ताजा अपडेट »

प्रदेश ५ मा १०९औ अन्तराष्ट्रिय महिला दिवस

विहीबार, २३ फागुन २०७५


महिला अधिकार महिलाको मात्रै होइन : मन्त्री बराल


फागुन २३,
ग्लोबल आवाज
बुटवल । महिलाको विषयलाई महिला मात्रैको नभै साझा विषयका रुपमा अगाडि बढाउन सरोकारवालाले जोड दिएका छन् । महिलाको कुरा पुरुषले बोल्दा प्रभावकारी हुने भएकाले महिला अधिकारको सवालमा पुरुषले पनि वकालत गर्नुपर्ने उनीहरुले बताए । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले बिहीबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।


सामाजिक विकास मन्त्री सुदर्शन बरालले अब प्रदेशमा हुने महिला अधिकार र हिंसा विरुद्धको अभियानमा पुरुषलाई अगाडि लगाउने बताए । महिला सशक्त र अधिकार सम्पन्न बन्नु महिलाका लागि मात्र नभएर सबैको आवश्यकता भएकाले यसो गर्न लागिएको उनले बताए । ठूला ठूला आन्दोलन पुरुषको अगुवाइमा भएको बताउदै उनले अब महिलाका बारेमा पनि पुरुषले वकालत र आन्दोलन गर्ने अवस्था ल्याउनुपर्ने बताए । मन्त्री बरालले प्रदेशले महिलाको शिक्षा र रोजगारी बढाउन ध्यान दिएको जनाए ।

शिक्षा र रोजगारीमार्फत महिला सशक्त भए त्यो प्रभावकारी हुने उनको भनाइ थियो । लैंगिक समानता र महिला अधिकारका लागि थुप्रै उपलब्धी भएपनि तिनलाई संस्थागत गर्न नसकिएको भनदै अव नीति र कार्यक्रम मार्फत संवोधन गर्ने उनको दावी थियो ।


उपसभामुख कृष्णी थारुले महिला अब अधिकारका लागि लड्न भन्दा उपलब्धीलाई कार्यान्वयन गर्न लाग्नुपर्ने बताइन् । संविधान र ऐन नीतिले विभेद नगरेपनि व्यवहारमा महिला पुरुषबीच विभेद रहेको भन्दै उनले अब त्यसलाई कार्यान्वयनमा लैजानुपर्ने बताइन् । धेरै महिला नेतृत्व तह र निर्णायक तहमा पुगेको बताउदै उनले यसलाई महिला अधिकारको रुपमा उपयोग गर्न आग्रह समेत गरिन् ।


कार्यक्रममा प्रदेश सांसद रिना नेपालले कार्यपत्र प्रस्तुत गरेकी थिइन् । सांसद रमा अर्याल, तारा जीसी, पुर्मती ढेंगा मगर, दिपेश पुन लगायतले महिलाको क्षेत्रमा अब गर्नुपर्ने काम र जिम्मेवारीबारे बताए । कार्यक्रममा सुझाब दिदै अधिकारकर्मीहरुले शिक्षा र शिक्षा बमोजिमको उपयुक्त रोजगारीका लागि महिलालाई शिक्षा, रोजगारी र अर्थतन्त्रमा सबल बनाउनु पर्ने बताए । पितृसत्ता, कुरीति र कुसंस्कार लैंगिक विभेदकोे मुल जरो भएकाले त्यसलाई फेर्न उनीहरुले सुझाए ।