कोभिड–१९ कारण विश्व अहिले आक्रान्त बनेको छ । लाखौं मानिसहरु यो रोगका कारण अस्पतालमा छन् । धेरै मानिसहरु कोभिड–१९ का कारण मृत्युको मुखमा पुगिसकेका छन् । केही उपचार पछि घर पनि फर्किएका छन् । यसले नेपालमा पनि प्रत्यक्ष रुपमा असर पुराएको छ । यो संकटको घडिमा मानिसहरु आफै होसियार बन्नु पर्ने बेला आएको देखिन्छ । इटाली , स्पेन, फ्रान्स र अमेरिका कोभिड–१९ का कारण बढि समस्यामा परेका छन् । एक मानिसबाट अर्कोमा डढेलो झैं तुरुन्त सर्ने यो रोगले संसारलाई तर्साएको छ । यसको न्युनिकरण र रोकथामका लागि प्रयासहरु जारिरहेका छन् । केहि समयपछि यसको निराकरण हुनेमा हामी सबै आशावादी हुनुपर्दछ । यसले विश्व अर्थतन्त्रलाई तहस नहस बनाएको छ । मानिसहरु बेरोजगार बनेका छन् । दैनिक गुजारा गरेर गरिखाने वर्गलाई अझ ठूलो समस्यामा पुराएको छ ।
कोभिड–१९ कै कारण मानिसहरुलाई एक ठाउँबाट अर्को ठाउँमा जान कठिन भएको छ । घरबाहिर निस्कन नपाएपछि जनजनलाई उकुस–मुकुस पारेको पाइन्छ । हिजोका ठूलो युद्धहरुमा समेत मानिसहरु यसरी घरमै बन्दी भएर बस्नु पर्ने अवस्था थिएन । तर आज कोभिड–१९ संगका सफल लडाई भनेको सामाजिक दूरी कायम गरि, घरभित्र मात्र सुरक्षित हुने कुरा विश्व स्वास्थ्य संगठनले बताइसकेको छ । यसको आधारमा नेपाल सरकारले पनि लकडाउनलाई प्रयोगमा ल्याएको हो । कोभिड–१९ सँगको लडाई जित्नका लागि लगडाउन मात्र सफल उपाए हुने भएकाले संघीय, प्रदेश र स्थानीय सरकारहरुले यसको पालना गरेका हुन । जुन सफल पनि भएको छ ।
नेपाल सरकारले लकडाउन गर्नुका साथै माहामारी रोक्नका लागि प्रत्यक्ष स्थानिय निकायहरुमा क्वारेन्टाईन निर्माण गरि बिदेशबाट आउने मानिसहरुलाई त्यहाँ राख्ने व्यवस्था गर्नु समेत रोकथामको सफल उपाए भएको हो । स्थानीय निकायहरुले अहिले नेपालमा लकडाउनको पालना गराउनुका साथै मानिसहरुलाई क्वारेन्टाइनमा राख्ने र समस्या परेका परिवारलाई राहत वितरण, औषधि उपचार , कृषि क्षेत्र तथा स्थानिय उत्पादनलाई बजार सम्म पुराउने भूमिका खेलका छन् ।
प्रदेश सरकारहरुले पनि आइसोलेसन अस्पतालहरुको निर्माण तथा सञ्चालन, शंकास्पद बिरामीहरुको तुरुन्त चेकजाचको व्यवस्था, स्थानिय निकायले गरेका कामहरुको अनुगमन, जनतामा परेका प्रत्यक्ष समस्याहरुको समधानमा अग्रमोर्चामा रहेर र विकास निर्माणमा कामहरुमा सहयोग पुराएको छ । प्रदेश सरकारका जनप्रतिनिधिहरु तथा सरकारी संयन्त्रहरु जनताका समस्या समाधानमा जुटेका छन् । संकटको यो घडिमा तुरुन्त जादुको छडी झै कुनै कुराको समाधान गर्न गाह्रो छ । बिस्तारै सवै कुरा ठिक हुँदै जानेमा हामी सबै आशावादी हुनुपर्दछ । विश्वका महाशक्ति राष्ट्रहरु समेत यो रोगका कारण आत्तिएका छन् । यस कारण यसको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले पनि हरेक प्रयासहरु गरिहेको हामी सबै अवगत नै छौं ।
अहिले नेपालमा केन्द्रदेखि प्रदेश हुँदै स्थानीय सरकारहरु कोभिड–१९ सँगको लडाइमा एकमतका साथ लागेको छन् । काम गर्ने क्रममा साना–तिना गल्ती कमजोरी हुने गर्दछन् । त्यसैमा टेकेर काम गर्ने संस्था या व्यक्ति माथि आक्रमण तथा बदनाम गर्ने भन्दा यो संकटलाई टार्नका लागि हामी सबै मिलेर अगाडि बढ्नुको विकल्प देखिन्न । जनता स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको सहकार्य तथा सहभागितामा कोभिड–१९ को लडाइँ हामीले जित्ने छौँ । संयमित बनौ यो जित केही समय पछि हामी माझ सजिलै आउने छ । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पनि यो माहामारीको बेलामा सहकार्य, सहमति र एकतावद्ध भएर देशको समस्या समाधान गर्न लाग्नु पर्दछ । आम नागरिक, सबै राजनीतिक दल र सरकार एक भएर अगाडि बढेमा राष्ट्र र राष्ट्रियताको पक्षमा सदैव हाम्रो अभियान सफल हुने छ ।
लेखक : नेकपाका केन्द्रिय सदस्य तथा प्रदेश नं. ५ का प्रदेशसभा सदस्य हुन् ।
प्रतिक्रिया