फागुन २५,
ग्लोबल आवाज
बुटवल । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय कार्यसमितिको आयोजना तथा जिल्ला कार्यसमिति रुपन्देहीको सहआयोजनामा आयोजित पाँचौ अर्ना राष्ट्रिय खुल्ला रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता तथा साँस्कृतिक महोत्सव आज सम्पन्न भएको छ ।
पाँचौ अर्ना राष्ट्रिय खुल्ला रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिताको उपाधि नगरकोट दोहोरी साँझका राजु के.सीले जितेका छन् । त्यसैगरी नगरकोट दोहोरी साँझकै रविन लामीछाने द्धितिय भएका छन् भने रोल्पा कलाकार समाजका भीम पौडेल र प्रकाश पराजुलीले तृतिय स्थान हासिल गरेको दोहोरी गीत प्रतियोगिता संयोजक प्रचण्ड जि.सी.ले बताए ।
उपाधिसँगै विजेता,उपविजेता र तृतियले नगद रु. २ लाख,१ लाख बिस हजार, र ७०- ७० हजार रूपैया प्राप्त गरेको आयोजक राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान,नेपालका अध्यक्ष बद्री पंगेनीले बताए ।
त्यसैगरी पोखराका जीवन सिग्देल र काठमाण्डौंकी देवी आले सर्वोत्कृष्ट गायक गायिका हुन सफल भएका छन् । उनीहरुले नगद रु १५/१५ हजार प्राप्त गरेका छन् । त्यस्तै प्रतियोगितामा गामवेशी दोहोरी साँझ काठमाण्डौंका अर्जुन खड्का , काठमाण्डौंकै प्काश दुरा ,धादिङकी अस्मिता डि.सि. र सिन्धुुपाल्चोककी कल्पना दाहाल उत्कृष्ट गायक गायकिा भएका छन् । उनीहरुले नगद रु ७५००/७५०० प्राप्त गरेको अध्यक्ष बद्री पंगेनीले जानकारी गराए ।
त्यस्तै प्रतिष्ठान रुपन्देहीका बिक्रमबाबु बिश्वकर्मा, प्रतिष्ठान गुल्मीका उज्जवल गिरी, शर्मिला बि.सीले प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय समितिले हरेक वर्ष प्रदान गर्दै आएको ‘प्रस्तुतीमा मौलिक भेषभुषा सम्मान’बाट प्रतिष्ठान रुपन्देहीका सदस्य बसन्त लम्साल र गायिक भूमिका गिरी सम्मानित भएका छन् । उनीहरु सबैजनालाई प्रमुख अतिथि सामाजिक विकास मन्त्री सुर्दशन बरालले पुरस्कार र सम्मान प्रत्रद्वारा सम्मान गरेका थिए ।
प्रतियोगिता शनिबार विशेष समारोहका बीच सामाजिक विकास मन्त्री माननीय सुर्दशन बरालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान,रुपन्देहीका कार्यसमिति सदस्य सञ्जय सौगातले जानकारी गराए । फाइनल प्रतियोगितासँगै गत १९ गते आइतबारबाट सुरु भएको प्रतियोगिता आज सकिएको हो ।
प्रतिक्रिया