ताजा अपडेट »

ओसाका बनिन् विश्वमै सबैभन्दा बढी कमाउने महिला खेलाडी

सोमबार, १२ जेठ २०७७

लन्डन : विश्व खेलकुदमा सबैभन्दा बढी कमाउने महिला खेलाडीको सूचीमा जापानी टेनिस खेलाडी नाओमी ओसाकाले अमेरिकाकी सेरेना विलियम्सलाई पनि उछिनेकी छन्।  फोब्र्स म्यागजिनद्वारा जारी विश्वका सर्वाधिक कमाउने खेलाडीको पछिल्लो सूचीमा ओसाका पहिलो स्थानमा उक्लिएकी हुन्। 

यसअघि उक्त सूचीमा अमेरिकी टेनिस खेलाडी सेरेना पहिलो स्थानमा थिइन्।  पछिल्लो १२ महिनाका अवधिमा २२ वर्षीया ओसाकाले विभिन्न प्रतियोगिताको पुरस्कारबाट मात्रै तीन करोड सात लाख पाउन्ड कमाएकी छन्।  सोही अवधिमा ३८ वर्षीया सेरेनाले पुरस्कारबाट कमाएको रकमभन्दा ओसाकाले १० लाख १५ हजार पाउन्ड बढी हात पारेकी छन्।  ओसाका दुई पटककी ग्रान्ड स्लाम च्याम्पियन खेलाडी हुन्।  ओसाकाले सन् २०१८ मा यूएस ओपन र सन् २०१९ मा अस्ट्रेलियन ओपनको उपाधि जितेकी थिइन्।  बाँकी दुई ग्रान्ड स्लाम प्रतियोगिता फ्रेन्च ओपन र विम्बल्डनमा भने उनी तेस्रो चरणभन्दा अगाडि बढ्न सकेकी छैनन्। 

३८ वर्षीया सेरेना भने २३ पटककी ग्रान्ड स्लाम च्याम्पियन खेलाडी हुन्।  सन् २०१७ पछि भने सेरेनाले कुनै पनि ग्रान्ड स्लाम प्रतियोगिताको उपाधि जित्न सकेकी छैनन्।  उनले अन्तिम पटक सन् २०१७ मा अस्ट्रेलियन ओपनको उपाधि हात पारेकी थिइन्।  फोब्र्स म्यागजिनले सन् १९९० देखि प्रत्येक वर्ष विश्वमा सर्वाधिक कमाउने महिला खेलाडीहरूको सूची प्रकाशित गर्दै आएको छ।  त्यसयता हरेक वर्ष सर्वाधिक कमाउने महिला खेलाडीको सूचीमा टेनिसकै दबदबा रहँदै आएको छ।  ओसाकाका पिता हाइटीमा जन्मिएका हुन् भने आमा जापानकी हुन्। 

यस वर्ष फोब्र्स म्यागजिनले जारी गरेको सर्वाधिक कमाउने खेलाडीहरूको सूचीमा समग्रमा भने ओसाका २९औं स्थानमा छिन्।  सेरेना भने ओसाकाभन्दा चार स्थान तल छिन्।  फोब्र्सको सम्पूर्ण सूची भने आगामी साता मात्र सार्वजनिक गरिने बताइएको छ।