अहिले पूरा विश्व कोरोना भाइरस–(कोभिड१९ )को महामारीबाट ग्रसित छ । हालसम्म विश्वका २१३ देशमा कोरोनाले आफ्नो दबदबा कायम राखेको कुरा सर्वविदितै छ । अहिलेसम्म ५३ लाख बढी कोरोना संक्रमित भइसकेका छन् भने तीन लाख बढीले यसकै कारण ज्यान गुमाइसकेका छन् । कोरोनाको कारण हरेक व्यवसाय ठप्प प्रायःछ । एक–आध देश बाहेक पूरा विश्व बन्दाबन्दीको स्थितिमा छ । यो महामारीको अन्त्य कहिले हुन्छ ? कसरी हुन्छ ? कहिलेसम्म बन्दाबन्दी कायम रहन्छ ? आदिजस्ता कोरोनासँग सम्बन्धित जिज्ञासाहरुको ठोस जवाफ कुनै निकायबाट आउन सकेको छैन।
यद्यपी विश्व स्वास्थ्य संगठन लगाएत विकसित देशहरु कोरोनाको प्रकृति अध्ययन गर्दै यस बिरुद्धको भ्याक्सिन तथा औषधि मुलो बनाउने हेतुले विभिन्न वैज्ञानिक अनुसन्धान गर्दै अनुसन्धानको नतीजालाई परीक्षण गर्नमा ब्यस्त रहेका छन् । आजको युग वैज्ञानिक युग हो त्यसैले आशा गरौँ कोरोना बिरुद्धको यो महासंग्राममा वैज्ञानिक अनुसन्धान र परीक्षणहरूले सफलता प्राप्त गर्नेछन् । यस्ता अभ्यासहरुले सार्थकता पाउँनेछ । अहिलेको सन्दर्भमा हामी कोरोना बिरुद्ध पूर्णरुपमा साबधानी अपनाउंदै आशाबादी बन्नुको विकल्प छैन ।
नेपालको सन्दर्भमा अहिले के देखिन्छ भने जब छिमेकी मित्रराष्ट्र भारतले विभिन्न राज्यबाट सर्वसाधारणलाई आ–आफ्नो घर पठाउने हेतुले रेल, बस सञ्चालन गर्याे त्यसपछि भारतबाट आ –आफ्नो गाउँ ठाउँ तिर फर्किने नेपालीहरुको लर्को लाग्यो र लागिरहेको छ । जुन कुरा स्वाभाविक हो । जो नेपाली दाजुभाई दिदीबहिनीहरु सिधा नाकाबाट प्रवेश गर्नुभएको छ । वहाँहरुलाई खासगरी स्थानीय निकायको पहलमा क्वारेन्टाइनमा राख्ने कार्य भइरहेको छ । यद्यपी क्वारेन्टाइनको ब्यवस्थापन सन्दर्भमा बिभिन्न समस्याहरु देखापरेका छन् । क्वारेन्टाइनमा राखेका व्यक्तिहरुको आरडीटी र पिसिआरबाट कोरोना परीक्षण भइरहेको सरकारले बताएता पनि परीक्षण किटको अभाव, तालिम प्राप्त जनशक्तिको अभाव आदिजस्ता समस्याहरुको कारण नेपालमा कोरोना परीक्षण प्रभावकारी नभएको प्रष्ट देखिन्छ । पिसिआरबाट गरिने कोरोना परीक्षणको नतिजामा ढिलासुस्ती देखिएको छ । देशकै राजधानी काठमाडौँमा समेत कोरोना परीक्षणको नतीजा प्राप्त गर्न करिब एक हप्ता कुर्नुपरेको छ । यो कोरोना परीक्षणमा भएको ढिलासुस्तीको ज्वलन्त उदाहरण हो । देशको राजधानीमा त यो हाल छ भने अरु ठाउँमा के होला सजिलै अनुमान गर्न सकिन्छ ।
