सन्धिखर्क । देशमा केही गर्न सकिएन भन्दै रोजगारीको सिलसिलाको लागि एकाएक विदेश पलायन हुने युवाहरु प्रशस्त देखिन्छन् । तर, मिहिनेत, लगनशिलता र धैर्य कायम राख्न सकियो भने नेपालमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन्, अर्घाखाँचीका प्रदिप आचार्य । जिल्लाको सन्धिखर्क नगरपालिकाؘ- २ घोचेखोलाका युवा प्रदिप आचार्य कृषि पेशाबाट नमुना पात्र बन्न सफल भएका छन् । उनी मिहिनेतमा विश्वास गर्छन् । यसरी उनी कृषि पेशाबाट राम्रो आम्दानी गर्न सफल भएका छन् ।
पढाईको लागि घर छोडेर जिल्ला बाहिर बसे । बजारको महङ्गो तरकारी किन्नुपर्ने । माध्यमिक शिक्षा अध्ययन गरिसकेछि उनले बुटवलमा इलेक्ट्रिकल ओभरसियर अध्ययन सुरु गरे । अध्ययन गर्दागर्दै आचार्यले कृषि कर्मको सपना देखे, देशमै केही गर्न पर्छ भन्ने मनैदेखि सोँच बनाए । त्यही सपनाको योजनामा सहयात्री भइदियो उनको परिवार । त्यसपछि पढ्ने र कृषि कर्ममा निरन्तरता दिन थाले । उनले कृषितथा भेटेनरी सम्बन्धि अध्ययन पनि गरे । उनी खेतीपातीको लागि सधैंजसो खेतमा समय बिताउँछन् । उनको खेतमा मौसमी तथा बेमौसमी तरकारीहरु उत्पादन भएका छन् । गोभी, बन्दगोभी, आलु, लौका, सिमी, हरियो साग, काक्रा र टमाटर लटरम्म फलेका छन् । उनको फर्मबाट उपभोक्ताहरुलाई सहुलियत दरमा तरकारी बिक्री गर्दै आएको उनी बताउँछन् । कृषि कर्म बनाइरहेका २७ वर्षिय आचार्यले १० रोपनी जग्गामा तरकारी खेती ७ रोपनिमा घाँस तथा अन्नबालीहरुको खेती गरेका छन् । व्यवसायिक कृषि पेशालाई अंगाल्दै अगाडि बढेका आचार्यले मोटर र कुलो प्रयोग गरि सिचाँईको व्यवस्था मिलाएका छन् । जसले गर्दा तरकारी र फलफूलका लागि प्रयाप्त पानी दिइँदै आएको छ ।
कृषिमा अध्ययन तथा राम्रो अनुभव बटुलेका उनलाई अहिलेसम्म घाटा व्यहोर्न परेको छैन् । जिल्लाको सदरमुकाम सन्धिखर्क त्यसैपनि चहलपहल छ । बसोबास गर्नेको संख्या पनि थुप्रै छ । उनलाई तरकारी बेच्न बाहिर जानुपरेको छैन । आफ्नै ठाउँमा राम्रो उत्पादन गर्न सफल उनी प्रशंसा योग्य भएका छन् । सदरमुकाममै बढ्दो सहरीकरण, उच्च घनत्वले गर्दा बजारको मागअनुसार उत्पादन गर्न नसक्दा र देखासिखीबाट तरकारी खेती गर्दा समस्या पर्ने गरेको बताउँछन् । ८ जना सदस्यको परिवारबाट उनलाई राम्रो साथ तथा हौसला मिलेको छ । ७६ वर्षिय हजुरबुवा पनि खेतीपातिमा व्यस्त हुने गरेको उनलाई परिवाबाटै राम्रो सहयोग मिलेको छ । उनले आवश्यकता अनुसार रोजगार दिने गरेका छन् । तरकारी खेती मात्र होइन, गाईपालनबाट राम्रो आम्दानी गर्दै आएको उनले बताए । विगत ८ वर्षदेखि यस क्षेत्रमा लागेका उनीहरुले गाईको दुध र तरकारी खेतीबाट मात्रै वार्षिक १४ देखि १५ लाखसम्म आम्दानी हुने गरेको उनको भनाई छ । सन्धिखर्क नगरपालिका वडा नं. ९ र १० मा पशु स्वास्थ्य प्राविधिकका रुपमा कार्यरत आचार्यले एग्रोभेट सेन्टर पनि सञ्चालन गरेका छन् । कृषकहरुका समस्या समाधान गर्न कृषककै घरमा पनि पुग्ने गरेको उनले बताए । कृषकको घरमै पुगेर निःशुल्क रुपमा अन्न तथा तरकारी वाली सम्बन्धि प्रदर्शनी तथा तालिम पनि दिने गरेका छन् । उनीहरुले किसान परियोजनासँग सहकार्य समेत गरेका छन् । परिवारमा ४ जनाले कृषि, पशु तथा भेटेनरी सम्बन्धि अध्ययन समेत गरेका छन् ।
