दाङ । कोरोनाको संक्रमण हुन नदिन जारि लकडाउनका कारण दाङमा उत्पादित तरकारी बिक्री नभएर बारीमा सुक्न थालेपछि पालिकाहरुले तरकारी बजारीकरण गर्ने योजना बनाएका छन् । दाङका पालिकाहरुले आफ्नो क्षेत्रभन्दा बाहिरबाट तरकारी जन्य सामग्रीहरु आयात गर्न नपाइने व्यवस्था गरेसँगै उनीहरुले आफ्नै क्षेत्रका किसानहरुले उत्पादन गरेका तरकारी बजारीकरण गर्ने योजना बनाएका छन् ।
यो बारीमा अहिले ४० क्वीन्टलभन्दा बढि स्क्वीस अर्थात सानो फर्सी छिप्पीन थालिसकेको छ । एक किलो तौल हुँदा टिप्नु पर्ने भएपनि बजार बन्द भएकाले नटिपएको किसान नवराज केसी बताउनु हुन्छ । स्क्विस मात्र नभई लौका पनि बिक्रीका लागि तयार छ । बोडी पनि फल्न थालिसकेको छ । उत्पादित तरकारी बिक्रीमा समस्या भएपछि किसानहरुले टिपेका तरकारी यसरी नै बारीमा फाल्न थालेका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर ८ दुन्द्रामा दुई जना किसान मिलेर ८ बिगाहा जमिनमा लगाएको तरकारी बिक्रीका लागि तयार भएको हो ।
अहिलेसम्म ५२ लाख रुपियाँ खर्च गरेका यी किसानले यसै पटक एक करोड रुपियाँको तरकारी बिक्री गर्ने योजना बनाएका थिए । तर अहिले यसको दश प्रतिशत पनि बिक्री नभएको घोराहि उपमहानगरपालीका वडा नं. ८ दुन्द्राका तरकारी उत्पादक किसान नवराज केसी र बसन्त राजबंशीले बताए ।दाङमा तरकारी उत्पादन गरेर बारीमै छाडेका किसान नवराज केसी र बसन्त राजबंशी मात्रै होइनन् । जिल्लामा व्यवसायीक तरकारी उत्पादन गर्ने सबै किसानहरुको अबस्था अहिले यस्तै छ । पछिल्लो समय जिल्लामा फस्टाउँदै गएको व्यवसायीक तरकारी खेतीलाई लकडाउनले लकै गरिदिएको किसानहरुको भनाई छ ।
जिल्लाका किसानहरुले उत्पादन गरेका तरकारी बारीमै फालिने तर कोरोना संक्रमणको जोखिमकै बिच भारतबाट तरकारी ल्याएर बिक्री हुन थालेपछि घोराही र तुलसिपुर उपमहानगरले बाहिरबाट तरकारी ल्याउन बन्देज लगाए । उपमहानगरको निर्देशन अटेर गरेको भन्दै तुलसीपुर उपमहानगरले तिन दिन तुलसीपुरको तरकारी बजार नै सिल गरिदियो । घोराही उपमहानगरपालीकाले भारतबाट ल्याउँदै गरेको टमाटर जफत गरि खाल्डो खनेर गाडी दियो ।
दाङका ठूला बजार भएका घोराही र तुलसीपुर उपमहानगरले भारतबाट तरकारी ल्याएर बिक्री गर्न नपाइने तर जिल्लाकै किसानहरुले उत्पादन गरेका तरकारी बिक्री गर्न पाइने व्यवस्था गरे । घोराही उपमहानगरको यो निर्णयपछि उद्योग वाणिज्य संघको पहलमा घरघरमा तरकारी पु¥याइरहेका व्यवसायीहरु तरकारी बिक्री गर्नै छाडे । अहिले घोराही बजारमा यसरी तरकारी बिक्रीका लागि हिडेका गाडी देखिनै छाडी सक्यो ।घोराही उपमहानगरले थोरै तरकारी उत्पादन गर्ने किसानहरुलाई डालोमा राखेर घरघर पुगी बिक्री गर्न भनेको छ भने ठूलो क्षेत्रफमा तरकारी उत्पादन गरेका किसानहरुलाई सवारी चलाउने पासको व्यवस्था गरेर आफै गाडीमा राखी बिक्री गर्न लैजान भनेको छ ।
भारतबाट तरकारी ल्याउँदा कोरोनाको जोखिम अत्यधिक हुने भएकाले जिल्ला भित्रका किसानले उत्पादन गरेका सामग्रीको बजारीकरण गर्न लागिएको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी बताए । किसानहरुले भने बिश्व नै संकटमा परेको बेला स्थानीय सरकारले गरेको निर्णयले केहि भए पनि राहत मिलेको बताउँछन् । लकडाउन लम्बीदै जाँदा प्रदेश भित्रका कृषी उत्पादनहरु सम्बन्धीत प्रदेश भित्रका जिल्लामा मात्रै भए पनि बिक्री गर्न सक्ने व्यवस्था बनाउनु पर्ने कतिपय तरकारी उत्पादक किसानहरुको भनाई छ ।
दाङ जिल्लाका व्यवसायीक तरकारी उत्पादक किसानहरुले काठमाडौ, पोखरा, बुटवल, धनगढीलगायतका बजारहरुमा तरकारी निर्यात गर्दै आएका थिए ।
प्रतिक्रिया