तत्कालीन दुई ठूला पार्टीहरु नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) मिलेर नेपाल कम्युनिष्ट पार्टी(नेकपा) गठन भएको जेठ ३ गते नेकपाले दोस्रो वर्षगाँठ मनाउँदैछ । फरक स्कूलिङ्ग र फरक परिवेशबाट आएका दुई पार्टीहरुका एकीकरण रहस्यमय नै मानिन्छ आजपनि । के १४ वर्ष जेल जीवन गुजारेका अध्यक्ष केपी ओली र १४ वर्ष कठोर भूमिगत जीवन बिताएका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)को झोंक्की वा सन्की स्वभाव नै पार्टी एकीकरणको गूढ कुरो हो त ?
यी दुई नेताहरु पार्टी एकीरकण अघि खरो दुस्मनसरि व्यवहार र कटाक्ष गर्थे । लाग्थ्यो उनीहरु एकअर्कालाई नै सिध्याउन जन्मिएका हुन् । ओलीका बोली र प्रचण्डका व्यवहार पछिल्लो समय पार्टी एकीकरणका लागि कसरी एक हुन पुगे । पार्टी एक हुनका लागि किन आवश्यक ठाने दुईले ? सरकार सञ्चालन गर्न ? पालोपालो प्रधानमन्त्री बन्न ? विरोधीहरुलाई तह लगाउन ? विकास गर्दै समाजवादोन्मुख राष्ट्र निर्माण गर्न ? वा विश्वमा छरिएर रहेका कम्युनिष्टहरुलाई पार्टी एकताको गतिलो सन्देश प्रवाह गर्न ?
संघीय एवम् प्रदेशस्तरीय चुनावी एकताले देशमा रहेका आमनागरिकहरुलाई एउटा राम्रो सन्देश दिन सक्यो र करिव करिव दुई तिहाईको नजिकको मत प्राप्त गर्न सक्यो । फरक फरक चुनाव चिन्हका कारण सोचे अनुसारको मत प्राप्त गर्न सकेनन् कि भन्ने उनीहरुका आफ्नै तर्क छन् । स्थानीय निर्वाचन र त्यसको परिणामको पाठले मात्र उनीहरु पार्टी एकीकरणको नजिक पुगेका हुन् भन्ने लाग्दैन । स्थानीय तहको निर्वाचनमा जित्नैका लागि उनीहरुले गैह्कम्युनिष्टहरुसँग पनि गरेको तालमेल घीनलाग्दो थियो । खर्चको वेपर्वाह देखिन्थ्यो कहिं कतै ? झडपहरु समेत प्रशस्तै भएका थिए ।
तैपनि उनीहरुले मदन–आश्रितको रजत स्मृतिको अवसर पारेर पार्टी एकीकरणको घोषणा गरे । आज पार्टी एकीकरणको दोस्रो वर्षगाँठ हो । एकीकरणपछि पार्टीले जुन गतिशीलता लिनु पर्ने र छलाङ्ग मार्नु पर्ने हो त्यो हुन सकेन । सिंगो पार्टी नै संघीय र प्रदेश सरकारको गठन,ऐन,कानून,कार्यविधिहरु तयार पार्न नै तल्लीन रह्यो । पार्टी नै सरकारको कामकाजमा व्यस्त रहन पुग्यो । एकहदसम्म भन्न सकिन्छ कि पार्टीको काम ओझेल प¥यो । पार्टी र सरकार सञ्चालकहरु नै एउटै भएपछि देखिने परिणाम हो यो ।
पछिल्लो समय केन्द्रीय कमिटी,स्थायी कमिटी,सचिवालय,प्रदेश कमिटीहरु,जिल्ला कमिटीहरु,स्थानीय कमिटीहरु हुँदै टोल कमिटीहरुका संरचना गठन भए । पार्टीका जनवर्गीय संगठनहरु,विभागहरु गठनका कामले अग्रसरता पाउँदै गएका छन् तर पूर्णता भने पाइसकेका छैनन् । पार्टीको केन्द्रीय सचिवालयका बैठकहरु निरन्तर आवश्यकता अनुसार बस्दै आएका छन् । त्यस्तै स्थायी समिति र केन्द्रीय कमिटीका बैठकहरु समेत भइरहेका छन् । प्रदेश कमिटी र जिल्लाका बैठकहरुले क्रमशः बसी रहेका छन् । स्थानीय पार्टी कमिटीहरु सक्रिय रुपमा पार्टी सदस्यता नवीकरण र पार्टी सुदृढीकरणको अभियानमा लागेको परिवेशमा विश्वव्यापी कोरोनाका कारण आफ्ना अभियानहरुलाई थाँती राखेर सरकारले लागू गरेको लकडाउनलाई पूर्णपालना गरी बसेका छन् ।
