परासी। पछिल्लो समय तरकारी खेतीतर्फ युवाको आकर्षण बढ्दो छ । व्यावसायिक रुपमा तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि आकर्षण बढेको हो। नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को बर्दघाट नगरपालिका–१३ स्थित धनेवाका एक युवकले वैदेशिक रोजगारी छाडेर गाउँमै अर्गाानिक तरकारी खेती गरेेेका हुन् ।
छोटो समयमै उनले राम्रो आम्दानी गरेका छन् । रासायनिक विषादीको प्रयोग गरिएका तरकारीले स्वास्थ्यमा प्रतिकूल असर परेकाले विदेशबाट फर्केर ३८ वर्षीय कृषक बाबुराम केसीले व्यावसायिक जैविक खेती थालेका हुन् । चार महीनाअघि शुरु गरिएको व्यावसायिक तरकारीखेतीबाट आम्दानी लिन थालिसकेको उनले बताए । “डेढ महीनादेखि तरकारी टिप्न शुरु गरेको थिएँ , अहिलेसम्म २७ क्विन्टल तरकारी बिक्री गरिसकेँ, बन्दाबन्दी छिट्टै सामान्य अवस्थामा फर्के यस मौसममा लगानीसम्म उठाउन सक्छु भन्ने विश्वास छ”, उनले भने। केसीकोे खेतमा अहिले लौका, फर्सी, घिरौँला, करेला, काँक्रा, गोलभेँडालगायत लटरम्म फलेका छन् । रु छ लाख २५ हजारको लगानीमा १२ कठ्ठाभन्दा बढी जग्गामा जैविक विषादीयुक्त तरकारी खेती गरिएको उनले बताए ।
छोटो समयमै रु तीन लाखभन्दा बढीको तरकारी बिक्री गरिसकिएको बताउँदै उहाँले छिट्टै सामान्य अवस्था फर्किए रु पाँचछ लाखसम्मको बिक्री गर्ने लक्ष्य रहेको जानकारी दिए।
वैदेशिक रोजगारीबाट फर्किएर तरकारी खेती शुरु गरेका केसीव्यवसायबाट सन्तुष्ट छन् । “सिङ्गापुर, कतार, कुवेत र इराकमा मैले साढे आठ वर्ष बिताएँ, मेरो वायरिङ्ग र प्लम्बिङ्गको पसल पनि छ तर तरकारी खेतीबाट म सन्तुष्ट छु, हरियो तरकारीबाली देख्दा आनन्द महसुस हुन्छ”, उनले भने । उनले बकैनो, नीम, असुरो, खुर्सानी, आँप र धतुराको मिश्रणबाट घरमै बनाइएको जैविक विषादीको प्रयोग गर्दै आउनुभएको छ । सिङ्गापुरमा रहँदा त्यहाँको एक नेपाली बस्तीमा गरिएको तरकारीखेतीबाट उनी प्रभावित भएका थिए ।
नेपाल फर्केर तरकारी खेती नै गर्ने उद्देश्य बोकेर आउनुभएका केसी नेपाल एग्रोको सल्लाहमा यो व्यवसाय शुुरु गरेर छोटो समयमै उदाहरणीय कृषक बन्ने। अर्गानिक तरकारी पाइन थालेपछि ठूला व्यापारीदेखि उपभोक्तासम्मले उनकै खेतमा पुगेर खरीद गर्ने गरेका छन् । मल्चिङ्ग र थोपा सिँचाइको प्रयोग गरिएकाले उत्पादन पनि राम्रो भएको उनी बताए । “अर्गानिक तरकारीको माग बुटवल, काठमाडौँलगायत शहरमा धेरै छ तर बन्दाबन्दीका कारण त्यहाँसम्म पु¥याउन नसक्दा यहाँ सस्तो मूल्यमा नै बिक्री गर्नुपरेको छ”, उनले भने। माग बढ्दै गएपछि जिल्लाका केही व्यापारीले रासायनिक विषादीको तरकारीलाई पनि धनेवाको अर्गानिक तरकारी भन्दै झुटो प्रचार गरी बिक्री गरिरहेको उनले गुनासो गरे ।
अधिकांश कृषकले छिटो र पर्याप्त मात्रामा आम्दानी लिने चाहनामा तरकारी बालीमा विषादीको प्रयोग बढाउँदा त्यसले स्वास्थ्यमा प्रतिकूल असर गर्ने भन्दै उनी धेरै आम्दानीभन्दा पनि शुद्ध तरकारी उपलब्ध गराउन पाउँदा खुशी मिलेको बताए । बर्दघाट–२ चिसापानीका चन्द्रबहादुर बुढाले पनि एक वर्षदेखि अर्गानिक तरकारी खेती शुरु गरेका थिए । दश कट्ठामा गरिएको तरकारी खेतीबाट वर्षमा तीन पटकसम्म उनले आम्दानी लिने गरेका थिए। “एक सिजनमा दुई लाखसम्म आम्दानी हुन्छ, वर्षमा तीन सिजन तरकारी बिक्री गरिन्छ”, उनले भने । अहिले उनको खेतमा बोडी, करेला, काँक्रा, गोलभेँडा, लौकालगायत तरकारी फलेको छ ।
समाजसेवामा सक्रिय बुढा अहिले प्युठाने कृषि फर्म दर्ता गरेर व्यावसायिक रुपमै तरकारी खेतीमा लागेका छन् । लामो समय विषादीयुक्त तरकारीखेती गर्दै आउनुभएका सुनवलका नरबहादुर खड्काले पनि अहिले अर्गानिक तरकारी खेती गरेका थिए । विगतमा कृषक मात्र हुँदा थाहा नभएर विषादीयुक्त तरकारी खेती गर्दै आएको तर प्रशिक्षक भएर गाउँगाउँमा आफैँले तालीम दिन थालेपछि भने तीन वर्षदेखि अर्गानिक तरकारी खेती शुरु गरिएको उनी बताए । खड्काले सबै प्रकृतिका तरकारी खेतीका साथै बिरुवा बिक्री गर्दै आए ।
“पहिला अर्गानिकको खासै माग थिएन, उपभोक्ताले त्यत्ति बुझेका पनि थिएनन्, म आफँै प्रशिक्षक भएपछि रासायनिक विषादीको प्रयोग बन्द गरेर वनस्पतिका पातहरु मिसाएको जैविक विषादीको प्रयोग गर्दै आएको छु, मेरो खेतबाटै तरकारी बिक्री हुन्छ”, उनले भने । गत वर्ष उहाँले भिन्डी मात्रै रु दुई लाखको बिक्री गरिएको बताए । उपभोक्ताले पनि सस्तोको लोभले विषादीयुक्त तरकारी खोज्दा बजारमा प्रतिस्पर्धा गर्न समस्या रहेको अर्गानिक तरकारी खेती गर्दै आएका कृषकको गुनासो छ ।
जैविक विषादीको प्रयोग हुने भएकाले स्वास्थ्यलाई ख्याल गर्दै अर्गानिक तरकारीकै प्रयोग गर्न कृषकले उपभोक्तालाई आग्रह गरेका छन् ।
प्रतिक्रिया