ताजा अपडेट »

थप तीन दिन देशभरकै मौसम बदली रहने

आइतबार, १९ फागुन २०७५

फागुन १९,

काठमाडौं । आइतबारदेखि देशभरको मौसम सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण अबको तीन दिन देशभरकै मौसम सामान्य बदली भई पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए ।

काठमाडौंसहित देशका धेरैजसो ठाउँमा आइतबार दिउँसो पानी पर्ने सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको समेत सम्भावना छ ।

सोमबार र मंगलबार पनि देशको धेरैजसो ठाउँको मौसम बद्ली भई पानी पर्ने सम्भावना रहेको छ । यो वर्ष पश्चिमी वायु लगातार रुपमा नेपाल भित्रिइरहेको छ । यसैको प्रभावले केही दिनदेखि मौसम बदलिरहेको छ ।

लगातार रुपमा भित्रिरहेको पश्चिमी वायुका कारण धेरै लामो समयसम्म घाम लाग्न सकेको छैन । महाशाखाका अनुसार यो वर्ष हिउँदे वर्षा पनि औसतभन्दा बढी भएको छ ।