, शैक्षिक गतिविधि, पठनपाठनलाई जस्तोसुकै परिस्थितिमा पनि उचित उपायद्वारा अगाडि बढाउनु पर्दछ । यो राज्यको दायित्व हो । शिक्षा क्षेत्रलाई नजरअन्दाज गर्न पाइँदैन । यस्तो जटिल परिस्थितिमा पनि लाखौं विद्यार्थीहरुको पढ्न लेख्न पाउने अधिकारलाई पठनपाठन क्रियाकलाप अगाडि बढाई सुरक्षित गर्नुपर्दछ । अहिले कुनैपनि विद्यालय वा कलेजले चाहेरपनि विद्यार्थीलाई कक्षाकोठामा पढाउन सक्दैनन् ।

कोरोना महामारीका कारण २०७६ साल चैत्र ६ गतेदेखिनै देशभरिका सम्पूर्ण शैक्षिक संस्थाहरु ठप्प छन् । करिब ७० लाख बालबालिकाहरु घरमै बसेका छन् । यो समय अनलाइन शिक्षा सुरु गर्ने उपयुक्त समय हो भन्नै धेरै ठाउँबाट आवाज उठिरहेको छ । नेपाल टेलिकमले पनि शिक्षा क्षेत्रमा सहयोग पुग्ने गरी सहुलियत दररेटमा विद्यार्थी र शिक्षालयहरुकोलागि डाटा उपलब्ध गराएको छ। तर, के हाम्रो देशमा हालको अवस्थामा यो प्रभावकारी हुन्छ ? कुल विद्यार्थी मध्ये ८० प्रतिशत विद्यार्थीहरु सरकारी स्कुलमै पढ्छन् । निम्न आय भएका विद्यार्थीहरु सरकारीमा अध्ययन गर्छन् भने दूर दराजमा न त इन्टरनेटनै पुगेको छ नत विद्यार्थीसँग स्मार्ट मोबाइलनै छ । यस्तो अवस्थामा अनलाइन शिक्षा प्रभावकारी हुन्छ त ? प्रश्न जायज छ । हुन त काठमाण्डौ विश्वविद्यालयले अनलाइन कक्षालाई ब्यवस्थित एवम् सफल रुपमा सञ्चालन गरेको बताएको छ। त्यसैगरी मुलुककै जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले पनि यो विषम परिस्थितिमा अनलाइन कक्षाको विकल्प नभएको भन्दै अनलाइन कक्षा सञ्चालन गर्न र गराउन सम्बन्धित सबै कलेजलाई निर्देशन गरेको छ । यद्यपि सबै कलेजले सबै विद्यार्थीसँग इन्टरनेटको पहुँच नभएकोले यसलाई प्रभावकारी रुपमा सञ्चालन भने गर्न सकेका छैनन् ।

कोरोना संक्रमितको संख्या तिव्र गतिमा बढ्दै गएको र यो विषम परिस्थितिमा सरकारले पठन–पाठन क्रियाकलापलाई कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा स्पष्ट खाका ल्याउन नसकेकोले होला यतिवेला केही निजी विद्यालयले समेत विद्यालय तहमा अनलाइन कक्षा सुरु गरेका छन् । अधिकांश साना निजी विद्यालयले अझै पनि सुरु नै गर्न सकेका छैनन, यद्यपि विविध कारणले गर्दा निजी विद्यालयद्वारा सञ्चालित अनलाइन कक्षा प्रभावकारी नभएको पाइन्छ  । मध्यम र निम्न वर्गका अभिभावक , एउटा मात्र ल्यापटप वा मोबाइल भएका र दुईजना छोराछोरी भएका अभिभावक, इन्टरनेट सुविधा नभएका अभिभावक आदिको कारण अनलाइन कक्षामा समस्या छ । त्यसैगरी एउटा मात्र साधन र दुई वा त्योभन्दा बढी छोराछोरी भएका अभिभावकलाई एकैपटक अनलाइन कक्षा सुरु हुँदा समस्या छ ।

