ताजा अपडेट »

खरानीको टीका

शुक्रबार, १९ बैशाख २०७७

२०७५ जेष्ठ ३ गते नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को ऐतिहासिक दिन थियो । समान कागजी उद्देश्य बोकेर आफ्नो यात्रा तय गरी नेपाली राजनीतिको अग्रपंतिमा पुगेका दुई ठूला कम्युनिष्ट पार्टीहरु (एमाले र माओवादी केन्द्र) का बीच अस्वाभाविक एकीकरण सम्भव भएको थियो । कागजी उद्देश्य यस मानेमा भनेको हुँ कि नेपाली राजनीतिक ईतिहासमा जतिपनि कम्युनिष्ट पार्टीहरुका उदय भए ती सबैका उद्देश्य भनेकै साम्राज्यवादी, विस्तारवादी प्रभुत्ववाद, सामन्तवादी लगायतका सवै प्रकारका शोषण उत्पीडनको अन्त्य थियो ।

तत्कालीन नेकपा एमाले अध्यक्ष केपी ओलीलाई तत्कालीन माओवादी केन्द्रको कट्टर आलोचकका रुपमा लिइन्थ्यो । यस्तो लाग्थ्यो केपी शर्मा ओली र प्रचण्ड चुम्बकका दुई समान धु्रव हुन् । स्थानीय निर्वाचनपछि एकाएक बनेको फरक समीकरण्ले पार्टी एकता सम्भव गरायो । जसका आन्तरिक कारणहरु अनेकन हुन सक्लान् । तर निकै छोटो समयमा गठबन्धन सरकारको नेतृत्व गरेर जनता सामू सुनौला सपनाका सम्भाव्यता र साकार पार्ने आधार तयार पारेका केपी शर्मा ओलीलाई पूर्णबहुमत दिएरर सत्ता सुम्पने प्रायःनिश्चित गरेका जनतालाई पार्टी एकीकरणले थप उत्स्साह थपेको थियो।

अनपेक्षित पार्टी एकीकरणले सात लाख पार्टी सदस्यहरुका मनमा नयाँ उर्जा सञ्चार गरेको थियो । त्यस्तै शंका र उपशंका ज्वारभाटा नउठेका कहाँ हुन् र ? केपी शर्मा ओलीले जनमत जित्ने प्रशस्त पूर्वाधार बनाए । तर एक्लै बहुमत पाउने कुरामा ढुक्क हुन सकेका थिएनन् । आफ्नै सरकारबाट राजीनामा दिएर बहिरिएका माओवादी अध्यक्ष प्रचण्डलाई पुनः सरकारमा जानु अत्यावश्यक थियो । एक्ला एक्लै चुनाव लडेर जाँदा कुनैपनि पार्टीलाई बहुमत नपुगेको खण्डमा फेरि देशमा अस्थीर सरकार बन्ने र नौं नौं महिनामा नै परिवर्तन भइरहने अस्थीर सरकारका निरन्तरताका बारेमा दुवै अध्यक्षलाई थाहा थियो । त्यसैले ती दुई नेताहरुले पार्टी एकता गर्नुको विकल्प भेटेनन् । दस्तावेजमा जे जस्ता मान्यताहरु लेखिए पनि दुवै नेताले स्थायी सरकारको नेतृत्व गर्ने स्वार्थले नै पार्टी एकता भएको हो । यसमा कुनचाँहि नेताको स्वार्थ राष्ट्रियहीत अनुरुप र कुनचाँहिको व्यक्तिगत जनताले छुट्याउने कुरो हो

