फागुन २६,
काठमाण्डौ । विराटनगरमा मंगलबारबाट सुरु हुने महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पाले प्रचण्डलाई साफ महिला च्याम्पियनसिपको उद्घाटनका लागि गरेको आग्रह प्रचण्डले स्वीकारेका हुन् । प्रतियोगिताको उद्घाटन विराटनगरको सहिद रंगशालामा मंगलबार दिउँसो २ बजे हुने एन्फाका प्रवक्ता किरण राईले जनकारी दिए । ।
नेपाल र भुटानबीच हुने उद्घाटन खेल भने दिउँसो ३ बजेमात्रै सुरु हुनेछ। प्रतियोगितामा आयोजक नेपालसँगै भारत, भुटान,, बङ्गलादेश, मालदिभ्स र श्रीलङ्काका राष्ट्रिय महिला फुटबल टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको ‘ए’ समूहमा नेपाल, भूटान र बङ्गलादेश रहेको छन् भने ‘बी’ समूहमा भारत, श्रीलङ्का र मालदिभ्सको महिला टिम रहेको छ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।
प्रतियोगिताका लागि नेपाली टोलीमा गोलकिपरमा अन्जना रानामगर, एन्जिला तुम्बापो सुब्बा, उषा नाथ छन् । डिफेन्डरमा हिरा कुमारी भुजेल, गिता राना, पुनम जर्घामगर, अमृता जोसी, कविता धिमाल, पुजा रानामगर, मनमाया लिम्बु छन् । मिडफिल्डमा अनिता बस्नेत, दिपा राई, मन्जली कुमारी योन्जन, सर्मिला थापा, सरु लिम्बु, रेनुका नगरकोटी र अनिता केसी छन् । फर्वाडमा रेखा पौडेल, निरु थापा र सावित्रा भण्डारी छन् ।
प्रतिक्रिया