अनलाइन कक्षाको सन्दर्भमा नेपाल शिक्षक महासँघका अध्यक्ष बाबुराम थापाले हालको समयमा अनलाइन कक्षा सुरु गर्नु निकै उपयुक्त समय रहेपनि सामुदायिक स्कुल र विद्यार्थीहरुसंग इन्टरनेट, स्मार्टफोन, ल्यापटप, आइप्याड लगाएतका सुविधायुक्त साधनहरुमा पहुँच नभएकोले कार्यन्वयन हुन नसक्ने बताए । यद्दपि काठमाडौँका केही सामुदायिक विद्यालयले अनलाइन कक्षामार्फत पठनपाठन सुरु गरेको पाइएको छ । नेपालभरि कुल ३५ हजार विद्यालय र त्यसमा ७० लाख विद्यार्थीहरु अध्ययनरत छन । जसमध्ये २९ हजार सामुदायिक विद्यालयमा कुल विद्यार्थीको ८० प्रतिशतले अध्ययन गर्छन भने करिब ६ हजार निजी विद्यालयहरुमा २० प्रतिशत विद्यार्थी छन् । सबै सरकारी र निजी विद्यालयमा सूचना प्रविधिको पहुँच छैन । केहि शहरीय विद्यालय र अभिभावकलाई हेरेर मात्र अनलाइन कक्षा प्रभावकारी हुँदैन । अर्कोतिर नेपालको पाठ्यक्रममा राखिएका पाठ्यपुस्तक अनलाइनबाट मात्रै पढाउन सक्ने खालका नभएको र तुलनात्मक रुपमा सामुदायिक विद्यालयका शिक्षकहरु बिना तालिम अनलाइनबाट कक्षा चलाउन नसक्ने भएकोले अनलाइन कक्षा संचालनमा समस्या देखिएको छ । यदि सरकारले केहि ठूला निजी विद्यालयलाई हेरेर हचुवाको भरमा यहिँ अवस्थामा अनलाईन शिक्षा बैधानिकता दियो भने नेपालको शिक्षा क्षेत्रमा यो भन्दा ठूलो दुर्भाग्य केही हुने छैन ।

अनलाइन कक्षालाई साँच्चिकै अगाडि बढाउने हो भने सरकारले यसको लागि आवश्यक पुर्बाधार निर्माण गरिहाल्नु पर्दछ । यसको लागि पहिला प्रत्येक विद्यालयमा इन्टरनेटको पहुँच हुनुपर्दछ । प्रत्येक विद्यार्थीको पहुँचमा कम्तिमा स्मार्ट फोन र इन्टरनेट हुनुपर्दछ । त्यसपछि प्रत्येक शिक्षकलाई अनलाइन कक्षा लिन सक्नेगरी योग्य बनाउन आवश्यक तालिम दिनुपर्दछ । यति गर्न सकियो भने मात्र अनलाइन कक्षाले सार्थकता पाउँदछ । सरकारको कार्यशैली हेर्दा यो कोरोना कहरको बीचमा नेपालको शिक्षामा यस्तो ब्यवस्था हुने कुरामा ठूलो शंका छ ।अहिलेको परिस्थितिमा हामी विद्यालय वा कलेजमा विद्यार्थीलाई अध्यापन गराउन सक्दैनौ । यो परिस्थितिमा विद्यार्थीलाई कसरी पढाउन सकिन्छ ? कुन तरिका अपनायो भने उनीहरु पढ्नबाट बञ्चित हुँदैनन ? विश्वका अन्य देशमा पठनपाठनका कस्ता विधि अपनाइएको छ ? नेपालको लागि कुन तरिका उपयुक्त हुन्छ ? यो परिस्थितिमा हामीले कसरी शिक्षालाई सबैको पहुँचमा लैजान सक्छौ ? आदि कुरामा विशेष ध्यान दिई घनिभूत छलफल गरी उपयुक्त विकल्प अवलम्बन गर्दै पठनपाठन शुरु गरिहाल्नुपर्दछ । राम्रोसँग सोँचेर योजना बनाई कार्यान्वयन गर्ने बेला आएको छ । अब ढिला भइसक्यो यो वा त्यो बहानामा आलटाल गर्नु हुँदैन ।

नेपालमा टेलिभिजन र रेडियोको संख्यामा खासै कमि छैन । अब हामीले यो विषम परिथितिमा पठनपाठन प्रक्रिया यिनै सञ्चार माध्यमबाट अगाडि बढाउनु पर्दछ । टेलिभिजन सबैको पहुँचमा नहोला तर रेडियो सबैको पहुँचमा छ । नेपालमा सामुदायिक रेडियोको संख्या ४ सयको हाराहारीमा छ । स्थिति सामान्य नहुँदासम्म, विद्यालय नखुल्दासम्म सामुदायिक रेडियोको प्रयोगबाट शैक्षिक क्रियाकलाप अगाडि बढाइयो भने यो परिस्थितिमा कोहि पनि पढ्न लेख्नबाट बन्चित हुँदैनन । यसको लागि खासगरी प्रत्येक स्थानीय निकायले आवश्यकता अनुसार प्रदेश र संघको सहयोग लिई त्यहाँ रहेका विद्यालयहरु बिच समन्वय गरी आवश्यक शिक्षकहरुलाई समय तालिका अनुसार पढाउने जिम्मा दिने हो भने नेपालको कुनै पनि भूभागका बालबालिका पढ्नबाट बन्चित हुने थिएनन । अनलाइन कक्षालाई सबैको पहुँचमा ल्याउन अफ्ठेरो देखिएको वर्तमान परिस्थितिमा रेडियोबाट प्रदान गरिने शिक्षानै नेपालको सन्दर्भमा सजिलो, सबैको पहुँचमा पुग्ने तथा तुलनात्मक रुपमा राम्रो विकल्प हो ।