ताजा अपडेट »

राष्ट्रपति भण्डारी अमेरिका प्रस्थान गर्दै

आइतबार, २६ फागुन २०७५

फागुन २६,
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज (आइतवार) अमेरिका प्रस्थान गर्दैछिन् ।

महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसंघीय आयोग (सीएसडब्ल्यू)को ६३औँ बैठकमा भाग लिन राष्ट्रपति भण्डारी अमेरिका जान लागेकी हुन् ।

राष्ट्रपति भ्रमण टोलीमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, प्रतिनिधिसभा महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पाल, राष्ट्रपति कार्यालयका विज्ञ लक्ष्मीकुमारी कार्की, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपतिको कार्यालयका सचिव विनोद केसी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव यामकुमारी खतिवडा, राष्ट्रपतिको कार्यालय, परराष्ट्र मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका वरिष्ठ अधिकारीहरु रहेन छन् ।

राष्ट्रसङ्घीय महासभाका अध्यक्ष मारिया फर्नाण्डा इस्पिनोसा ग्रेसेसले यही फागुन २८ गते आयोजना गर्ने ‘शक्तिमा नारी’ विषयक उच्चस्तरीय बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने र नारी नेत्रीले विश्वलाई कसरी रुपान्तरण गर्छन् भन्ने विषयमा समेत राष्ट्रपतिले मन्तव्य राख्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले केही उच्चस्तरीय अधिकारीहरुसँग भेटवार्तासमेत गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले बताइएको छ ।राष्ट्रपति भण्डारीले राष्ट्रसंघका महासचिव एण्टोनियो गुट्रेस र अध्यक्ष ग्रेसेससँगको भेटवार्ताको समय टुंगो लागि सकेको मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीले इष्टोनियाका राष्ट्रपति केर्स्टी कालजुलेड तथा क्रोएशियाका राष्ट्रपति कोलिण्डा ग्राबर किटारोभिचसँग पनि द्विपक्षीय वार्ता गर्नेछिन् भने आयरल्याण्डका पूर्वप्रधानमन्त्री मेरी रबिन्सनसँग राष्ट्रपतिले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्रद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।