सन्धिखर्क । पछिल्लो समय विभिन्न जिल्लामा फौजी किराको प्रकोप बढ्दो छ । अर्घाखाँचीमा पनि यसको प्रकोप देखिएको छ । फौजी किराले मकैबाली र तरकारी खेती सखाप पार्न थालेपछि जिल्लाको शितंगगा नगरपालिका क्षेत्रका किसानहरु चिन्तित बनेका छन् । केही दिन यता फैलिएको फौजी किराको प्रकोपले मकै, तरकारी लगाएतका बाली नष्ट पार्न थालेपछि कृषकहरु चिन्तित बनेका हुन् ।
शितगंगा नगरपालिका वडा नं ७, ८, ९ र ११ मा फौजी किराको बढी प्रकोप देखिएको छ । प्रकोपले गाउँपालिका क्षेत्रका झण्डै एक हजार हेक्टर बढी क्षेत्रफलमा लगाएको मकैबाली र तरकारी खेती नष्ट गरेको छ । फौजी किराले खेतबारीमा लगाएको बाली सखाप पारेपछि किसानहरुले यसको नियन्त्रणका लागि सम्बन्धित पक्षसँग सहयोग मागिरहेका छन् । किसानहरुका अनुसार फौजी किराले ठूलो समूहमा आएर घाम लागेको बेला मकैको गुबोभित्र पसेर खाने तथा रातमा कलिला पात खाएर मकैको बोट सखाप पारेका छन् । फौजी किराले गुबो खाएपछि मकैको पात नलाग्ने, सुतली नआउने र घोगा नलाग्ने किसानहरु बताउँछन् । शितंगगाका विभिन्न वडाहरुमा फौजी किराको प्रकोप देखिएपछि सिंगो नगरका किसानहरु नै त्रसित भएका छन् । किसानहरुको गुनासो बढेपछि नगरपालिकाको कृषि शाखाबाट अनुगमन गरी विवरण संकलन गरिएको प्रमुख प्रशासकिय अधिकृत अर्जुन गौतमले बताए ।
नगरपालिकाको कृषि शाखाको टोलीले फौजी किराको प्रकोप देखिएका वडामा केही किटनाशक औषधि छर्किएको र कृषकलाई फौजी किरा नियन्त्रणको घरेलु विधिका बारे जानकारी समेत दिएको गौतमको भनाई छ । स्थानीय स्तरमा पर्याप्त मात्रामा औषधि नभएको र अनुगमन टोलीले ल्याएको रिपोर्टका आधारमा औषधि खरीद गरेर छर्कने योजना बनाएको नगरपालिकाका नगरप्रमुख सूर्यप्रसाद अधिकारीले बताए ।
प्रतिक्रिया