विरोधीहरु भन्छन्–कम्युनिष्टहरुलाई जुट्न र फुट्न कुनै आइतवार कुर्नु पर्दैन । धेरैले भन्ने गरेको कम्युनिष्ट एकता र फुट त्यति सहज छ ? किन जुट्छन् कम्युनिष्टहरु ? केका लागि फुट्छन् उनीहरु ? कम्युनिष्टहरु कुन उद्देश्यका लागि एकीकृत हुन्छन् र कुन रीस साँध्न पार्टीलाई विभाजन गरेर दुनियाँ हँसाउछन् ? के नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को एकीकरण क्षणिक हो । विरोधीले भनेकै जस्तो एकीकृत हुन र विभाजन हुन आइतवार कुर्न पर्दैन ? सिद्धान्त,व्यवहार र जनमुखी हुनका लागि एकता गरिन्छ वा कसैलाई देख्लास् र पख्लास् भन्ने ईगोका निम्ति पार्टीको मिलाप गराइन्छ ? कि शक्ति प्रदर्शन र सरकार गठनका निम्ति मात्र पार्टीलाई एकीकरण गरिएको हो ?भन्नेहरुले त उत्तर दिशामा रहेको छिमेकीले नेकपालाई हतार हतार मिलाई दियो । नत्र उत्तरी र दक्षिणी ध्रुव जस्ता दुई पार्टीहरु एक्कासी एउटै बन्न सम्भव थिएन । सत्य कति होला त्यो त समयले निर्दिष्ट गर्दै जाने छ । समयजति बलवान अरु छँदै छैन । पर्दा खुल्दै जाँदा नाटकका पात्रहरु र भूमिका स्पष्ट हुँदै जान्छन् ।
मैले माथि नै प्रश्न गरेको छु –दुई ठूला कम्युनिष्ट पार्टीको एकता किन आवश्यक ठहरियो ? सबैका मत एक नहुन सक्छन् । वर्तमान पुँजीवादी समाजलाई एकीकृत पार्टीले कसरी हेरेको छ ? यो समाजलाई परिवर्तन गर्दै समाजवादोन्मुख नेपाल निर्माणका निम्ति यो पार्टीको नेतृत्व र दायित्व कहाँनेर परिभाषित हुन्छ ? भागवण्डा र तँछाड मछाडका निम्ति पार्टी एकीकृत गराइएको र सरकारको नेतृत्व नै मूलध्येय हो भने कम्युनिष्ट पार्टीका नेता,कार्यकर्ता र शुभचिन्तकहरुले आशा गरेको समाजवादहुँदै साम्यवादको लक्ष्य कोरा सावित हुने छ र आगामी यात्राको परिणाम शून्यप्राय हुनेछ ।
कम्युनिष्टहरु कर्मशील,कर्तव्यनिष्ट,अग्रगामी र भविष्योन्मुख हुन्छन् । यो सत्य हो । नेपालमा एकीकृत भएको यो नेकपाको मूलध्येय नै भूइँमान्छेहरुलाई उठाउने हुनुुपर्छ । जेट हाँक्ने भनेका अध्यक्षहरुले सारङ्गी जस्ता पेटका आवश्यकतामा कति योगदान दिने छन् ? देशलाई पुँजीवादको यो दलदलबाट छिट्टै मुक्त गरी समाजवादतर्फ जुट्न आफ्ना नेता,कार्यकर्ता र शुभचिन्तकहरुलाई नेतृत्व गर्दै दिशावोध गर्नुपर्छ । यो युगलाई समाजवादी संक्रमणको युगको रुपमा परिभाषित गर्दै अघि बढ्नुपर्छ । कम्युनिष्टहरुका सार–पुँजीवाद ध्वंसात्मक हुन्छ र समाजवाद निर्माणात्मक हुने गर्छ । नेपाल कम्युनिष्ट पार्टी( नेकपा) यो विचार वा तर्क मान्न तयार छ कि छैन आजको मूल प्रश्न यसरी तेस्रिएको छ ।
