ताजा अपडेट »

९ वर्ष पछि साँगीतिक क्षेत्रमा फर्के सोबित

विहीबार, १८ बैशाख २०७७

भगवानसँग खुसी फर्काउन आग्रह

पन्ध्र वर्षको उमेरमा ‘ब्यर्थै छ यो जिन्दगी’ गीत रेकर्ड गरी साँगीतिक क्षेत्रमा पाईला चालेका पोखरेली गायक हुन् सोभित बस्याल । उनले २०६१ सालमा ‘जती टाढा भएपनि’ गीत रेकर्ड गराएका थिए । पहिलो गीतबाटनै उनको चर्चा चुलियो । फलस्वरुप पोखरा आसपासमा हुने कार्यक्रमहरुमा उनको सक्रियता बढ्न थाल्यो । ९ वर्ष अगाडि निकालेको पहिलो एल्बम ‘न्यूरोड’ बाटनै साँगीतिक भविष्य सुमधुर बन्ने संकेत गरेको थियो । पप प्याटर्नका दश गीत समावेश गरीएको उक्त एल्बममा मनकामना, तिमी विना, कुन दुरी, जानीनौ, आउँछेउकी, तिम्रोमाया, मायालु, जति टाढा, छुटिने बेला तथा पोखराको बारेमा वर्णन गर्दै ‘मेरो पोखरा’ बोलको गीत समावेश थियो ।

गीतका भिडियोले समेत त्यसताका उनको चर्चा खुबै बढायो । सौखका रुपमा संगीतमा लागेका उनले आफ्रनो व्यवसायिक यात्रा पनि सुरु गरिसकेका थिए । त्यतिबेला नेपाली साँगीतिक फाँट ओरालो लागेको अवस्था थियो । एल्बमको बिक्री शून्य तर लगानी भने बढ्दै गएको थियो । उनले त्यतिबेला साँगीतिक क्षेत्रमा भन्दा व्यवसायिक क्षेत्रमानै आफ्नो भविष्य देखे । उनले आर्थिक रुपमा सक्षम हुने नदेखेरेनै साँगीतिक क्षेत्रको यात्रालाई थाति राखेर व्यवसायिक क्षेत्रतर्फको यात्रालाई अगाडि बढाए । यसमा उनले सफलता पनि पाए ।

आज उनको परिचय संगितबाट भन्दा पनि व्यवसायबाट स्थापित छ । पोखरा र आसपासमा हाल सोबित एउटा ब्यवसायिक ब्राण्ड नै भएका छन्, परिचय एडभरटाईजिङ मार्फत । उनि पोखरामा मात्र होइन नेपालमै सफल बिज्ञापन व्यावसायीका रुपमा परिचित छन् । सोबितले नेतृत्तव गरेको परिचय एडभरटाईजिङ पोखरामा स्थापित ब्राण्डनै भएको छ । उनको सफलतामा मेहनतसंगै जीवन संगिनी सोभाको साथ र साथी–भाईको सपोर्ट मुख्य कारक रहेको उनि बताउछन् ।

संगितलाई थाति राखेर ब्यवसायमा जमेका उनलाई बेला–बेलामा साँगीतिक क्षेत्रमा लाग्ने रहर नपलाएको भने होइन । फुर्सदको समयमा फाट्ट–फुट्ट गीतहरु लेख्ने भने गरिनै रहे । तर व्यवसायीक व्यस्तताले त्यसलाई मुर्तरुप भने दिन सकेका थिएनन् । उनलाई यस पटक भने अवसर जुर्यो । जुन अवसर विश्वभरी महामारीको रुपमा फैलिएको कोभिड–१९ ले सिर्जना गर्यो । कोरोनाका कारण देशै लकडाउनमा भएको बेला उनले व्यवसायबाट पाएको फुर्सदलाई संगित सृजनामा लगाए ।

कोरोनाकै समयमा कोरोनाले पारेको पीडा र असरलाई शब्द र संगितमा उतार्दै सोभित ९ वर्षपछि ‘खुशी फर्काइदेउ’ गीत मार्फत पुनः साँगीतिक क्षेत्रमा कमब्याक भएका छन् । उनले भने, ‘कोरोना महामारीबाट विश्व आक्रान्त भएको बेला दर्शक श्रोतालाई सकारात्मक भावनासञ्चार गर्न यो गीत तयार भयो ।’

यस गीतको रचना संगीत स्वयम् बस्याललेनै गरेका हुन् भने उनलाई गायनमा पोख्रेली गायिका प्राप्ति तुलाचनले साथ दिएकी छन् । भिडियोलाई सुरज श्रेष्ठले खिचेका हुन । गीतको म्यूजक भिडियो परिचय टिभी यूट्यूब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

अब भने साँगीतिक क्षेत्रमा निरन्तरता दिने उनको तयारी छ । पोखराका सञ्चार तथा कलाकारिता क्षेत्रमा आवद्ध झण्डै २५ जनालाई यस म्यूजिक भिडियोमा देख्न सकिने सोभितले जनाए । ‘म नौ वर्षपछि साँगीतिक क्षेत्रमा कमब्याक भएको छु, अब भने साँगीतिक क्षेत्रलाई पनि व्यवसायसंगै निरन्तरता दिनेछु ।’ उनले भने ।

https://www.youtube.com/watch?v=U6SNmHonT8s