अर्कोतिर भारतबाट नेपाल आउने सबै दाजुभाई दिदीबहिनीहरु नाकाबाट प्रवेश गर्नुभएको छैन । धेरै संख्यामा नेपालीहरु सुरक्षाकर्मीको आँखा छली लुकिछिपी खुला सिमानाको फाइदा लिई नेपाल प्रवेश गरेको समाचार आइरहेका छन् । यसरी नेपाल प्रवेश गर्ने मानिसहरुलाई सम्बन्धित घरपरिवार तथा समुदायको सहयोग बिना क्वारेन्टाइनमा राख्न असम्भव प्रायः देखिन्छ । लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम जारी रहँदा नेपालमा बढिरहेको कोरोना संक्रमणको दर अझै बढ्दै जाने निश्चित छ र यसले यहाँ ठूलो संकट निम्त्याउने छ भन्दा अतियुक्ति नहोला । भारतबाट आउने नेपालीहरु किन नाकाबाट आउन आनाकानी गरिरहेका छन् ? उनीहरु किन लुकिछिपी नेपाल प्रवेश गरिरहेका छन् ? यस्तो स्थितिमा किन सरकारले उचित कदम चाल्न सकेको छैन ? यो काम कसको हो ? नागरिकको सुरक्षा गर्ने प्रमुख जिम्बेवारी कसको हो ? आदिजस्ता यावत् सवालहरु प्रत्येक नेपालीको मनमा तरंगित छन् ।
अहिलेको सन्दर्भमा यी सबै सवालहरु महत्वपूर्ण छन् । कहाँ कहाँ के के कमजोरी भएका छन् ? कसको कमजोरीले यस्तो भएको छ ? राम्रोसँग सोँच्नुपर्ने बेला आएको छ । सोँच्ने मात्र होइन यसो हुनुको कारण पत्ता लगाई प्रत्येक नागरिकको सुरक्षाको खातिर उचित कदम चाल्नु पर्ने समय आएको छ । उचित कदम चाल्ने सरकारले हो । नेपालमा तिन तहका सरकार छन् । राम्रोसँग समन्वय गरी काम गर्ने हो भने कोरोनासँगको युद्ध जित्न सकिन्छ । कोरोनाद्वारा सिर्जित महामारीबाट देशलाई मुक्त गर्नको लागि सरकारले निर्णय गरेका कुरा, नेपाली जनता समक्ष बाचा गरेका कुरा अक्षरस कार्यान्वयन गर्नु पर्दछ । सरकार यो मानेमा चुकेको छ ।
सरकार यो महामारीबाट देशलाई छुटकारा दिलाउन एक से एक निर्णय गरिरेहेको छ । तर, ती निर्णयहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्न सरकारलाई मुश्किल परेको छ । सरकारका कामकारबाहीहरु फितला भएका छन् ।सरकार कोरोना परीक्षणको दायरा बढाउने निर्णय गर्छ निर्णय कागजमा मात्र सिमित देखिन्छ । बिदेशमा भएका नेपालीलाई सुरक्षित रुपमा नेपाल ल्याउने भन्छ । तर, त्यसको लागि आवश्यक गृहकार्य गर्दैन । क्वारेन्टाइनलाई व्यवस्थित बनाउने भन्ने पनि धेरै सुनियो तर स्थिति जिउँका–तिउँ छ । यी त केहि उदाहरणहरु मात्र हुन् । हो यो महामारीबाट बच्न र देशलाई बचाउन सरकार एक्लैले मात्रै गर्न सक्दैन । यसमा कसैको दुई मत छैन ।
सरकारलाई चिकित्सक, सुरक्षाकर्मी , बुद्धिजिवी , बिभिन्न संघ संस्थाका साथै आम नागरिकको साथ तथा सहयोग अवश्य चाहिन्छ । तर यी सबैको साथ तथा सहयोग लिँदै कोरोना विरुद्धको लडाइँमा उचित योजना बनाइ योजना अनुसार सफलता प्राप्त गर्नको लागि सबैलाई परिचालन गर्ने भनेको सरकारले नै हो । त्यसैले सरकारले निर्णय गरेका कुराहरु लागु गर्नुपर्दछ । यदि निर्णय अनुसार काम भएन भने सम्पूर्ण दोष सरकारलाई जान्छ । त्यसैले अहिलेको अवस्थाबाट देशलाई मुक्त गराउनको लागि सरकार कोरोना बिरुद्धको लडाइँमा आवश्यक तालिम प्राप्त जनशक्ति बढाउने , कोरोना परीक्षणकोलागि आवश्यक किट उपलब्ध गराउने , अघिल्लो पंक्तिमा उभिने चिकित्सक तथा सुरक्षाकर्मीको मनोवल बढाउने आदि कार्यमा कटिबद्ध भई अगाडि बढ्नु पर्दछ ।