माक्र्सले लेखेको पुँजीको पहिलो खण्डमा पुँजीवादको मुख्यकुरो भनेकै निर्दयिता हो भनिएको छ । पुँजीवादको मूलध्येय नै शोषण हो । जब कार्ल माक्र्सले यस्तो भनेका छन् भने नेकपाले यो शोषणको जरो पुँजीवादलाई उखेल्दै समाजवादको यात्रा कहिलेदेखि तय गर्छ ? यो यात्रामा सिंगो देशलाई कहिले हिंडाल्छ ? कि संविधानको प्रस्तावनामा मात्र समाजवादोन्मुख समाज निर्माणको परिकल्पना गरेर गोडामुती न्यानो अनुभव मात्र गर्छ ।
माक्र्सवादीहरुका अनुसार संसारमा पहिले आदिम साम्यवाद,त्यसपछि दास युग,त्यसपछि सामन्तवाद,त्यसपछि पुँजीवाद,समाजवाद हुँदै साम्यवाद आउँछ भन्ने तर्क छ । यी युगहरु क्रमशः आउँछन् या कुनै युग नआइ अर्को युगले फड्को मार्छ भन्ने कुरा नेपालका कम्युनिष्टहरुले कहिले विमर्श गरेका छन् ? कि रेडबूक घोंके जस्तै युगको निरन्तरतालाई यसरी नै घोंकिरहेका छन् ? कमरेड मदन भण्डारीले माक्र्सवादलाई सिर्जनात्मक रुपमा प्रयोग गरौं भन्ने नारा दिएका थिए । के त्यसरी सिर्जनात्मक तरिकाले प्रयोग सम्भव छ ? कि रिजीड भएर औंश तलमाथि गर्न मिल्दैन वा पाइँदैन भन्ने छ युग विश्लेषणलाई ? वा माक्र्सवादलाई ?
वर्गविहीन समाजको परिकल्पना नै कम्युनिष्ट पार्टीका मूल लक्ष्य हुन् । यो लक्ष्यप्राप्तिका लागि के कस्ता उद्देश्यहरु तय गरिए त ? अर्थात् साम्यवादमा पुग्न तय गरिएका उद्देश्यहरु केके हुन् ? नेपाल कम्युनिष्ट पार्टीका नेतृत्व यस कुरामा क्लियर छन् ? आफ्नो पार्टीका दस्तावेजहरु सोही अनुसार तयार गरिएका छन् ? कार्यकर्ता र शुभचिन्तकहरुलाई सोही गोरेटोमा लैजान कुनै प्रयास र अभ्यास गरिएका छन् ? कि साम्यवाद एउटा सपना हो भनेर मात्र टारिदैछ ? आफ्नो पालामा त यस्तै हो ! आउन एक दिन आउला तर कहिले आउला भनेर सम्धीसँग गफ हाँके जस्तो त हाँकिएको त हैन नि ? विश्वमा धेरै देशहरुमा कम्युनिष्ट सरकार ढलिरहँदा नेपालमा कम्युनिष्टप्रतिको नेपाली मन आकर्षित हुनु कुनै चानेचुने गफको विषय होइन । ओली र प्रचण्डका अनुहारहरु मात्र त्यसका लागि मार्गदर्शन कदापि हुन सक्दैनन् ! नेपालमा भएका १९ दिने शान्तिपूर्ण जनआन्दोलन,दशवर्षे जनयुद्ध र समयसमयमा भएका आन्दोलनको ठोस परिणामले नै नेपालमा गणतन्त्र सम्भव भएको हो । त्यही गणतन्त्रको संस्थागत संरचनामा विश्वास गर्ने र जगको आधार नै कम्युनिष्ट हुन् भन्ने नेपाली मनले आशा र भरोसा गरेपछि पुगनपुग दुईतिहाई नजिकको मतमा पुगेर कम्युनिष्टको सरकार बनाउन सकेका हुन् ।
