आदरणीय स्थानीय सरकार प्रमुखहरु,
हुन त यहाँहरुलाई सुझाव पच्दैन मलाई थाहा छ । सुझावलाई यहाँहरु गाली सम्झनुहुन्छ । अनि सुझाव कार्यान्वयन गर्नु त कता हो कता सुन्नै चाहनुहुन्न भन्ने पनि मलाई थाहा छ, तरपनि एउटा जिल्लावासीको हैसियतले यहाँहरुलाई सानो सुझाव राख्न चाहन्छु ।
कोरोका कारण संसार नै आततायी बनिरहेको बेला यहाँहरुले नेतृत्व गरेको सरकार पनि यसबाट अछुतो छैन । यस महामारीको विरुद्ध यहाँहरुले खेल्नुभएको भूमिका अनि सक्रियताको लागि धन्यवाद । आगामी दिनमा हुनसक्ने संभावित खतराबाट बच्नको लागि निम्न उपाय अवलम्वन गर्दा कसो होला ? कृपया छलफलको विषय बनोस भन्ने चाहन्छु ।
क. जिल्लामा रहेका सवै स्थानीय तहहरुको सक्रियतामा पिसिआर परीक्षण गर्ने मेसिन किन्ने विषयमा छलफल गरौं । १ करोड २० लाखको हाराहारीमा मेसिन आउने अवस्था रहने हो भने हरेक स्थानीय सरकारले २० लाख उठाउदा मेसिन किन्ने अवस्था बन्दो रहेछ ।
ख. प्रत्येक स्थानीय सरकारले कम्तिमा १००० वटा पिसिआर किट तत्काल खरीद गर्ने व्यवस्था मिलाउदा कसो होला ? पहिलो चरणमा भारतबाट आएकाहरु सहित अत्यन्तै जोखिमयुक्त व्यक्तिहरु (सुरक्षाकर्मी, जनप्रतिनिधी र पत्रकार, बैंकका क्यासियर, पेट्रोल पम्पका कर्मचारीहरु लगायत) लाई अविलम्व परीक्षणको दायरामा ल्याएमात्र यो महासंकट विरुद्ध लड्न सकिन्छ जस्तो मलाई लाग्छ । अनि दक्ष जनशक्तिको व्यवस्थापनतर्फ पनि तत्काल सोचविचार गर्नुपर्छ ।
ग. दोस्रो चरणमा कमसेकम एक घर एक परिवार पर्नेगरी परिक्षणको दर तिव्र बनाउनुपर्छ कि भन्ने लाग्छ । यसरी हरेक घरघर परीक्षण गर्न सकियो भने केरोना विरुद्धको लडाइको आधार निर्माण हुनसक्छ ।
घ. माथीका कार्यहरु गर्नको लागि आर्थिक संकट पर्दैन भने ठिकै छ, तत्काल शुरु गरियोस् । हैन भने सम्वन्धीत पालीकाभित्र सर्वपक्षिय छलफल मार्फत आर्थिक स्रोतको व्यापक खोजी र पहिचान गरी यो अभियान अगाडी बढाइयोस् ।
जनता हरेक छाकमा गास काट्न तयार छन्, हरेक छाकबाट नुन अनि तेल बचाउन तयार छन्, अनि यो संकटको विरुद्धमा स्थानीय तहले गर्ने साच्चैको प्रयासमा हातेमालो गर्न तयार छन् । कृपया जनताको भावनाको सम्मान गर्दै आमरुपमा एकतावद्ध बनौं । कोरोनाविरुद्धको लडाइमा विजय प्राप्त गरौं ।
प्रतिक्रिया