संकटको घडीबाट देशलाई ब्यवस्थित रुपले पार लगाउने नेतृत्व नै सफल नेतृत्व हो । अहिले हामी नेपाली एकातिर कोरोना महामारीसँग भिड्दै छौं भने अर्को तिर नेपाल सरकारले वर्षौंदेखि भारतले अतिक्रमण गरेको नेपाली भूमिलाई समेटेर नयाँ नक्सा जारी गरेपछि चिडिएको भारतसँग लड्दैछौं । अतिक्रमण गरेको भूमि हाम्रो हो भन्ने यथेष्ट प्रमाणहरु हामीसँग छन् । सायद त्यसैले होला नेपालले आग्रह गरेको वार्तालाई भारतले आलटाल गरिरहेको छ । भारतीय सञ्चार माध्यमहरु नेपाल विरुद्ध खनिएका छन् । भारतसँगको सिमा विवाद मुद्दामा नेपालमा एक अभूतपूर्व राष्ट्रिय एकता देखिएको छ । यो सकारात्मक एवम् सुखद पक्ष हो । सरकारले यो एकतालाई कायम मात्र राख्ने होइन यसलाई अझ मजबुत पार्दै लैजानु पर्दछ । यदि देश एक ढिक्का भयो भने बैरी जतिसुकै बलियो भए पनि डराउनु पर्दैन ।
भारतसँगको यो समस्या समाधानका खातिर संविधान संशोधन गरेर दुई देश बीचको सम्बन्धमा दरार नआउने गरी निकै सुझ–बुझका साथ चलाखीपूर्ण ढंङ्गले विज्ञहरुको सुझाव लिई सरकारको उचित कुटनीतिक पहलकदमी आवश्यक छ । किनभने नेपालका सिमाविद तथा बुद्धिजीवीहरुले समस्या समाधानका खातिर सरकारलाई सुझाएको उपाय उचित कुटनीतिक पहलकदमी नै हो । सिमाविद तथा नापी विभागका पूर्व महानिर्देशक बुद्धिनारायण श्रेष्ट भारतद्वारा अतिक्रमित भूमि नेपालको भएको यथेष्ट प्रमाणहरु हामीसंग सुरक्षित भएकोले सरकारले यो बिषयमा डटेर अगाडि बढ्नु पर्ने बताउँछन् । उनी भन्छन् यदि भारतले समस्या समाधानका खातिर नेपालले चाल्ने कुटनीतिक पहललाई बेवास्ता गरिरहे संयुक्त राष्ट्र संघमा प्रमाणहरु पेश गरी समस्या समाधान गर्नुको विकल्प छैन ।
त्यसैले सिमा विवाद समाधान गर्न सरकार बिभिन्न राजनीतिक दल , विज्ञहरु आदिको आवश्यक तथा उचित सल्लाह सुझाव लिई अभूतपूर्व राष्ट्रिय एकतालाई मजबुत बनाउदै अगाडि बढ्नुको विकल्प छैन । कोरोना महामारीबाट छुटकारा पाउन र भारतसँगको सिमा बिबादलाई नेपालीको शिर उच्च हुने गरी समाधान गर्नको लागि हामी एक जुट भएर हातमा हात मिलाएर अगाडि बढ्नु पर्दछ । सरकारले गरेन भन्दै सरकारको विरोध गर्नुभन्दा सरकारलाई झक–झक्याइइ जसले जहाँबाट जे सहयोग गर्न सकिन्छ सहयोग गर्दै सबै नेपाली जनता एक ढिक्का भई उच्च मनोवलका साथ समस्या समाधानको लागि अगाडि बढौं यहिँ हाम्रो कर्त्यव्य हो । दृढ संकल्पका साथ काम गरियो भने हामी पक्कै सफल हुनेछौं ।
प्रतिक्रिया