ताजा अपडेट »

प्रधानमन्त्री सिके राउतको जालमा फसे : कांग्रेस प्रवक्ता शर्मा

आइतबार, २६ फागुन २०७५

फागुन २६,
बाग्लुङ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री सिके राउतको विखण्डनवादी जालमा फसेको आरोप लगाएका छन् । कांग्रेसले आज बाग्लुङ बजारमा गरेको विरोध सभामा बोल्दै प्रवक्ता शर्माले कम्प्युनिष्ट दर्शन र खोक्रो राष्ट्रवादी भाषणले मात्र देश चल्न नसक्ने बताए ।‘केपी ओलीको राष्ट्रवाद सिके राउतको पाउमा पल्टियो’ शर्माले भने, ‘जुन विषयमा जनमतसंग्रह गर्नै सकिंदैन भन्ने संविधानमा उल्लेख छ, त्यसैमा लम्पसार पर्नुभयो ।’

सरकारले बूढीगण्डकी बिनाप्रतिष्पर्धा चिनियाँ कम्पनीलाई दिएको, रेल र पानी जहाजका लागि विदेशी ऋण खोजेर राष्ट्रियता कमजोर पारेको आरोप पनि लगाए ।‘श्रीलंकामा चिनियाँ झन्डा फैलिएझैं भोलि नेपालीले रेलको ऋणको नाउमा अर्काको देशको झन्डा गाडिने अवस्था आउन सक्नेछ’, शर्माले भने, ‘विदेशी झन्डा फहराएको देख्नेकी आफ्नै लगानीमा काम गर्ने ?’

कांग्रेसले निर्वाचन हारेर नेकपाको खोक्रो राष्ट्रवाद उदांगिएको देख्न पाएको टिप्पणी पनि गरे । दुई तिहाईको सरकार भएकोले ५ वर्षमा काम गरेर देखाउने समय भए पनि एक वर्षमा संकेत दिन नसकेको उनको टिप्पणी थियो ।देखिने गरी समृद्धिको जग बसाल्न नसकेको सरकारका कमजोरी देखाउन कांग्रेस जागरण अभियानमा निस्कनु परेको बताए । उनले निजीकरणमा गएकै कारण देशमा लगानी भित्रिएर शिक्षा, स्वास्थ्य र उत्पादन बढेको दाबी गरे ।