ताजा अपडेट »

किन बढ्यो बुटवलका सडकमा चहलपहल ?

सोमबार, २६ जेठ २०७७
1 Shares

बुटवल । लकडाउनको मोडालिटी परिवर्तन हुने चर्चाका बीच बुटवल लगायत देशभरका शहरहरुमा चहलपहल बढेको छ । आईतबारदेखि बुटवलका सडकमा निजि सवारीका साधानहरुको चहपल बढेको हो । कोरोना नियन्त्रण उच्च स्तरिय समन्वय समितिले लकडाउन (बन्दाबन्दी) को मोडालिटी परिवर्तन गरी खुकुलो बनाउन सरकारलाई सुझाब प्रस्तुत गरे पनि त्यस बारेमा निर्णय नहुँदै देशभर चहलपहल बढ्न थालेको छ । सरकारले लकडाउन खुकुलो बनाउने बारेमा अहिलेसम्म औपचारीक निर्णय भने गरेको छैन ।

लामो सयमको लकडाउनकै बीच जनताहरु स्वतस्फूर्त रुपमा सडकमा देखिन थाले पनि ठाउँ–ठाउँमा रहेका सुरक्षा निकायले कुनै प्रतिक्रिया नजदाउँदा चहलपहलमा थप वृद्धि हुने देखिन्छ । सरकारले गत चैत्र ११ गतेदेखि लकडाउन (बन्दाबन्दी) आह्वान गरेको थियो । लकडाउनका कारण आर्थिक लगायत जनजीवन प्रभावित भएको जनगुनासो बढ्न थालेपछि सरकारले लकडाउनको स्वरुप परिवर्तन गर्ने हल्लाकै बीच बजार तथा सडकमा मानविय चहलपहलमा आएको वृद्धिले संक्रमण थप फैलन सक्ने चुनौती पनि थपिएको छ । विगत केही दिनदेखि निजी क्षेत्र, व्यवसायी, अर्थविज्ञ लगायत विभिन्न निकायका प्रतिनिधि र पदाधिकारी बीचको छलफलपछि तयार पारिएको मस्यौदामा अन्तिम सहमति जुटाउन बैठक बसेको बताइए पनि बैठकले हालसम्म ठोस निर्णय गर्न भने सकेको छैन ।

कोरोना नियन्त्रण उच्च स्तरीय समन्वय समितिले कोरोना भाइरसको संक्रमण १०० भन्दा कम भएका जिल्लामा जेठ २५ गतेदेखि छोटो दुरीका सवारी साधनलाई आधा मात्र यात्रु राखेर सञ्चालन गर्न दिने प्रस्ताव गरेको छ । असार १ गतेबाट सिट क्षमताका आधारमा आधा यात्रु राखेर लामो दुरीका सवारी साधन र आधा नै यात्रु राखेर हवाई सेवा सञ्चालन गर्ने उच्चस्तरी समितिले मस्यौदा तयार पारेको छ । तर सरकारले यसबारे कुनै पनि औपचारीक रुपमा निर्णय भने गरेको छैन् ।

यसैबीच यस क्षेत्रका व्यवसायीक संघ संस्थाहरुको आग्रहपछि रुपन्देहीमा लकडाउनलाई केही खुकुलो पार्ने गरी दैनिक रुपमा पसलहरु सञ्चालनमा ल्याउन दिने निर्णयले पनि चहलपहल बढेको हो । उद्योगी ब्यवसायीहरुको मागलाई ध्यानमा राख्दै बुटवल उपमहानगरपालिकाले लकडाउनलाई आंशिकरुपमा खुकुलो बनाए थियो । उपमहागरपालिकाले अत्यावश्यक सामाग्री खरिद गर्न साताभरी नै पसल तथा व्यापार व्यवसाय खोल्न पाउने गरी ब्यवस्था गरेको छ । लकडाउनको अवधि लम्बिंदै जांदा दैनिक गुजारा चलाउन भाडामा रहेका ब्यवसायीहरुलाई मर्का परेपछि ब्यवसायिक संघ(संगठनहरुले लकडाउन खुकुलो बनाउन आग्रह गरेअनुसार उपमहानगरपालिकाले समय निर्धारण गरी दैनिक रुपमा पसल तथा व्यापार व्यवसाय सञ्चालनमा ल्याउन दिने निर्णय गरेको थियो ।

उपमहानगरले सार्वजानिक गरेको नयाँ ब्यवस्था अनुसार खाद्यान्न, तरकारी तथा कृषि कार्यसँग सम्बन्धित मल बिउ, बिषादी जस्ता अत्यावश्यक सामाग्रीका पसलहरु हरेक दिन बिहान ७ बजेबाट २ बजे सम्म खुल्न पाउने ब्यवस्था छ । प्रत्यक्ष उपभोक्ताको सम्पर्क नहुने अत्यावश्यक माल वस्तुको थोक बिक्रिका लागि प्रत्यक दिन १० बजे देखि ३ बजे सम्म खोल्न पाउने ब्यवस्था गरिएको छ । त्यसैगरि दुध तथा दुग्धजन्य पदार्थ, डेरी जस्ता पसलहरु हरेक दिन बिहान र साँझ ३ घण्टा खुल्ने व्यवस्था गरेको छ । यसैगरी कृषि औजार, मेसनरि तथा निर्माण समाग्रीका पसलका लागि हरेक दिन बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्मको समय निर्धारण गरिएको छ ।

बैंक तथा बित्तीय संस्थाहरुले सार्वजानिक बिदाका दिन बाहेक पूूर्वतः संचालन गर्ने ब्यवस्था गरिएको छ । स्थानीय कृषि उत्पादनहरुले हरेक दिन बिहान ३ घण्टा घरघरमा डुलाएर आफ्नो उत्पादनहरु बेच्न पाउने छन् । यसरी बिक्रि हुने तरकारीहरुको स्थानीय पालिकाहरुले स्विकृति दिएको हुनुपर्ने व्यवस्था छ ।