ताजा अपडेट »

श्रीलंका टुरका लागि भारत तयार

आइतबार, ०४ जेठ २०७७

नयाँ दिल्ली । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले श्रीलंका टुरका लागि तयार रहेको बताएको छ । जुलाई ६ देखि सुरु हुने तय भएको एकदिवसीय र टी–ट्वान्टी सिरिजका लागि भारतिय क्रिकेट टोली तयार रहेको बोर्डले जनाएको हो ।  भारतीय टोली टुरका लागि आफ्ना तर्फबाट तयार रहे पनि यसका लागि सरकारले अनुमति दिनु पर्ने बोर्डको भनाइछ ।

“बोर्ड श्रीलंका टुर गर्न चाहन्छ, यदि सरकारले अनुमति दिन्छ भने,” बीसीसीआईका कोषध्यक्ष अरुण धुमलले भने, “यो सबै सरकारमा निर्भर हुन्छ कि सरकारले लकडाउन र विदेश यात्रामा कति छुट दिन्छ भन्ने । यदि हाम्रो खेलाडीको स्वास्थ्य र सुरक्षासँग कुनै सम्झौता हुँदैन भने हामी श्रीलंकका टुरका लागि तयार छौं ।” श्रीलंका क्रिकेट बोर्डले बीसीसीआईलाई बन्द रंगशालामा तीन–तीन खेलको एकदिवसीय र टी–ट्वान्टी सिरिज गर्न आग्रह गरेको थियो । जुलाईका लागि प्रस्ताव गरिएको उक्त सिरिजमा श्रीलंका बोर्डले क्‍वारेन्टाइनको पालना गर्ने समते जनाएको छ । 

यसअघि श्रीलंकाले बीसीसीआईलाई १३ औं संस्करणको इन्डियन प्रिमयर लिग (आईपीएल) आयोजनाका लागि समेत प्रस्ताव गरेको थियो । तर, बीसीसीआईका सचिव जय शाहले खेलाडीको स्वास्थ्य र सुरक्षा पहिलो प्राथमिकता भएको प्रतिक्रिया दिएको थियो ।