ताजा अपडेट »

चाउचेस्कू प्रवृत्तिको राजनीतिक पुर्नजन्मको अभ्यास

शनिबार, १७ जेठ २०७७

रुमानियाको कम्युनिष्ट पार्टीका कार्यकर्ता जो १९६५ मा पार्टीको सर्वोच्च स्थान र राष्ट्रको सर्वोच्च स्थान प्राप्त गरि पार्टी, जनता र देशलाई नै बर्बादीको रसातलमा पुर्याएका थिए ।अन्त्यमा जनताबाटै हत्या गरिएका घिनलाग्दा नामधारी कम्युनिष्ट तानाशाहको नाम हो ‘निकोलई चाउचेस्कूू’ । उनी प्रारम्भमा क्रान्तिकारी नै थिए । पार्टी कामको शिलशिलामा १९३६ र १९४० मा गिरफ्तार भई जेल बसेका थिए ।

सन् १९६५ मा उनी रुमानिया कम्यूूनिष्ट पार्टीको महासचिव बनेका थिए । त्यसपछि लगातार १९८९ सम्म अर्थात् मर्ने बेलासम्म पनि उनी महासचिव नै थिए । १९६७ मा उनी रुमानियाको राष्ट्रपति बने, १९७४ मा स्टेट अफ काउन्सिलको अध्यक्ष । यी सबै पद मर्ने बेलासम्म उनीसँग नै थिए । जब उनी रुमानियाको राजकीय सत्तामा प्रवेश गरे अनि उनको विचारमा परिवर्तन आयो । भौतिक परिवेशले चेतनालाई बदल्छ भन्ने भनाई उनिमा राम्रोसँग लागू भयो । उनीमा ‘सत्ता नै सबथोक हो सत्ता र कुर्चीका निम्ति जुन हदसम्म पनि जान सकिन्छ’ भन्ने सोँचको विकास भयो । राजकीय सेवा सुविधा र सत्ताले उनको मनमा आजिवन सत्तामा बसिरहने र सुख सयल र भोग विलास गर्ने मनसायले घर ग‍र्याे । उनमा कुविचारहरु आउन थाल्यो ।उनिमा लक्ष्यमा पुग्न बाधा देखिने सबै विषयहरु हटाउने साँेचको विकास हुन थाल्यो । परिणामतः उनी मर्ने बेलासम्म पनि सत्तामा रहिरहे । उनले सत्तामा रहिरहन सबैभन्दा पहिले प्रेस स्वतन्त्रता माथि बन्देज लगाएका थिए । उनले नागरिक समाज र मानव अधिकार माथि रोक लगाउने काम गरे। उनको कार्यकालमा कैयौं भिन्न विचारहरु स्टालिनको कार्यकालमा जस्तै मारिनु परेको थियो । पार्टी भित्रका भिन्न मतका नेता र विचारलाई समेत उनले समाप्त पारेका थिए ।

चाउचेस्कुको कार्यकालमा अकल्पनीय भ्रष्टाचारका घटनाहरु भएका थिए । ती भ्रष्टाचारहरु सबै राजकीय सत्ताको संरक्षणमा गरिने गर्दथ्यो । उनले राज्यकोषको चरम दुरुपयोग गरे । उनको खानपान, रहन–सहन, उनको बसाई, विश्वका गिनेचुने राजा महाराजाहरुको भन्दा कम थिएन । विश्वका कम्यूूनिष्ट शासकहरुमा मोजमस्ती र सुविधा लिने शासकमा पहिलो नम्बरमा चाउचेस्कुलाई राख्न सकिन्छ । उनको सो व्यवहारकै कारण देशमा झन् पछि झन् गरिबी बढ्दै गयो । विदेशी ऋणले देश थला प‍र्याे । सन् १९८२ सम्म आउँदा जनताको जीवनस्तर धेरै तल खस्यो । अन्तमा केही उपाय नलागेपछि जनताले तानाशाह चाउचेस्कुलाई गोलि ठोकेर हत्या गरि सत्ताच्यूूत गराएका थिए ।