पार्टी एकीकरण,यसले मनाउँदै गरेको दोस्रो वर्षगाँठ र एकीकरणले दिने नयाँ सन्देश केके हुन सक्छन् ? यसमाथि नेकपा घोत्लिनुपर्ने बेलामा घरिघरि सरकारको नेतृत्वमा देखिएका छिना–झपटी कसैगरी कार्यकर्ता र शुभचिन्तकहरुलाई सह्य हुँदैन । यसले पार्टीलाई उँधोगति हैन अधोगतितिर उन्मुख गराउँछ । हुन त जीवन्त कम्युनिष्ट पार्टीमा मतमतान्तर देखिनु,पार्टीमा विचार माझिनु र मन्थन हुनु पार्टी कमजोर हुनु हुँदै होइन । तर, यस्ता विचार तथा मन्थनहरु तल्लो तहसम्म आउनु सुखद् पक्ष भने हुँदै होइन । पोखिनु र उठाइनु फरक हुन् । तर यीनलाई समय सापेक्षतामा हेरिनु पर्छ ।
नेतृत्वमा कार्यविभाजन,जिम्मेवारी,कार्यकर्ताहरुसँगको सामीप्यता,परिणाममुखी नतीजाले नै सिंगो कम्युनिष्ट पार्टीलाई अघि लैजान सक्छ । नेकपाका करिव आठ लाख क्रियाशील तथा सक्रिय पार्टी सदस्यहरु कामविहीन बनाएर राखियो र लेवीको स्रोतमात्र बनाइयो भने तिनीहरु नै पार्टीका विरुद्धमा उत्रिने सक्रिय सदस्य हुने छन् । पार्टीका नेता कार्यकर्ताहरुलाई जिम्मेवारीपूर्ण नेतृत्व र कार्य तोकिनु पहिलो सर्त हो । त्यसपछि आवश्यक हुने छ –उनीहरुका लागि सामयिक राजनीतिक चेतना र विश्लेषणका लागि पार्टीको सिद्धान्त,नीति,विचार र भावी लक्ष्यसहितको पार्टी प्रशिक्षण त्यो पनि प्रविधिमैत्री ।
थोत्रा गाला बजाएर ईतिहासमात्र होइन,वर्तमान अवस्था र भावी पार्टीको लक्ष्यसहितको तार्किक विचार समय तोकेरै दिनुपर्छ । प्रशिक्षणमा थनथन र गनगनलाई पूर्णरुपमा हटाउनु पर्छ । उहिले मेरा बाजेले घ्यू खाएर भनेर नातीले हात सुँघेर स्वाद थाहा पाइन्छ र अहिले ? नेकपाका पार्टी प्रशिक्षणहरु यस्तै भएका छन् ।सरकार सञ्चालनमा देखा परेका समस्याहरु,सरकारलाई आवश्यक सुझाव र सल्लाहका बारेमा नेकपाका बैठकहरुमा छलफल प्रायशून्य छन् । आलोचना आत्मालोचना व्यक्तिवादी रीस साध्ने माध्यम भएका छन् । कता कता आजभोलि नेकपा सुन्निएर मोटाएको हात्ती जस्तै देखिदैछ । थाहा छैन सानो घ्यू कमिलाले सूँडमा टोक्यो भने थला पर्ने वा मर्ने त होइन ? भनिन्छ–सुन्निएर मोटाउनुभन्दा दुब्लो हुनु कैयौं गुना निरोगी हुनु हो । जाती समेत हो।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले देशको समाजवादी खाका कोर्न सक्यो,नेपालीहरुलाई गरीवीको रेखामूनिबाट माथि उठाउन सक्यो,भ्रष्टाचारमुक्त सरकार एवम् प्रशासन बनाउन सक्यो र स्वाभिमानी नेपाली हुँ भनेर गौरव गर्न सक्ने नीति,योजना र कार्यक्रम ल्याई कार्यान्वनमुखी व्यवहार समाजमा देखाउन सक्यो भने निरन्तर सरकारको चाँबी आफ्नै हातमा राख्ने छ । सरकार वा पार्टीका नेतृत्वमा रहेकाहरुले वर्तमानमा कुनैपनि नेतृत्व फेर्ने कुचेष्टा गरि रहेनन् भने पक्कै पनि कैयौं पटकका भावी सरकारको नेतृत्व यही पार्टीले सहजै सञ्चालन गर्न सक्ने छाँट देखिन्छ । तर त्यसका लागि नेतृत्वमा दृढ इच्छाशक्ति,मेलमिलापको भावना,दूरगामी सोंच, ऐक्यवद्धता र भावनात्मक सामीप्यतासहितको नयाँ सन्देश दिनु सक्नुपर्छ । यो नै एकीकृत पार्टी र दोस्रो वर्षगाँठको आमनागरिकलाई नयाँ सन्देश हुन सक्ने छ ।
प्रतिक्रिया