बेइजिङ । चीनले अमेरिकी केही राजनीतिज्ञहरुलाई दोषारोपणको खेल रोक्न आग्रह गरेको छ ।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हालै विश्व स्वास्थ्य संगठनलाई पठाएको पत्रबारे टिप्पणी गर्ने क्रममा चीनले यस्तो जनाएको हो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआनले मंगलबार पत्रकारहरुमाझ यस्तो प्रतिक्रिया दिएका हुन् ।
अमेरिकी पत्रमाथि टिप्पणी गर्दै लिजिआनले अस्पष्टताले भरिएको र चीनबारे भ्रम पैदा गरेको बताएका छन् । ‘हाल कोभिड १९ को संक्रमण अमेरिकामा अझै फैलिएको छ । महत्वपूर्ण कार्य भनेको जीवन रक्षाका लागि समन्वय गर्नु र ऐकवद्धता व्यक्त गर्नु हो । हामी केही अमेरिकी राजनीतिज्ञहरुलाई दोषारोपणको खेल बन्द गर्न र भाइरसविरुद्ध एक हुन आग्रह गर्छौँ,’ प्रवक्ता लिजिआनले भने ।
चीनबारे बारम्बार कोरोनाभाइरस फैलाएको आरोप लगाउँदै आएका अमेरिकी राष्ट्रपति ट्रम्पले डब्लूएचओमाथि पनि आरोप लगाइरहेका छन् । सोमबार मात्रै उनले डब्लूएचओलाई स्थायी रुपमै अमेरिकी सहायता रोकिदिने चेतावनी दिएका थिए । चीनको ‘कठपुतली’ बनेको भन्दै ट्रम्पले डब्लूउचओमाथि पनि कडा आरोप लगाउने गरेका छन् । यसैको जवाफी प्रतिक्रियाको रुपमा डोनल्ड ट्रम्पलाई लक्षित गर्दै चिनियाँ अधिकारीले मंगलबार यस्तो आरोप रोक्न आग्रह गरेका हुन् ।
प्रतिक्रिया