ताजा अपडेट »

निजी विद्यालयहरुको अबको बाटो

आइतबार, १८ जेठ २०७७


निजी विद्यालयको सम्बन्धमा बजेट वक्तब्यमा आएको कुराले मिश्रित प्रतिक्रिया पाइरहेको छ । एकथरीको बुझाइमा सरकारले सामुदायिक विद्यालयहरु चलाउन नसकेर प्रकारान्तरले निजीलाई गुहारेको हो भन्ने छ । अर्को थरीको बुझाइमा तिमीहरुले नाफा कमाइरहेका छौ सरकारलाई कर तिर नभनेर घुमाउरो पारामा सामाजिक उत्तरदायित्वको रुपमा सामुदायिक विद्यालयलाइ हेर भनेको हो भन्ने छ । सरकारको यो कुरामा विरोधाभाष देखिन्छ । किनकी एकातिर मा.वि तहसम्म निःशुल्क शिक्षाको कुरा छ । अर्कोतिर समाजवादउन्मुख राज्य व्यवस्थामा शिक्षा र स्वास्थ्य जस्ता आधारभूत कुरा राज्यको दायित्व भित्र पर्ने कुरा हुन् भन्ने मान्यता छ ।निजी विद्यालयहरु खास गरेर आफ्नै बलबुताले स्थापित भएका हुन् । देशभित्रै केहि गरौं भन्ने पढेलेखेका व्यक्तिहरुले आफूहरु स्वरोजगार भएर थप रोजगार सिर्जना गरेका छन् । यद्यपि व्यापारिक पृष्ठभूमिका व्यक्तिहरु र व्यापारिक घरानाहरुले यो क्षेत्रलाई व्यवसाय गर्ने सुरक्षित क्षेत्र बनाउँदा केहि आलोचना समेत खेप्नु परिरहेको छ ।

अबको बाटो
कोरोना संक्रमणको कारण अहिले शिक्षण सिकाई क्रियाकलापमा वैैकल्पिक विधिहरुको अभ्याससँगै बहस पनि उठेको छ । संकटले हामिलाई विगतको सिंहावलोकन गर्ने अवसर दिएको छ । अब हाम्रा प्राथमिकताहरुमा पुर्नविचार गरिनुपर्दछ । जुन विचारको समूूह, मानक वा अवधारणाबाट हाम्रो शिक्षा निर्देशित छ त्यसको बारेमा अब हाम्रो सोंच्ने तरिकामा परिवर्तन गरिनुपर्दछ । अर्थात् सोँचान्तरण (प्याराडाइम सिफ्ट) गर्नुपर्छ । ४० र ५० को दशकबाट नेपालमा निजी शिक्षा विस्तार र विकास भएको हो । त्यतिबेला नाम अंग्रेजी बोर्डिङ्ग स्कुल, टाइ बेल्ट लगाइदिएर र पोशाकमा चिटिक्क सजाएर कनिकुथि अंग्रेजीमा बोलेर पढाइन्थ्यो । अहिले सामुदायिक स्कुलहरुले पनि निजी स्कूलहरुले अभ्यास गर्दै आएका कुराहरुको अनुशरण गर्दै आएको पाइन्छ । बजारशास्त्रमा व्यवसायको सन्दर्भमा तीन कुराको विचार गर्नुपर्छ भनिन्छ । कतिपय व्यवसाय निकै छोटो अवधिसम्म कायम रहन्छन् । जस्तो साउनमा हुने हरियो चुराको व्यापार, विश्वकप खेल हुदा हुने जर्सिको व्यापार । यस्तो छोटो अवधिसम्म रहने रुझानलाई फ्याड भनिन्छ । अर्को हुन्छ ट्रेण्ड जो सामान्यतया एक बर्षसम्म कायम रहन्छ ।

त्यस्तै १५/२० वर्षसम्म कायम रहने व्यवसायलाई मेगाट्रेण्ड भनिन्छ । यसरि हेर्दा अब नेपालको निजी क्षेत्रको शिक्षा व्यवसाय पनि अब परम्परागत मान्यताहरुमा फेरबदल गरेर जान सक्नुपर्छ । ‘बार्ह वर्षमा खोलो पनि फर्किन्छ’ भन्ने प्रचलित नेपाली उखान छ । भनिन्छ संकटले सँगसँगै अवसर पनि लिएर आएको हुन्छ । डिजिटलाइजेसन र इ–लर्निङ्गतर्फ जान अब हिचकिचाउनु हुन्न । मात्र एउटा स्मार्ट बोर्डको व्यवस्थाले अब हुन्न । धेरैजसो विद्यालयका कम्प्यूूटर ल्याबमा आउटडेटेड भर्जनका देख्दै अनाकर्षक डेस्कटपहरु त्यो पनि एक कम्प्युटर बराबर ४/५ विद्यार्थी को अनुपातमा छन् । अब बिस्तारै लगानी यतातर्फ डाइभेस्ट गरिनुपर्छ । अहिलेसम्म हामी भौतिक पूर्वाधार विकासमा लाग्दा रणनीतिक महत्वका अरु प्राथमिकता ओझेल परे । हेर्दा टोपी खस्ने भवन देखाएर । स्कुल बस टाढा टाढासम्म गुडाएर विद्यार्थी र अभिभावक आकर्षण गर्ने मोडेलमा अब पुनर्विचार गर्नुपर्छ ।