नेपाल चारदशक लामो सङ्घर्ष पछि सामन्तवादी राजतन्त्रात्मक राज्यव्यवस्थाको अन्त्य गरी गणतन्त्रात्मक नेपालमा प्रवेश गरेको छ । यतीबेला हामी कहाँ “वामपन्थी “ विचार बोकेको अत्यन्तै मनमोहक, आकर्षक नारा र योजना सहित वाम एकता गरेर चुनावमा आई पुगेको पार्टीलाई नेपाली जनताले सुविधा सम्पन्न बहुमत सहित अत्यन्तै आसा, विश्वास र भरोसाका साथ राजकीय सत्ताको जिम्मेवारी दिएका छन् । यति बेला उसले जिम्मेवारी समालेको तीन वर्ष पुग्न थालेको छ । यो तीन वर्षको सत्ता संचालकको रुझान हेर्दा यो कुन दिशातर्फ गइराखेको छ । यस्को यात्रा समाजवादतिर छ कि पूूँजीवाद ? या सामन्तवादी अभ्यासमा फर्कदै छ कि अन्य कुनै दिशातर्फ ? तीन वर्षका सूचकांकहरुको पूूर्वानुमान गर्दा यो “वामपन्थी “ सरकार आफ्ना घोषित लक्ष्यबाट पछाडि हट्ने मात्र होइन विपरित दिशातिर त जाँदै छैन ! भन्ने जिज्ञासा तथा प्रश्न उठाउने ठाउँ प्रशस्तै देखिएका छन् ।

जब देशमा भ्रष्टाचारका आकारहरु बढ्न थाले , जनस्तरबाट व्यापक आवाजहरु उठिरहँदा पनि ती भ्रष्टाचारहरु रोक्नुको साटो, भ्रष्टाचारलाई नै संरक्षण गर्ने खालका चिन्तनहरु देखा पर्नथाले । सम्पत्ति शुद्धिकरण आयोग लगाएतका सस्थाहरुलाई बालुवाटारको अधिनस्त राख्ने निणर्यहरु जब गरिन थाले , जब भष्ट्राचारको बारेमा गित लेख्ने पशुपति शर्माहरुलाई मानसिक यातना दिई यूूट्यूूबबाटै गीत हटाउन बाध्य पार्न थालियो । प्रेस स्वतन्त्रतालाई अंकुश लगाउनको निमित्त पटक पटक अध्यादेश ल्याउने जमर्को गरियो । अहिले नागरिक समाज , प्रेसकाउन्सिल र राजनीतिक दलहरूको खबरदारीको कारण त्यो विषय अगाडि बढेको छैन, भोलि आफ्नो अनुकूल पर्दासाथ ती जनविरोधी विचारहरुले टाउको उठाउने छैनन् भनेर भन्न सकिदैन ।

आफ्नै पार्टी भित्र भिन्न मत र भिन्न विचारका स्वरहरुलाई नियन्त्रण र निस्तेज पार्ने प्रयासहरु हुँदै आएको कुरा सहजै अनुमान गर्न सकिन्छ । पछिल्लो पटक दुई वटा अध्यादेशहरु ‘राजनीतिक दल सन्बन्धि अध्यादेश’ र ‘संवैधानिक आयोग सम्बन्धि अध्यादेश’ मन्त्रीमण्डलबाट निर्णय गरी राष्ट्रपतिबाट प्रमाणिकरण समेत गराइएको घटना ताजै छ । भलै नागरिक समाज, प्रेस जगत, विपक्षि पार्टीहरु र मुख्यतः आफ्नै पार्टीबाट समेतको जोडबलले हाललाई ती निणर्यहरु फिर्ता भएका छन् ।तर,अन्य पक्ष कमजोर हुँदा बखत यो विचारले टाउको नउठाउला भन्न सकिदैन किनकि उनीहरुको दिमागबाट त्यो कुरा हटेको छैन । उनीहरुले यो घटना बारे पार्टीमा र सदनमा आत्मा आलोचना गरेका छैनन् । राजनीतिक दल सम्बन्धि अध्यादेश अर्को पार्टीका सभासदहरु हाम्रो पार्टीमा ल्याउनको लागि ल्याइएको हो भनेर खुलेआम प्रधानमन्त्रीले भन्नु गम्भीर विषय बन्न पुग्दछ ।