देश विकास नहुनुमा अस्थीर सरकार नै मुख्य कारक हो भनि बुझेका जनताले नेकपालाई स्पष्ट बहुमतका साथ पाँच वर्षका लागि देशको बागडोर सुम्पिएकै हुन् । स्पष्ट बहुमतका साथ बनेको सरकारले देशमा तीव्र विकास र समृद्धिका लहर ल्याउने आशामा जनता थिए र छन् पनि ।दुईतिहाइ संसदको समर्थनमा केपी ओलीले सत्ता सम्हालेको आधासमय बित्न नपाउँदै पार्टीमा असन्तुष्टिहरु सल्बलाउन शुरु भएका छन् । स्थीर सरकारले आफ्नो एकमात्र अर्जुनदृष्टि देश विकासमा लगाउनु पर्ने बेलामा सत्ता जोगाउन तिर लाग्नुपर्ने बाध्यता प्रधानमन्त्रीलाइ यतिबेला आईलागेको सुनिएकै र देखिएकै हो । कहिले मधेशवादी दल त कहिले नेपाली काङ्ग्रेससँग साठगाठ गर्दै एमालेसँग एकता गरेका प्रचण्डको अस्थीर चरित्रका बारेमा प्रायः सबै जानकार थिए । तैपनि पार्टी एकीकरणका लागि सबै कमजोरीहरु तिनाउका पानी सावित भएकै हुन् ।

वर्तमानमा सरकारले गरेका राम्रा कामहरुको बारेमा गुमनाम रहने र हरबखत कमीकमजोरी मात्रै उजागर गर्ने काम आफ्नै पार्टी पंक्तिबाट भयो भनी प्रधानमन्त्री आफैले बारम्बार भनिरहनुले के खिचडी पाक्दैछ यहाँ ? साँघुरो परिधिभित्रबाट सर्वमान्य निर्णय गर्न असम्भव छ । प्रधानमन्त्रीले गरेका निर्णयप्रति पार्टी पंक्तिबाट विरोध र आफु विरुद्ध उठेका प्रश्नहरुप्रति शुरुआतीमा प्रधानमन्त्री उदासीन हुनु सही समाधान नखोजेर पूर्वाग्रही भए वा भाग खोजे भन्नुले आजको अवस्था सृजना भएको हुन सक्छ । हुन त सत्ताको प्रवृत्ति नै पेलाहा हुन्छ । आपूm विरुद्धका आवाज हदैसम्म दबाउने र एक्लै हिड्ने स्वभाव हुन्छ । तर सरकार प्रमुखले सोच्नुपर्ने यो पनि हो कि आफूले कुल्चिएका ससाना झिल्काहरु कतै मुस्लो बनेर ननिस्किउन् !

नेकपाभित्र शक्ति संघर्षको लडाई यतिसम्म पेचिलो बनेको छ कि आज ऐतिहासिक एकताको त्यो उचाइँलाई निमेष भरमै ढाल्न सक्ने खतरा देखिएको छ । एउटा अध्यक्षलाई लडाउँदा अर्को अध्यक्षको काँध ओझिलो पक्कै हुने छैन । यस विषम परिस्थितिमा प्रचण्ड चातुर्यका साथ मैदानमा छन् । लडाइ प्रचण्डको हो र मैदानमा अरु कोहीसँग लडिदिदै छ । आम जनताबीच प्रचण्डले बिग्रहको कलंक बोक्न नचाहेको स्पष्टै छ । हुन त वरिष्ठ नेता माधवकुमार नेपाल अस्थिरताको कारक आफू बन्न नचाहेको बारम्बार भन्दै आएका छन् । उनका काँधमा राखेर पड्किने बन्दुकले के कति र कसलाई हानी होला भन्न सकिने अवस्था छैन ।

पार्टीका लाखौ कार्यकर्ताका लागि परिस्थिति यस्तो बनेको छ कि आफ्नै पार्टीका शीर्षथ नेताहरु वार्तामा बस्दा आउने निर्णयलाई द्वन्द्वकालीन हाँपुरे वार्ताको निर्णय झैँ त्रासैत्रासले पर्खिनु परेको छ । आफ्नो कित्ता कुन भनेर खोज्नुपर्ने बेला आएको छ । नेकपाको कार्यकर्तामात्रै भन्दा आफ्नो परिचय नखुल्ने परिस्थितिको सिर्जना भएको छ । विषम परिस्थितिमा सरकारको ध्यान अन्यत्रै मोडिएको छ । जनताले अभिभावकत्व महसुस गर्न पाएका छैनन् । जुन कुरा पार्टीका सम्पूर्ण शीर्षथ नेताले बुझ्नु जरुरी छ । कोरोनाभन्दा पार्टी झन् खतरनाक बनेर आइरहेको छ ।

