फागुन २०,
बुटवल । रुपन्देहीको देवदहमा भएको नगरस्तरीय अन्तर विद्यालय भलिबलको अन्तिम सेमिफाइनल र फाइनलका खेलहरु मंगलबार हुने भएका छन् । मंगलबार विहान सेमिफाईनलमा देवदहका चार समुहले प्रतिष्पर्धा गर्ने छन् भने चारबाट दुईमा परेका समुहले फाईनल खेलमा प्रतिस्प्रर्धा गर्ने छन् । फाईनलमा जान मंगलबार देवदह मावि र कोलिय मावि तथा भविष्य निर्माण मावि ढेकावर र बुद्ध पब्लिक माविका विचमा खेल हुने भलिवल संयोजक कपिल गौतमले जानकारी दिए ।
सोमबार भएको खेलमा देवदह माविले सिक्टन माविलाई हराएको छ भने कोलिय माविले लुम्विनी माविलाई, भविष्य निर्माण माविले केरवानी माविलाई र बुद्धपब्लिक माविले खड्क माविलाई हराएर अन्तिम सेमिफाईनलका लागि स्थान सुरक्षित गरेका हुन् ।
देवदहमा जारी राष्ट्रिय देवदह औद्योगिक ब्यापार मेला कृषि तथा पर्यटन महोत्सवको अवसर पारेर आयोजना गरिएको भलिवल प्रतियोगितामा देवदह नगरपालिका भित्रका १२ विद्यालय समुहको सहभागिता रहेको थियो । वेष्ट अफ थ्रीमा खेलाइएको भलिवल प्रतियोगिताको विजेता, उपविजेताले नगद, शिल्ड तथा प्रमाणपत्र हात पर्ने बाणिज्य संघका महासचिव हरि भण्डारीले जानकारी दिए ।
‘उद्योग ब्यापार कृषि र पर्यटनको विस्तार देवदहको समृद्धिको आधार’ भन्ने नाराका साथ लागेको मेलामा स्थानीय औद्योगिक उत्पादन, घरेलु उद्योग, कृषिजन्य, हस्तकला, गार्मेन्ट पर्यटन, बैंकलगायतका ४५ जिल्लाका ३ सय स्टलहरु सहभागि भएका छन् ।
यस्तै मंगलबार लोक दोहोरी गायक बैकुण्ठ महत, लोक दोहोरी गायिका भिमु गुरुङ्ग, थारुभाषि गायक श्रीनिवास चौधरी, आधुनिक पप गायक कृष्ण क्षेत्री, हास्य कलाकार निशान्त कटुवालले आफ्नो प्रस्तुती देखाउनुका साथमा डान्स आइडल र अन्तर आमा समुह कला प्रतियोगिता हुने मेला अयोजक संस्था देवदह उद्योग बाणिज्य संघले जनाएको छ ।
प्रतिक्रिया