ताजा अपडेट »

पूर्वतयारी र प्रविधिबिना निजी विद्यालयको अनलाइन शिक्षा

मंगलबार, १६ बैशाख २०७७

विश्व कोभिड –१९ को महामारीले ग्रसित भई विश्व नै ठप्प छ । नेपाल पनि विगत १ महिनादेखि लकडाउनमा छ । अहिलेको समय भनेको स्वास्थ्य सम्बन्धि सुरक्षा अपनाउने र घरमै बसेर सुरक्षित रहने हो । विश्वको अर्थतन्त्र नै तहस–नहस हुने कुरा अर्थविज्ञहरुले भनिसकेका छन् भने नेपालको स्थिति झन नाजुक हुने पक्का–पक्की नै छ । किनभने नेपालको अर्थतन्त्रको मूल आय भनेको नै रेमिट्यान्स हो र जुन अहिलेको अवस्थामा रोकिएको छ र अब पूर्णरुपमा रोकिनेपनि देखिन्छ । किन भने मध्यपूर्व लगाएत खाडीमा काम गर्ने धेरै नेपालीको रोजगार गुम्दैछ।

लकडाउन र अन्तराष्ट्रिय हवाई खुल्ला हुनेबित्तिकै लगभग ५ लाख बेरोजगार युवा नेपाल मा थपिने छ्न। त्यसै त नेपालमा बेरोजगारी ठूलो समस्याका रुपमा रहेको छ । यीनलाई कसरी ब्यवस्थापन गर्ने भनेर सरकारले कुनै योजना अथवा उपाय खोज्नुपर्ने बेलामा आफै कुर्सिको खेलमा लागिरहेको छ । एकताका साथ देश कोरोना विरुद्ध लड्नुपर्ने बेलामा हाम्रा शिर्ष नेताहरु सत्ताकै लागि तछाड्मछाड गरि रहेका छन् । सबै नेपालीजन दुःखमा छन् । आधा पेट खायर भए नि सरकारको आदेशको पालना गर्दै घरभित्र नै बसिरहेका छन्।

तर,यसै समयमा हाम्रा बाबु–नानी पढ्ने अधिकांश निजी विधालयले फेरि अनलाइन शिक्षाको नाममा एक किसिमको आतंक फैलाउन सुरु गरेका छन् । गत चैत्र ५ गते भित्र परीक्षा सकेर विद्यालयहरु बन्द भएपनि चैत्र महिनाभरको मासिक शुल्क बुझाई सकिएको छ । सरकारले त चैत्र महिनाको शुल्क नलिनु भनेको थियो । तर, त्यो महिना परीक्षा पत्र जाँच्ने र नतीजा पनि प्रकाशन गर्नुपर्ने हुन्छ त्यसैले कुनै अभिभावकले फिर्ता माग्दैनन् । परीक्षाको नतिजा प्रकाशित भएको छैन । तर,बिद्यालयबाट कोभिड -१९ को यो त्रासपूर्ण अवस्थामापनि भर्ना गर्नुपर्ने , पुस्तकहरु लिनुपर्ने अनि अनलाइन माध्यमबाट विधार्थीहरुलाई पढाउने किसिमका सूचना र जानकारी अभिभावकहरुलाई पठाउन थालिएको छ ।

यो समयमा त सम्पूर्ण अभिभावकहरु,तपाइँहरु नआत्तिनुहोला । तपाइँको बच्चाको पढाई हामीले ख्याल गर्नेछौं, बरु अतिरिक्त समय लिएर भएपनि हामीले सबै कोर्ष समयमै सक्नेछौ । तपाइँका बाबुनानीहरुको भविष्यको चिन्ता जति तपाइँहरुलाई छ, त्यति नै हामीलाई नि छ त्यसैले अहिले सबै सुरक्षित रही आफ्ना बाबु नानीलाई आफ्ना रीति–रिवाज,संस्कार,सामाजिक ज्ञान, लगाएत अन्य घरायसी कुराहरु सिकाउनुहोला ।’भन्नु पर्ने ठाउँमा झन् अभिभावकमाथि एक किसिमको तनाव थपिदिने कार्य भएको छ ।

कक्षा १० , ११ र १२ का विधार्थीहरुलाई त अनलाइनबाट पढाइरहेका छन् र यो राम्रो पनि हो । तर, हाम्रा स–साना नानी–बाबुहरुलाई अनलाइनबाट पढाउने भन्ने कुराप्रति मेरो अलिकति गुनासो छ । सबैको अभिभावकको इच्छा आफूू अनपढ र गरिब भएपनि आफ्ना सन्तानलाई राम्रो र महङ्गो ो अंग्रेजी बोल्ने विद्यालयमा पढाउने इच्छा हुन्छ । अब यस्तो अवस्थामा बच्चाको मासिक शुल्क तिर्न त गार्हो भएको एउटा सामन्य आम्दानी भएको व्यक्तिले यी सामान कसरी जुटाउला ?