मनमुटावका बीच बैसाख २० गते सचिवालय बैठक पुनःडाकिएको छ । सबैका आँखा र मन त्यतै तानिएका छन् । सच्चा कार्यकर्ताहरुका मनमा ढुकढुकी बढेका छन् । कतिबेला ताजा र सत्य समाचार जो एकताको पक्षमा भएको निर्णय सुन्न कार्यकर्ता आतुर छन् । जवसम्म नेता र कार्यकर्ताहरुमा पूर्वमाओवादी वा पूर्वएमाले भन्ने विचार मनबाट हट्दैन तवसम्म पार्टी एकता भएको मान्न सकिंदैन । एकले अर्काको अस्तित्व सहर्ष स्वीकारेको क्षणमात्रै वास्तविक पार्टी एकताको औचित्य पुष्टि हुने छ ।मनमा मयल राखेर गरिएका सम्झौताहरुमा कहिले सासुको पालो कहिले बुहारीको भने झैँ हुने छ । सबैले सबैको मान राखेर साँच्चिकै जनताका लागि राजनीति गरेको हो भनेर प्रमाणित गर्ने बेला बनेको छ बैसाख २० गते । जो अतिनै प्रतिक्षित भएको छ ।

२० गते बिष ओकलौ । मन माँझामाँझ गरौं । अस्थिरताको बाटो नरोजौं । एकले अर्कालाई देखाइ दिने प्रवृत्ति र पख्लास् भन्ने प्रथाले विनाशका बाटो निम्त्याउने छ । राजनीतिमा अवकाश भन्ने त हुँदैन तर उही कक्षा दोहोर्याएर पढ्ने हाम्रो चलन अवश्य बन्द हुनुपर्छ । यस मानेमा प्रधानमन्त्रीले दोहोरो कार्यकालका लागि आफूलाई कुनै पदका लागि दावेदार नबनाउने घोषणा गरि सकेको अवस्थामा विश्वासको वातावरण सृजना गर्नु उपयुक्त हुने छ । आमै मरिन् भन्दा पनि काल पल्क्यो भनेर पीर गर्नुपर्ने हुन्छ । एकीकृत पार्टीलाई अखण्ड राख्नुको विकल्प छैन । २० गते बिष पिएर नेपाली कम्युनिस्ट राजनीतिको इतिहासमा निलकण्ठ बन्ने सौभाग्यबाट पछि हट्ने छैनन् कोही ।

सचिवालय बैठकले स्थायी रुपमा वैमनस्यता र कटुताको निर्मूल गरोस् । एकापसमा धमिलिएका सम्बन्धहरुमा उर्जा भरी दियोस । लाखौ पार्टी कार्यकर्ता तथा जनमानसमा ढुक्क हुन सक्ने वातावरण सृजना गरि दियोस् । सचिवालयका सम्पूर्ण सदस्यहरु नेकपा नेता मात्र हौ । हिजो के थियौ भन्ने कुराले आजको निर्णयमा प्रभाव नपारोस् । विषम परिस्थितिमा प्रधानमन्त्रीको बहिर्गमन गराएर जिते भन्नेहरुका लागि त्यो केवल घर जलाएर खरानीको टीको लाउनु सरह हुने छ । जो कलङ्कको टीको हुने छ । कोरोनाको विषम परिस्थितिमा आज मास्क लगाई नाकमुख छोपेर गरिएका अदूरदर्शी निर्णयका कारण भोलिका दिनहरुमा जनतासामू नाकमुख देखाउन नमिल्ने परिस्थितिको सृजना नहोस हेक्का राखौ बेलैमा । यसैमा पार्टी,सरकार र नागरिकहरुको हित हुनेछ ।