स्मार्ट कक्षा व्यवस्थापन गर्न नयाँ प्रविधिमैत्रि युवाहरुलाई शिक्षण पेशामा आकर्षित गरिनुपर्छ । अवकाशको उमेर हद पार गरेका नेतृत्वमा रहेका प्रिन्सिपलहरुले अब सक्रिय जिम्मेवारी नयाँ पुस्तामा हस्तान्तरण गर्न ढिलो गर्नुहुन्न । समुदायमा रहेको निजी विद्यालयप्रतिको नकारात्मक धारणा हटाउन स्वयम् सञ्ञ्चालकहरु अग्रसर हुनुपर्दछ ।२/३ महिनाको शुल्क (फि) उठाउन नपाउँदैमा स्कुल सञ्चालकहरु निराश हुनुहुँदैन । संकटको बेला दर्होगरी उभिन सक्नुपर्दछ । नोक्सान सहेर पनि आगामी दिनमा शोधभर्ना उठाउन सकिन्छ । यो बेला आम अभिभावकहरुमा महङ्गो शुल्क तिरेर अब पढाउन सकिन्न कि भन्ने परेको हुनसक्छ । थप आर्थिक व्ययभार नपर्ने गरि आगामी एक दुई बर्ष जेनतेन चल्न सकियो भने फेरि परिस्थिती अनुकुल हुँदा माथि उठ्न सकिन्छ ।

विद्यालय सञ्चालन गर्दा आर्थिक पारदर्शिता अपनाउनुपर्दछ । सञ्चालक र शेयरधनिहरुको आँखाबाट मात्र नहेरेर त्यहाँ कार्यरत शिक्षक/कर्मचारी सबैलाई विश्वासमा लिएर जानुपर्छ । उनिहरुको योगदान र श्रमको कदर गरिनुपर्छ । संकटको वर्तमान घडिमा उनिहरुको समस्या बुझ्नसक्नुपर्छ । सरकार, निजी स्कूलहरु , प्याब्सन र एन प्याब्सनले कार्यरत शिक्षक कर्मचारीहरुको चूलो निभ्न नदिनेतर्फ सोँच्नुपर्छ । सामुहिक रुपमा कोरोना कोषमा रकम जम्मा गर्न तछाडमछाड गर्दै गर्दा खै त आश्रित शिक्षक र कर्मचारीबारे सोँचेको ? विश्वविद्यालय तहमा शिक्षाशास्त्र र सामाजिक विज्ञान पढ्ने विद्यार्थी कम हुँदै जादा भोलि दक्ष जनशक्तिको कमि हुन सक्छ । अंग्रेजी बोर्डिङ्ग भन्ने ट्याग झुण्ड्याएर अब हुन्न । शिक्षाको खास मूल्य र आदर्श बालबालिकाको सर्वाङ्गिण विकास हो । देशभक्ति र माटोलाई माया गर्ने कर्णधार उत्पादन गर्नतिर ध्यान दिनुपर्दछ । निजी विद्यालयहरुलाई अक्सर लाग्ने गरेको आरोप हो–विद्यार्थीहरु एकाङ्की भए । उनिहरुमा देशप्रेम देखिन्न । १२ कक्षा पास नगर्दै देशमा केहि हुन्न भनेर विदेशिनेहरुमा धेरैजसो यतैका उत्पादन हुन् । त्यसैले अब नतीजामुखि सिकाई भन्दा पनि जीवनोपयोगी शिक्षाको टड्कारो आवश्यकता छ । समाजशास्त्र, नैतिक शिक्षा, इतिहास, भूगोल, कृषि जस्ता उपेक्षामा परेका विषयहरु पाठ्यक्रममा समेट्नुपर्छ ।

निजी विद्यालयहरु बीचको अस्वस्थ प्रतिष्पर्धा हट्नुपर्छ । टाढा टाढाबाट बसमा विद्यार्थी ओसार्नु भन्दा विद्यालय रहेको समुदायको विश्वास जित्न सकियो भने सञ्चालन लागत घट्छ । सकि नसकि स्कूल चलाउनुभन्दा अब एकआपसमा गाभिनु उपयुक्त हुन्छ । यसो गर्न सकियो भने जित–जित अर्थात् विन–विनको परिस्थिती बन्छ । शिक्षण सिकाई कृयाकलापमा नविनता खोज्नुपर्छ ।तत्काललाई आन्तरिक रुपमा नै सैद्धान्तिक र व्यवहारिक शिक्षण सिकाई तालिम सञ्चालन गर्न सकिन्छ । शिक्षक–विद्यार्थीको सहकार्यमा लघु अनुसन्धान कार्य अघि बढाउन सकिन्छ । परम्परागत घोकन्ते र रटान लगाउने शिक्षण पद्धती बदल्नुपर्छ । कडा अनुशासनको नाममा बालबालिकाको अन्तरनिहित प्रतिभा प्रस्फुटनमा अवरोध गरिनुहुन्न । लेक्चर विधि भन्दापनि अब अन्तरक्रिया गर्ने परियोजना विधि उपयुक्त हुन्छ ।२/३ महिना विद्यार्थीहरु स्कूल नआउँदैमा केहि बिग्रिदैन । संकटको बेला हामिले समान्य अवस्थामा जस्तो सहजताको अपेक्षा गर्नुहुँदैन । परिस्थिति समान्य भएपछि शैक्षिक क्यालेण्डर प्रभावित नहुने गरि नया“ कर्ययोजना बनाएर शैक्षिक शत्र पूरा गर्न सकिन्छ ।