आचार्य परिवारले जस्तो मन लगाएर आफ्नै भूमिमा काम गर्न सकियो भने कृषिजन्य वस्तु आयातमा कमि आउन सक्छ । हाम्रा पाखा पखेरामा रहेका उर्वर जग्गाहरु वर्षाैदेखि बाँझा रहि आएका छन् । मेहेनेत र परिश्रम गर्न सकियो भने आफ्नै माटोमा सुन पनि फलाउन सकिन्छ । घोचेखोला एउटा त्यस्तो ठाउँ हो, जहाँ तरकारी खेतीमा अब्बल मानिन्छ । सन्धिखर्कको नरपानी जगतबाट दैनिक तरकारीहरु जिल्ला सदरमुकाम सन्धिखर्कमा आउने गर्छ । यस्तै पाणिनी गाउँपालिकाको पोखराथोक, खिदीम, पणेना, धातिवाङ्गमा उत्पादन भएको तरकारी पाल्पा, बुटवल निर्यात हुँदै आएको छ भने छत्रदेव गाउँपालिकाको भगवतिमा उत्पादन हुने तरकारी तम्घास जाने गर्छ । तर,अब ती उपभोक्ताहरुले चिन्ता गर्नु पर्ने छैन । तरकारी खेतको रुपमा चिरपरिचित ठाउँहरु पनि हाम्रो जिल्लामा रहेका छन् ।’ उनले भने ।
चीनको वुहान प्रान्तमा देखिएको नोवल कोरोना भाईरस (कोभिड- १९)ले विश्वभरलाई अहिले आतंकित बनाइरहेका बेला भारतमा संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएसँगै रोजगारीका लागि गएका जिल्लावासी आफ्नो घर फर्किएका छन् भने कोही आउने क्रममा छन् । कोरोना भाइरसले गर्दा विश्वको अर्थतन्त्र नै धरासायी हुने अवस्थामा पुगेको छ । यसले गर्दा आगामी दिनमा गरिबी पनि नबढ्ला भन्न सकिन्न । भारतबाट आएका र जिल्ला मै भएका नागरिकले अब सोच्नुपर्ने बेला आएको छ । आचार्य परिवारले जस्तै कृषि, साना तथा मझौला उद्योग, व्यवसाय गर्न पछि पर्नु हुँदैन । तर, यसो भनिरहँदा प्रविधिविना अनूकुल मौसममा मात्र गरिने तरकारी खेतीमा हाम्रो परम्परागत सोँच र व्यवहार परिवर्तन हुन सकेको छैन । आम्दानीभन्दा बढी खर्च हुने भएकाले कृषि पेशामा आकर्षण हुन नसकेको होकी भन्ने बुझिन्छ । तर, स्थानीय सरकारले आधुनिक कृषि प्रणाली कसरी गर्ने भन्ने बारेमा ध्यान दिन जरुरी रहेको आचार्य बताउँछन् ।
मानिसको दैनिक जीवनमा प्रयोगमा आउने वस्तु तरकारी पनि एक हो । हामीले दिनँहु भोक मेटाउन खाने परिकार जस्तैः भात, रोटी, आँटोसँग नुनको प्रयोग गरेर बनाउने तरकारी अति आवश्यक वस्तु हो । तरकारी त्यस्तो वस्तु हो, जुन हामीलाई नभई हुदैन । मौसम अनुसार व्यवसायकि तथा घरायसि प्रयोजनका लागि तरकारी उत्पादन गर्ने गरिन्छ । विश्वमा कृषि प्रधान देश भनेर चिनिने नेपाल तरकारीमा समेत आत्मनिर्भर बन्न नसक्दा अन्य देशमा निर्भर रहनु परेको छ । नेपाल सरकारले कृषि क्षेत्रलाई प्रहिलो प्राथमिकता दिएता पनि छुट्याईएको बजेट सम्बन्धित ठाउँमा अझै पनि पुग्न सकेको छैन । वार्षिक अर्बौ रकम बराबरको तरकारीहरु भारतबाट नेपाल आउने गरेको पाइन्छ । नेपालमा भारतबाट दैनिक भित्रिने तरकारीहरु विषादी मिश्रित हुने गर्दछ ।
‘कृषकहरुले मिहिनेत गरेर तरकारी उत्पादन नगरेका पनि होईनन् । उपभोक्ताहरुले देशमै उत्पादन भएको तरकारी महंगो भयो भन्ने र भारतबाट आयत भएको तरकारी खरीद गर्ने गर्छन् । तर, भारत लगाएत छिमेकी जिल्लामा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएसँगै जिल्लामा तरकारी आयातमा शून्य जस्तै भएको छ । जिल्ला प्रशासन कार्यालयले पनि सूूचना निकालेर तरकारीमा रोक समेत लगाएको छ । यसरी प्रशासनले जिल्लाभन्दा बाहिरबाट आउने तरकारीमा रोक लगाएपछि उपभोक्ताहरु चिन्तित बनेका छन् । विहान बेलुकाको समयमा प्रयोगमा आउने तरकारी कहाँबाट खरीद गर्ने भन्ने चिन्ता लागेको हो ।
प्रतिक्रिया