ताजा अपडेट »

महामारीका बेला डाक्टरनै सम्पर्कविहिन, बिनासूचना अमेरिका

बुधबार, २८ जेठ २०७७

बुटवल । रुपन्देहीको सुद्धोधन गाउँपालिकामा अवस्थित एक प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर सम्पर्कविहिन भएपछि प्रदेश-५ सामाजिक विकास मन्त्रालयले ७ दिनभित्र उपस्थित हुनका लागि सूचना जारी गरेको छ । वडा नम्बर ४ को मोतिपुरमा अवस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा करारमा कार्यरत मेडिकल अधिकृत डा. सिमा शर्मा कोरोना महामारीको बेला सम्पर्कविहिन भएपछि मन्त्रालयले स्पष्टिकरणसहित ७ दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन गरेको हो । नेपाल सरकारबाट छात्रवृत्ति प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन निर्देशिका २०७१ को दफा २० को उप दफा ५ अनुसार शर्मालाई कारबाही गरिने मन्त्रालयले जनाएको छ ।

महामारी विरुद्ध अन्य स्वास्थ्यकर्मी पहिलो पङ्तीमा उभिएर जुधीरहेका बेला उनी भने सम्पर्क विहिन भएपछि प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको जेठ २६ गते सोमबार बसको सचिव स्तरीय बैठकले निर्णय गर्दै २७ गते सूचना प्रकाशन गरिएको छ । ठूलो बुबा विरामी भएको भन्दै गत फागुन १८ गतेबाट सम्पर्क विहिन डा. शर्मा फटक-पटक सम्पर्क गर्न खोज्दा पनि सम्पर्कमा नआएपछि आवश्यक कारबाहीका लागि गाउँपालिका तथा प्रदेश सरकारलाई आग्रह गरिएको वडा नम्बर ४ का अध्यक्ष तथा स्वास्थ्य केन्द्रका संयोजक राजेन्द्र कंडेलले बताए । ‘कार्यालयमा ठूलो बूबा विरामी भएकोहुँदा भारत जानु पर्ने बताएको दुई/तीन दिनपछि सम्पर्क विहिन हुँदा पहिले भारतमा हुनुहुन्छ कि भन्ने लाग्यो ।’ -अध्यक्ष कंडेलले भने ‘पछि बुझ्दैजाँदा अमेरिका पुगेर बसेको भन्ने खबर आएको छ । आधिकारीक रुपमा उहा (डा. शर्मा)ले नै जानकारी भने गराउनु भएको छैन ।’ दुई वर्ष काम गर्ने गरी करारमा नियूक्ति भएकी डा. शर्मा गत कार्तिक २८ गतेदेखि स्वास्थ्य केन्द्रमा कार्यरत थिइन् ।

स्वास्थ्य केन्द्रका प्रमुख डा. मदन केसीले सम्पर्क विहिन बनेकी शर्माको श्रीमान पनि अमेरिका नै भएको हुँदा उनि श्रीमानसँगै रहेको खबर प्राप्त भएको बताए । ‘अमेरिका गएपछि लकडाउनमा परेर नेपाल आउन नसकेको पनि हुन सक्छ ।’-प्रमुख केसीले भने नेपाल आउन नसके पनि कार्यालयमा जानकारी गराउनु पर्ने थियो त्यसो नगरेपछि आवश्यक कारबाहीका लागि अगाडी बढेका हौं । स्वास्थ्य केन्द्रमा प्रमुख मदन केसी नआउँदै डाक्टर शर्मा सम्पर्क विहिन भएकी हुन् । यसअघि डा. इश्वर घिमिरे स्वास्थ्य केन्द्रको प्रमुख थिए भने गएको वैशाख महिनादेखि केसी केन्द्रको प्रमुखको रुपमा काम गर्दै आएका छन् । नियतबस नै जिम्मेवारीबाट पन्छिदै सम्पर्क विहिन भएको ठानी गाउँपालिकाले आवश्यक कारबाहीका लागि प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयमा अनुरोध गरेको थियो । अस्पतालमा हाल स्थायी तथा करार गरी १६ जना कर्मचारी तथा स्वास्थ्यकर्मी रहेका छन् ।