ताजा अपडेट »

‘महिलाहरुको बलिदानबाट नै देशमा गणतन्त्र ’

शुक्रबार, २४ फागुन २०७५

फागुन २४,
काठमाण्डौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ८ मार्च अर्थात १०९ औं अन्तर्रा्िष्ट्रय श्रमिक महिला दिवसको अवसरमा शुभकामना दिएका छन् । पुर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले जनयुद्ध र विभिन्न प्रकारका संघर्षहरुमा नेपाली महिलाहरुको नेतृत्व र सहभागिताले नै नेपाल सामन्तवादबाट मुक्त हुन सकेको बताएका छन् ।

प्रचण्डले महिला दिवसको अवसरमा शुभकामना सन्देश दिंदै नेपालको राजनैतिक परिवर्तनमा नेपाली महिलाहरुले देखाएको संघर्षको कीर्तिमान नेपालको इतिहासमा मात्र होइन विश्व इतिहासमा स्वर्ण अक्षरले लेखिएको दावी गरेका छन् ।

प्रचण्डले शुभकामना सन्देशमा भनेका छन्, ‘नेपाली महिलाहरुको आफ्नै त्याग, तपस्या र बलिदानबाट नै देश संघीय लोकतान्त्रिक गणतन्त्रमा आउन सफल भएको हो । वर्तमान संविधानमा महिलाहरुको ३३ प्रतिशत संसदमा प्रतिनिधित्व सुरक्षित गरी एसियामै राजनीतिमा महिलाको उच्च सहभागिता हुने मुलूकमा हाम्रो देश पर्न सफल भएको छ ।’