सांसद अपहरण काण्ड र त्यस्मा देखिएको सत्ताको संलग्नता भन्ने विषयले अझ गम्भीर बनाएको छ । दुई पार्टी विभाजन गर्ने र एक ठाउँ एघार जना र अर्को ठाउँबाट सातजना आफ्नो पार्टीमा समावेश गरि आफ्नो पार्टीका असहमत रहेका नेताहरूलाई या त बाहिर गर्ने या साइजमा ल्याउने अविछिन्न सत्ता संचालन गर्ने योजना थियो भनेर भन्न सकिन्छ । जुन सत्तामा भिन्न मत , भिन्न विचार कहि कतै नहोस् अविछिन्न रूपमा विना रोक टोकका साथ सत्ता चलिरहोस् भन्नी अभिप्राय ले काम गरेको देखिन्छ । यतीबेला हामी देख्दछौ कि शासक वर्ग र जनताको जीवनस्तर रुमानियामा जस्तै फरक पर्दै गइरहेको छ । जनता क्रमश : गरिब बन्दै जाने र शासकवर्ग क्रमश : करोडपती र अरबपती बन्दै जाने, राष्ट्रपतिदेखि सभासदसम्मका सेवा सुविधा बढाउँदै लैजाने, जनताका सेवा सुविधामा कटौती गर्दै जाने, शासकहरुले विलासिताको दायरा बढाउँदै जाने दिशातर्फ राज्य केन्द्रीत रहेको कुरा सूूचकांकहरुले संकेत गरिरहेका छन् ।

शाषक वर्ग ‘फुटाउ र राज गर’ को नीतिबाट मात्रै अगाडि बढ्न सकिन्छ भन्ने मानसिकतामा रहेको देखिन्छ । त्यसैले सबै जाति , भाषा, धर्म सम्प्रदाय र पार्टीहरुलाइ समेत विश्वासमा लिएर अगाडि बढ्नु राम्रो हुन्छ भन्ने कुरा बुझ्दैनन् । उनीहरु जात–जातको बीचमा, धर्म–धर्मको बीचमा, पार्टी–पार्टीको बीचमा, आफै संलग्न रहेकोे पार्टीमा समेत समूह–समूह र व्यक्ती –व्यक्ती बीचमा विभेद सिर्जना गर्ने कोसिस गर्दछन् । राष्ट्रवादि र राष्ट्रघातिको मनस्थितिमा जनतामा विभेद ल्याउने गर्दछन् र ल्याइरहेका छन् । शासकहरु आफ्नै पार्टीको आदेशमा चल्न आवश्यक ठान्दैनन् । ‘जनवादी केन्द्रीयता’को विधि उनिहरुलाई बिझ्ने काँडा जस्तो लाग्दछ । ’सामूूहिक निर्णय,व्यक्तीगत जिम्मेवारी’को वैज्ञानिक विधि उनिहरु मान्दैनन् । अहंकार र सर्वसत्तावादको चिन्तनबाट अगाडि बढ्दै जाँदा शासकहरुमा चाउचेस्कुमा जस्तै सत्ता मोहले ग्रस्त भई त्यस्को लागि उनीहरु तानाशाहहरुले अपनाएको मार्ग अपनाउन पुग्दछ्न् ।

अहिले यो चिन्तन अत्यन्तै प्रारम्भिक चरणमा छ । अतः सबैले समयमा नै ध्यान क्रेन्द्रीत गरौं । यस खालका प्रवृत्ति , दृष्टिकोण र चिन्तनहरुका विरुद्ध निरन्तर शंघर्ष जारी राखौं, स्वयम् सम्बन्धित पार्टीले स्वच्छाचारी र सर्वसत्तावादको गत्यव्य जो अन्ततोगत्वा चाउचेस्कुको बाटोमा गएर मिसिन्छ । त्यस्लाई विधि र सामुहिकतामा ल्याउने कोसिस गरौं । सम्बन्धित पार्टीको चेतना खुलोस् । ‘जनता महान हुन , देश महान हो, म जनताको शासक होइन सेवक हुँ, म पार्टीको एक सिपाही हुँ, पार्टीको निर्णय मान्नु नै मेरो अनुशासन हो’ भन्ने चेतनाको विकास गर्न सकियो भने मात्र चाउचेस्कु प्रवृत्रिलाई निस्तेज पार्न सकिन्छ । निर्णय गर्ने अधिकार यहाँहरुसगँ सुरक्षित छ । हामी सकारात्मक सोँच राख्ने सुभचिन्तकहरु हौं । सबैको जय होस् ।