आज नारी दिवस । नारी उन्मुक्तिको दृष्टिले यस दिनको विशेष महत्व छ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ। नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने थालिएको हो।
सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट क्लारा जेटि्कन सेक्रेटरी भइन्। त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको शिकागो सहरमा महिलाहरूले समान अधिकारको माग लिएर महिलाहरूले हड्ताल र विशाल जुलुश प्रदर्शन गरे।
महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रुपमा ८ मार्चलाई महत्वपूर्ण दिनमा रुपमा मान्ने गरिएको छ।
क्लारा जेटि्कन सन् १९१० मा कोपेनहेगेनमा महिलाहरूको द्वीतीय अन्तर्राष्ट्रिय सम्मेलनमा जर्मनी मार्क्सवादी नेतृ क्लारा जेटि्कनले ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउने प्रस्ताव राखिन् र त्यो प्रस्ताव पारित भएपछि सन् १९११ देखि विश्वभरिका महिलाहरूले ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको रूपमा मनाउन थालेका हुन्।
सम्बन्धित सरकारी निकाय एवम् महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले यो दिवस मनाउने क्रममा देशभर ¥याली, गोष्ठी र अन्तरक्रिया गर्दै छन् । यसरी विभिन्न कार्यक्रम गरी हरेक वर्ष महिला दिवस मनाउनु महिला उन्मुक्ति एवम् सशक्तीकरणका लागि राम्रो कुरा हो ।
तर महिलाहरुको अधिकारका लागि संघर्ष थालनी गरेको शताब्दी नाघिसक्दा पनि आज महिलाहरु अपहेलित भएर बाँच्नुपरिरहेको अवस्था छ । आज पनि महिलालाई बोक्सीको आरोपमा अपमानित ढंगले हत्या गर्ने जस्तो कार्य रोकिन सकेको छैन । त्यसैले नारी दिवस यस्तो गरी मनाउऔं कि जसले महिला हिंसा रोकियोस्, व्यावहारिकरुपमै महिलाले आफ्ना अधिकारहरुको उपयोग गर्न सकून् ।
महिलाका विषयमा जति भाषण छाँटे पनि अहिलेसम्म समाज र संस्कार चलाउन छोरा नै चाहिन्छ भन्ने मान्यताले जरो गाडेको छ । छोरीको जन्मलाई निषेध गर्ने कार्यमा महिलाहरु आफैंलाई पनि लाग्न बाध्य पारिएको छ । लिंग पहिचान गरी गर्भमा छोरा देखिए राख्ने र छोरी भए तुहाउने कार्य मुलुकभरि व्याप्त छ । कतै दाइजोको निहुँमा महिलालाई यातना दिइएको छ त कतै बोक्सीको आरोपमा मलमूत्र खुवाइएको छ । आफ्नै बाबु तथा हजुरबा नाता पर्नेहरुले समेत बलात्कारका प्रयास गरेका समाचार आइरहन्छन् ।
महिलाका लागि सरकारले केही गरेन भन्नचाहिँ सकिँदैन । उनीहरुका लागि केही क्षेत्रमा सरकारले कोटा छुट्याएको छ तर पूर्णरुपमा सबै महिलाले यसको प्रतिफल प्राप्त गर्न सकेको देखिँदैन । महिला भएकै आधारमा आरक्षित कोटामा परेका उच्च जातका, समृद्ध, घरानिया, टाठाबाठा र सम्भ्रान्त महिलाले तुलनात्मकरुपमा आरक्षण व्यवस्थाको भरपूर फाइदा उठाइरहेका छन् । आरक्षण पाउनुपर्ने वास्तविक लक्षित वर्गले आरक्षणको उपयोग गर्न सकेको देखिँदैन । हाल अपनाइएको आरक्षण व्यवस्थालाई लक्षित वर्गका महिलासम्म सहजरुपमा पु¥याउनका लागि यसमा देखिएका कमी–जोरीहरुलाई सुधार्न जरुरी छ ।
पुरुषले नारी हक–अधिकारका बारेमा ठूला भाषण गर्ने भन्दा पनि हरेक पुरुषले वर्षभरि नै आ–आफ्ना घरमा नारी–मैत्री वातावरण निर्माण गर्नु अपरिहार्य छ । अनि मात्र गाउँ, समाज हुँदै राष्ट्रिय स्तरमै नारीको सम्मान हुन्छ । महिला एवम् पिछडिएको वर्गको हकहितमा बढी नै जोड दिई निर्वाचनमा समेत सफलता हात पारेको एनेकपा पार्टीको नेतृत्वमा सरकार बनेको छ । सोही पार्टीकै नेतृ राष्ट्राध्यक्षमा छिन् । महिला नै राष्ट्रप्रमुख भएको यस अवस्थामा महिला उत्थानका कार्यक्रम राज्यको प्राथमिकतामा पर्नुपर्छ ।
जुनसुकै निहुँमा महिलामाथि हुने अन्याय, उत्पीडन र विभेदको समूल अन्त्य गर्दै हिजोको भन्दा फरक धारमा आममहिलालाई उभ्याउन सक्नुपर्छ यो नारी दिवसले । कर्मकाण्डीरुपमा नभएर सार्थक र उपलब्धिमूलक बनाउन सकियो भने मात्र दिवस मनाउनुको औचित्य हुन्छ । नारी दिवस सार्थक बनोस् ।
प्रतिक्रिया