काठमाडौं । जर्मन बुन्डेस लिगा फुटबलमा बोरुसिया डर्टमण्डले जित निकालेको छ । कोरोना महामारीको कारण लामो समयपछि शनिबार भएको खेलमा डर्टमण्डले शाल्केलाई ४-० गोलको फराकिलो अन्तरले हराएको हो ।
डर्टमण्डका लागि राफेल गुईरेरियोले दुई गोल गरे । यस्तै अर्लिङ हालाण्ड र थोर्गन हाजार्डले एक एक गोल गरे । खेलको २९ औं मिनेटमा हालाण्डले गोल गर्दै डर्टमण्डलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ४५ औं मिनेटमा राफेलले गोल गर्दै डर्टमण्डलाई पहिलो हाफमा २-० को अग्रता दिलाए । दोस्रो हाफमा पनि डर्टमण्डले थप दुई गोल गर्यो । खेलको ४८ औं मिनेटमा हाजार्डले गोल गर्दा डर्टमण्ड ३-० ले अघि रह्यो ।
त्यसपछि खेलको ६३ औं मिनेटमा राफेलले व्यक्तिगत दोस्रो गोल गर्दै डर्टमण्डलाई ४-० को सहज जित दिलाए । जितसँगै डर्टमण्डले शीर्ष स्थानको वायर्न म्युनिखसँगको अंक दुरी १ मा झारेको छ । डर्टमण्डले २६ खेलमा ५४ अंक जोडेको छ । एक खेल कम खेलेको वायर्नको ५५ अंक रहेको छ ।
प्रतिक्रिया