एउटा कोठा भाडामा लिएर बसेको एउटा अनपढ व्यक्तिले इन्टरनेट ,ल्यापटप र अन्य प्रविधिको जोहो कसरि गर्ला ? अहिले धेरै विधार्थी आफ्ना अभिभावकका साथ आफ्ना गाउँ गएको अवस्था पनि छ । अनि त्यहाँ इन्टरनेट लगाएत अन्य प्रविधिको सुविधा होला कि नहोला त्यो बुझ्ने कसले ? सबैको मनमा अहिले यो कोरोना महामारीबाट बच्न पाएपछि जे होला,देखा जायगा भनिरहेको अवस्थामा यसरि अहिले विधालयले यो किसिमको सूचना निकाल्नु कत्तिको जायज होला ? सबैलाई आफ्ना सन्तानको भविष्यको चिन्ता हुन्छ । तर अभिभावकको भावनामाथि खेल्नु त भएन नि ?

सबै कुराको एउटा समय हुन्छ , अनलाइन प्रविधिबाट पढाउनु राम्रो हो । तर त्यसको लागि अभिभावक र विधार्थी पहिलेदेखि नै तयार हुनुपर्छ नि होइन र ? फेरी कोहि भन्लान विदेशमा त अनलाइनबाट पढ़ाइन्छ त ? हो विदेशमा यस्तो हुन्छ । तर, विदेश, विदेश हो नेपाल नेपाल हो । नेपालमा अहिलेको अवस्थामा अनलाइन प्रविधिबाट पढाउँछु ।’ भनेर विधालयले भन्नु एउटा गरिब ,जेहेन्दार र मेहिनेती विधार्थीको भविष्यनै समाप्त पार्न खोज्नु हो । हिजोका दिनमा निजी विद्यालय पनि सरकारले लिनु पर्यो,शिक्षा ब्यापार भयो ।’ भनेको सुन्दा ‘किन अरुको काममा बाधा गर्न खोजेका होलान, त्यत्रो लगानी छ । निजी विधालयमा भनेर सोच्थे ।’ तर,आज बल्ल थाहा भयो किन त्यसो भनेका रहेछन भनेर । वार्षिक रुपमा भर्ना शुल्क लिने , १० वटा बहाना बनाएर अरु थप शुल्क लिने लगाएतका क्रियाकलापले गर्दा पो त्यसो भनिएको रहेछ । लगातार एउटा विद्यालयमा पढिरहेको विद्यार्थीलाई पनि प्रत्येक नयाँ शैक्षिक सत्रमा भर्ना शुल्क लिईने गरिदो रहेछ । निजी विद्यालयले मात्र राम्रो शिक्षा प्रदान गर्छ भन्ने भ्रमको फाइदा उठाउदैं कापी,कलम , पुस्तक , पोशाक लगाएतको ब्यापार पनि गर्ने रहेछ ।

के यो सहि हो त ? यी यस्ता कार्यहरु नेपालको शिक्षा कानूूनमा जायज वा छुट छन् कि गलत ? यो कसले छानविन गर्ने ? अभिभावक बोलुन भने तिम्रा बच्चा अन्तै लगेर पढाउ भन्लान भनेर सबै चुप छन् अनि सरकारी निकाय नि ? किन नबोलेका ? कि कमिशन खाएको हुनुपर्यो कि होइन नेपालको कानूूनमा छुट छ भन्नुपर्यो । (नोट : मलाई नेपालको शिक्षा कानूूनको कुनै पनि ज्ञान छैन) तर, विद्यालयको लाइसेन्स लिएर कापी ,कलम , किताब , कपडा (ड्रेस ,पोशाक )को ब्यापार गर्न त नपाइने होइन र?

यसरी शिक्षाको ब्यापार हुँदा नि सबै चुप नै थिए । तर, अहिले अचानक यो अनलाइनको तरङ्गले पूरै अभिभावक त्रसित भएका छन् । त्यसैले यो बिषयमा सम्बन्धित सरकारी निकाय ,प्याब्सन , एनप्याब्सन , शिक्षक सङ्गठन ,विद्यार्थी संगठन,अभिभावक संगठन र स्वयम् निजी विद्यालयका सञ्चालकहरुले पनि सोँच ,विचार र परामर्श गर्नुपर्ने देखिन्छ । यो कुनै निजी विद्यालयप्रतिको पूर्वाग्रह नभई म जस्तै मध्यम वर्गका अभिभावकको विचार हो ।
विस्वभर फैलिरहेको यो (COVID-19)महामारी छिटो समाप्त भई ,सबै मानवजगत स्वस्थ भई आ–आफ्ना दैनिक कार्यमा जान सकुन ,श्री पशुपति नाथले हामी सबैको कल्याण गरुन् । जय नेपाल आमा ! –बुटवल–९,रुपन्देही (हाल दोहा, कतार)